0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

कोरियाबाट फर्किएका नेपाली श्रमिकलाई मोटरसाइकल मर्मत तालिम

कोइकाले ‘के-हामी परियोजना’ मार्फत काठमाडौंमा २५ जेठदेखि १ असारसम्म मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिरहेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते १४:४८

२७ जेठ, काठमाडौं । दक्षिण कोरियाबाट फर्किएका नेपाली श्रमिकको रोजगारी तथा उद्यमशीलता क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मोटरसाइकल मर्मत सम्बन्धी विशेष तालिम सञ्चालन गरिएको छ ।

कोइकाले ‘के-हामी परियोजना’ मार्फत काठमाडौंमा २५ जेठदेखि १ असारसम्म मोटरसाइकल मर्मत तालिम सञ्चालन गरिरहेको जनाएको छ । तालिम कार्यान्वयन एचआरडी कोरियाले गरिरहेको छ ।

तालिममा कोरियाबाट फर्किएका १२ नेपाली सहभागी छन् । ५१ घण्टाको तालिममा सैद्धान्तिक तथा व्यावहारिक दुवै प्रकारको प्रशिक्षण समावेश गरिएको छ ।

तालिमको मुख्य उद्देश्य फर्किएका श्रमिकको रोजगारी र उद्यमशीलता क्षमता विकास गर्दै उनीहरूको समाजमा सफल पुन: एकीकरणमा सहयोग पुर्‍याउनु रहेको जनाइएको छ ।

कार्यक्रमको विशेषता भनेको कोरियाली मोटरसाइकल मर्मत विज्ञ र नेपाली अनुभवी प्राविधिकहरूको संयुक्त प्रशिक्षण पद्धति हो । यसबाट सहभागीले कोरियाली प्रविधिसँगै नेपालको स्थानीय बजारको व्यावहारिक ज्ञान प्राप्त गर्नेछन् ।

तालिममा मोटरसाइकलको संरचना र विभिन्न पार्टपुर्जा, इन्जिन मर्मत तथा विद्युतीय र चार्जिङ प्रणाली सम्बन्धी विषय समेटिएका छन् । उत्कृष्ट प्रशिक्षार्थीलाई स्थानीय मोटरसाइकल सेवा केन्द्रहरूमा इन्टर्नसिपको अवसर समेत प्रदान गरिने जनाइएको छ ।

नेपालस्थित कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङले कोरियामा काम गर्दा हासिल गरेको सिप र अनुभव उपयोग गर्दै फर्किएका श्रमिकलाई नयाँ आर्थिक गतिविधि सुरु गर्न सहयोग पुर्‍याउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।

उनले पुन: एकीकरण र आर्थिक आत्मनिर्भरताका लागि कोइकाले आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरे ।

के–हामी परियोजना नेपाल सरकारको युवा, श्रम तथा रोजगार मन्त्रालय, कोइका र एचआरडीकेको साझेदारीमा सञ्चालन भइरहेको छ ।

परियोजनाले कोरिया जान तयारी गरिरहेका, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा कार्यरत तथा कोरियाबाट फर्किएका नेपाली श्रमिकका लागि चरणगत सहयोग प्रणाली विकास गर्ने लक्ष्य राखेको छ ।

परियोजना अन्तर्गत सञ्चालन गरिएका यस्ता प्राविधिक तालिमले फर्किएका श्रमिकको सिप अभिवृद्धि, रोजगारीका अवसर विस्तार तथा दिगो जीविकोपार्जनमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?