२७ जेठ, डोल्पा । रुकुम पश्चिमस्थित जिल्ला अस्पतालको फार्मेसीमा चोरी भएको छ। जिल्लाको मुसिकोट नगरपालिका-१ सल्लेमा रहेको जिल्ला अस्पतालको फार्मेसीबाट मंगलबार राति नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ करिब ८ बजेतिर फार्मेसीमा कार्यरत कर्मचारी शौचालय गएको बेला काउन्टरमा रहेको नगद चोरी भएको हो। फार्मेसीबाट करिब १४ देखि १५ हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा मुसिकोट नगरपालिका-३ का १९ वर्षीय दिपेश वली तथा मुसिकोट नगरपालिका-१ का २२ वर्षीय अल्बड सिंह र १९ वर्षीय जगदीश परियारलाई पक्राउ गरेको थियो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी झबिन्द्र परियारका अनुसार पक्राउ परेका तीनै जना शारीरिक मनस्थिति ठिक नभएका र बेवारिसे अवस्थामा सडकमा बस्दै आएका व्यक्ति हुन्। उनीहरूका अभिभावक तथा आफन्त कोही नभएका कारण उनीहरू सडकमै जीवनयापन गरिरहेका छन्।
प्रहरीले यसअघि पनि उनीहरूलाई विभिन्न घटनामा नियन्त्रणमा लिएको जनाएको छ। सूचना अधिकारी परियारले उनीहरूलाई सुधार केन्द्रमा राख्न आवश्यक देखिए पनि परिवारको टुंगो नलाग्दा राख्न नसकिएको बताए ।
पक्राउ परेकाहरूलाई आवश्यक सोधपुछ तथा सम्झाइ बुझाइपछि छाडिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया 4