२७ जेठ, काठमाडौं । इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो।
सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन।
अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो खबर आएको हो। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको थियो।
सेन्टकमका अनुसार, अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई ‘सटीक हतियार’ प्रयोग गरेर निसाना बनाएका थिए।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आफ्नो एयरोस्पेस फोर्सले जोर्डनस्थित अमेरिकी सैन्य कर्मचारीहरू रहेको एयरबेसमा लामो दूरीका र ठोस इन्धनयुक्त मिसाइलहरू प्रहार गरेको घोषणा गरेको छ।
विज्ञप्तिका अनुसार, आईआरजीसीले आफ्ना मिसाइलहरूले उक्त बेसमा रहेका चारवटा अत्यन्त महत्त्वपूर्ण लक्ष्यहरूलाई सटिक रूपमा नष्ट गरेको दाबी गरेको छ।
नष्ट गरिएका लक्ष्यहरूमा एफ-३५ लडाकु विमान राख्ने ह्याङ्गरहरू र एउटा मुख्य कमान्ड तथा नियन्त्रण केन्द्र समावेश छन्।
आईआरजीसीले यस मिसाइल हमलालाई आफ्नो बृहत् जवाफी कारबाहीको समापनको रूपमा प्रस्तुत गरेको छ। यस बृहत् कारबाहीअन्तर्गत मध्यपूर्व क्षेत्रभरिका विभिन्न अमेरिकी हवाई तथा नौसैनिक अखडाहरूका २१ वटा लक्ष्यहरूमा हमला गरिएको र इरानी हवाई क्षेत्रमा अमेरिकी एमक्यू-९ ड्रोन खसालिएको उसको दाबी छ।
आईआरजीसीले आफ्नो विज्ञप्तिको अन्त्यमा अमेरिकालाई कडा चेतावनी दिँदै भनेको छ- यसपछिका कुनै पनि अमेरिकी सैन्य कारबाहीको ‘निर्णायक र विनाशकारी’ जवाफ दिन आफ्ना सेनाहरू पूर्ण रूपमा तयार छन् र अब थप तनाव बढेमा त्यसको परिणामको सम्पूर्ण जिम्मेवारी वासिङ्टन (अमेरिका) ले लिनुपर्नेछ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4