News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाले बाढीपीडितका लागि सरकारले गरेका कामको जानकारी दिन फेसबुकमार्फत दैनिक सूचना प्रसारण थालेको छ ।
- पार्टी प्रवक्ता जगदीश खरेलले यो न्युज बुलेटिन नभई सरकारी कार्यको सूचना प्रवाह मात्र भएको बताएका छन् ।
- मुखपत्र प्रकाशनको इतिहासमा कांग्रेस, एमाले र माओवादीले छापा तथा विद्युतीय माध्यममार्फत आफ्नो पक्षधरताको प्रचार गर्दै आएका थिए ।
२२ भदौ, काठमाडौं । राजनीतिक दलहरूले आफ्नो विचार, दर्शन, नीतिलगायत सम्प्रेषण गर्न मुखपत्र प्रकाशन गर्दै आएका छन् । सत्ताधारी हुँदा आफूले गरेका कामलाई जोडतोडले प्रचार गर्न दलहरूले मुखपत्रको सहारा लिने प्रद्धति जस्तै बनेको छ ।
मुखपत्र प्रकाशनको इतिहासमा नेपाली कांग्रेस अरूभन्दा अघि छ । मुखपत्र प्रकाशनलाई प्रभावकारी बनाउने दल भने नेकपा एमाले हो ।
तत्कालीन माओवादी केन्द्रले युद्धकाल र शान्ति प्रक्रियामा आए लगत्तै मुखपत्र प्रकाशनमा अन्य दललाई उछिन्यो ।
मूलधारका भनिएका दलहरूले मुखपत्र प्रकाशन त गर्थे नै, सानो दल जनमोर्चा नेपालसमेत मुखपत्र प्रकाशनमा पछि परेन ।
दलहरूले मुखपत्र प्रकाशन गर्नुका साथै आफ्नो दलको पक्षधरता देखिने छापा र विद्युतीय सञ्चार माध्यम सञ्चालनमा ल्याए । छापा सञ्चार माध्यम प्रभावकारी हुँदा पत्रिकामार्फत दर्शन, नीति, गतिविधिहरूलाई दलहरूले प्रचार गरे ।
छापा माध्यमबाट दर्शक, स्रोता, पाठक विद्युतीय माध्यममा सर्ने क्रम बढेपछि दलहरूले मुखपत्र विद्युतीय माध्यमलाई नै बनाए । छापाबाट रेडियो, टीभीमा पुगेका दर्शक, स्रोताहरू पछिल्लो समय डिजिटल सञ्चार माध्यममा केन्द्रित हुन पुगेका छन् । अनलाइन, सामाजिक सञ्जाल लगायतका सञ्चार माध्यमबाट सूचना, समाचार, मनोरञ्जन लिनेहरूको संख्या बढ्दै गएको छ ।
एक समय दलहरूले आफ्ना नीति-सिद्धान्त प्रसारित गर्ने माध्यम बनेको मुखपत्र विगत केही समयदेखि सरकारको प्रचार गर्ने माध्यम बनेको छ । विगतमा मुखपत्र प्रकाशनलाई प्राथमिकता दिने दलहरू उक्त कार्यबाट विस्तारै पछि हटेका छन् ।

चार वर्षे पार्टी इतिहास बोकेको सत्ताधारी दल रास्वपा अहिले मुखपत्र प्रकाशनमा अघि सरेको छ । पार्टी केन्द्रीय समितिले असोजदेखि स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णय नै गरेको छ । तर प्रवक्ता जगदीश खरेलका अनुसार डिजिटल पत्रिका प्रकाशन गर्ने-नगर्नेमा पार्टी विचाराधीन अवस्थामै छ ।
उक्त निर्णय कार्यान्वयनका लागि तोकिएको समयसीमाभन्दा पनि अघि रास्वपाले दैनिक समाचार बुलेटिन चलाउन सुरु गरेको छ । रास्वपा सांसद एवं पूर्वसञ्चारकर्मी रिमा विश्वकर्माले विगत तीन दिनदेखि हरेक दिन अबेर साँझ समाचार बुलेटिन पढ्दै आएकी छिन् । समाचार रास्वपाको फेसबुक पेजबाट प्रसारण हुँदै आएको छ ।
