News Summary
Generated by OK AI. Editorially reviewed.- डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको र अति विकट स्थानमा मात्र ढुवानी बाँकी रहेको बताएका छन्।
- उनले हेलिकप्टरहरू बेपत्ता खोजी र फसेकाहरूको उद्धारमा प्राथमिकता दिइएकाले हवाई मार्गबाट राहत पठाउन कठिनाइ भएको प्रष्ट पारेका छन्।
- उप्रेतीले सामाजिक सञ्जालका फेक भिडियोले त्रास फैलाएको भन्दै गलत सूचना नफैलाउन अपिल गरेका छन्।
२२ भदौ, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढीप्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको दाबी गरेका छन्।
सोमबार प्राधिकरणमा आयोजित कार्यक्रममा बोल्दै डा. उप्रेतीले हेलिकप्टरबाटै ढुवानी गर्नुपर्ने अति विकट क्षेत्रबाहेक अन्य सबै स्थानमा राहत पुगिसकेको बताएका हुन्।
हाल हेलिकप्टरहरूलाई मुख्यतया बेपत्ताको खोजी र फसेकाहरूको उद्धार कार्यमा प्राथमिकता दिइएकाले हवाई मार्गबाट राहत पठाउन केही कठिनाइ भइरहेको उनले प्रष्ट पारे।
‘स्थानीय सरकारसँग हामी निरन्तर सम्पर्कमा छौँ। धेरै ठाउँमा राहत सामग्री पुगिसकेको छ,’ डा. उप्रेतीले भने, ‘जहाँ हेलिकप्टर अपरेसन गर्न अप्ठ्यारो छ, त्यहाँ अहिले खोजी तथा उद्धारलाई मात्रै प्राथमिकता दिइएको छ। यद्यपि काठमाडौंबाट मात्र नभई त्रिशूली वा रसुवाका नजिकैका स्टेसनबाट समेत खाद्य सामग्री पठाउने कोसिस गरिरहेका छौँ।’
‘सामाजिक सञ्जालमा फेक भिडियोले नकारात्मक प्रभाव पार्यो’
कार्यकारी प्रमुख उप्रेतीले सामाजिक सञ्जालमा विपद्सँग सम्बन्धित भ्रामक र ‘फेक भिडियो’हरू फैलिइरहेको भन्दै त्यस्ता कार्य नगर्न अपिल गरेका छन्। घटनास्थलकै नभएका भिडियोहरू भाइरल गराउँदा जनमानसमा नकारात्मक प्रभाव परेको र त्रास फैलिएको उनको भनाइ छ।
‘हाम्रो फिल्डमै नभएका कतिपय फेक भिडियोहरू सामाजिक सञ्जालमा एकदमै फैलिइरहेको हामीले पायौँ। यसले दिने गलत सूचनाप्रति हामी सचेत हुनुपर्छ,’ उनले भने।
उद्धारमा पहिलो दिनदेखि नै सुरक्षा निकाय परिचालित
विपद्को पहिलो दिनदेखि नै तीनवटै सुरक्षा निकाय उद्धार र राहतमा अहोरात्र खटिरहेको प्राधिकरणले जनाएको छ। राज्यका तर्फबाट खोज, उद्धार र राहतमा कुनै कसर बाँकी नराखिएको भन्दै उनले बेपत्ता भएका व्यक्तिहरूको नाम प्राप्त हुनेबित्तिकै सुरक्षा निकायमार्फत रुजु गरेर फिल्डमा खटिएका टोलीलाई तत्काल परिचालन गर्ने गरिएको जानकारी दिए।
स्थानीय गुनासाहरूलाई क्रमिक रूपमा सम्बोधन गरिरहेको र छिमेकी मुलुकहरूसँग समेत समन्वय गर्दै विपद् व्यवस्थापनमा आवश्यक सहयोग लिइरहेको डा. उप्रेतीले स्पष्ट पारेका छन्।
प्रतिक्रिया 4