२७ जेठ, काठमाडौं । अमेरिका र इरानबीच बढ्दो तनावको असर फेरि एकपटक विश्वव्यापी तेल बजारमा देखिएको छ। अमेरिकी हमलापछि मंगलबार कच्चा तेलको मूल्य करिब १ प्रतिशतले बढेको छ।
ब्रेन्ट क्रुड ८३ सेन्ट अर्थात् ०.९ प्रतिशतले बढेर ९२.२९ डलर प्रति ब्यारेल पुगेको छ। त्यस्तै, अमेरिकी डब्लुटीआई क्रुड ६८ सेन्ट अर्थात् ०.८ प्रतिशतले बढेर ८८.९७ डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ।
यसअघि तेलको मूल्य सात साताकै न्यून विन्दुमा पुगेको थियो। यद्यपि, पश्चिम एसियामा बढ्दो तनाव र होर्मुज स्ट्रेटसँग जोडिएका जोखिमहरूका कारण बजारमा फेरि उछाल आएको छ।
इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ ।
यसैबीच, अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार, अमेरिकी सेनाको अपाचे हेलिकप्टर खसालिएको र यस क्षेत्रमा रहेका अमेरिकी बल तथा व्यावसायिक पानीजहाजहरूमाथि भएको आक्रमणको जवाफमा यो हमला गरिएको हो।
सेन्टकमका अनुसार, अमेरिकी वायुसेना र नौसेनाका लडाकु विमानहरूले होर्मुज स्ट्रेट नजिकै रहेका इरानको वायु रक्षा प्रणाली, ग्राउन्ड कन्ट्रोल स्टेसन र निगरानी राडार केन्द्रहरूलाई ‘सटीक हतियार’ प्रयोग गरेर निसाना बनाएका थिए।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया 4