0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

हेलिकोप्टर खसालिएको घटना र त्यसपछिको अमेरिकी आक्रमणले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २७ गते ६:२८

२७ जेठ, काठमाडौं । इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने खतरा बढेको छ ।

इरानको सरकारी सञ्चारमाध्यमले होर्मुज जलडमरूमध्य (स्ट्रेट अफ होर्मुज) स्थित केशम टापुमा विस्फोटको आवाज सुनिएको जनाएको छ । यो विश्वकै महत्वपूर्ण समुद्री व्यापार मार्गमध्ये एक हो, जसलाई युद्धका क्रममा इरानले बन्द गरेको छ ।

इरानी सञ्चारमाध्यमका अनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमा केन्द्रित थियो। हालसम्म मानवीय वा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भएको छैन ।

ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार इरानले अमेरिकी सेनाको हेलिकोप्टर जलडमरूमध्य माथि गस्ती गरिरहेका बेला खसालेको दाबी गरेका थिए । उनले यस घटनाको जवाफ दिनु अनिवार्य भएको बताएका थिए ।

‘इरानीहरूले हाम्रो अत्याधुनिक अपाचे हेलिकोप्टरमध्ये एउटा खसालेका छन्,’ ट्रम्पले भनेका थिए । यद्यपि हेलिकोप्टरमा सवार दुवै सैनिक सुरक्षित रहेको र उनीहरूलाई कुनै चोटपटक नलागेको उनले बताए ।

अमेरिकी सेनाका अनुसार सोमबार ओमानको तट नजिक दुर्घटनाग्रस्त भएको अपाचे हेलिकोप्टरका दुई चालक दलका सदस्यलाई मंगलबार बिहानै उद्धार गरिएको थियो ।

अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार २४ फिट लामो मानवविहीन ड्रोन डुंगाले पानीमा करिब दुई घण्टा बिताएका दुवै पाइलटलाई फेला पारी सुरक्षित स्थानमा पुर्‍याएको थियो । उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।

अमेरिकी आक्रमणको जवाफ दिन्छौं : इरान

होर्मुज जलडमरूमध्य नजिक अमेरिकी हेलिकोप्टर खसालेपछि भएको अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिएका छन् ।

उनले लेखेका छन्, ‘यदि सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्रबाट बाहिरिनुहोस् । हाम्रो क्षेत्र वरिपरि रहेका विदेशी सेनाहरू सधैं जोखिममा हुन्छन् । हामी कूटनीतिलाई प्राथमिकता दिन्छौं, तर आवश्यक परे अन्य भाषामा पनि जवाफ दिन जान्दछौं ।’

हेलिकोप्टर खसालिएको घटना र त्यसपछिको अमेरिकी आक्रमणले पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविरामलाई थप तनावपूर्ण बनाएको छ । हालका दिनहरूमा होर्मुज क्षेत्र वरिपरि अमेरिका र इरानबीच भएका झडप तथा लेबनानमा इजरायलका आक्रमणहरूले ८ अप्रिलमा भएको युद्धविरामलाई जोखिममा पारेका छन् ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ देखि इरानविरुद्ध सैन्य कारबाही सुरु गरेका थिए । त्यसयता पश्चिम एसिया मात्र नभई विश्व अर्थतन्त्रसमेत प्रभावित भएको छ । दुवै पक्षबीच स्थायी सम्झौतामा सहमति हुन नसक्दा पुन: व्यापक युद्ध सुरु हुने आशंका अझै कायम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?