प्रसारण सामग्री बनाउनका लागि रास्वपाले छुट्टै टिम बनाएको जानकारी दिएको छ । बाढीग्रस्त क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनामा सरकारले गरेका कामकव जानकारी गराउने उद्देश्यले समाचार बुलेटिन प्रसारण गरिएको रास्वपाले प्रष्ट पारेको छ । सरकारका कार्यलाई पार्टीले साथ दिन र मूलतः रास्वपाका कार्यकर्ता-शुभेच्छुकका लागि समाचार बुलेटिन प्रसारण गरिएको संगठन विभाग प्रमुख प्रमोद न्यौपाने बताउँछन् ।
पहिलो दिनको समाचार बुलेटिन १३ लाख पटक हेरिएको छ । दोस्रो दिनमा १२ लाख र आइतबार बेलुकाको समाचार बुलेटिनलाई हालसम्म ६ लाख २७ हजारले हेरेका छन् ।
पहिलो दिन (गत शुक्रबार) को समाचार बुलेटिनको भन्दा दोस्रो र तेस्रो दिनको दिनको समयावधि घटाइएको छ । पहिलो दिन ५ मिनेट २५ सेकेन्ड, दोस्रो दिनमा ३ मिनेट ५५ सेकेन्ड र तेस्रो दिन २ मिनेट ५४ सेकेन्डमा समाचार टुंग्याइएको छ ।
रास्वपाले दैनिक समाचार बुलेटिन प्रसारण गर्न थालेपछि त्यसको पक्ष र विपक्षमा तर्कहरू सुरु भएका छन् । सरकारले गर्ने निर्णय र गतिविधिलाई प्रमुख प्राथमिकताका साथमा सरकारी सञ्चार माध्यमले प्रसारण गर्ने हुँदाहुँदै रास्वपाले किन यो विधि अपनायो ? भनेर टिप्पणी गर्नेहरू छन् ।
सत्य-तथ्य समाचारका लागि रास्वपाले अपनाएको बाटो उपयुक्त रहेको टिप्पणी गर्नेहरू पनि छन् । साथै, नीति निर्माण गर्ने व्यक्ति समाचारवाचक बनेको भन्दै आपत्ति जनाउनेहरू पनि छन् ।
रास्वपाले समाचार प्रसारण गर्ने माध्यम बनाएको सामाजिक सञ्जाल यही विषयले तातिएको छ । रास्वपाको फेसबुक पेजमा समाचार बुलेटिनलाई लिएर ‘पार्टीले गजब गर्यो’ भन्नेदेखि सरकारले अन्य सञ्चार माध्यमलाई अविश्वास गर्नु विडम्बना भएको बताउनेहरूसम्म छन् ।
समाचार बुलेटिन प्रसारणलाई लिएर सकारात्मक र नकारात्मक टिप्पणी गर्नेहरूको संख्या उस्तैउस्तै छ । रास्वपाका कदमलाई स्वागत गर्नेहरूको तर्क छ, ‘भ्रम र गलत सूचनाले समाजलाई अन्योलमा पारिरहेको यो समयमा सत्य-तथ्य खोजी गर्दै वास्तविकता जनतासामु ल्याउन यस्तो कार्यक्रम अत्यावश्यक थियो ।’
सरकारले आफ्नो प्रचार गर्न छुट्टै संयन्त्र बनाएकोप्रति असन्तुष्ट सामाजिक सञ्जालका प्रयोगकर्ताले रास्वपालाई सुझाव दिएका छन्, ‘यो गलत अभ्यास रास्वपाले सच्याओस् । एउटा कानुन निर्माण गर्ने सार्वभौम जनताको प्रतिनिधिलाई यस्तो सस्तो र प्रचारयन्त्रमा लगाउनु विधायकको मान-मर्यादाको धज्जी उडाउनु हो । शक्तिशाली सरकार चलाएको सत्तारुढ पार्टीले अन्य सञ्चार माध्यमलाई अविश्वास गरेर यो कदम चाल्नु झनै विडम्बना हो ।’

रास्वपाले एमालेकै लय समातेको भन्दै अर्का एक सामाजिक सञ्जाल प्रयोगकर्ता सुझाव दिन्छन्, ‘एमाले पनि सक्किने बेलामा सूर्य खबर कि के भनेर यसैगरी समाचार बनाउँथ्यो । नपत्याए हेरे हुन्छ ।’
भदौ १० गतेको बाढीबाट पीडितका लागि सरकारले राहत, उद्धार, पुनर्निर्माण लगायतमा भएका कार्यलाई आम जनतामा सुसूचित गराउने उद्देश्यले समाचार बुलेटिन प्रसारण गर्नुपरेको रास्वपाको जिकिर छ ।
यद्यपि, राहत, उद्धार, पुनर्निर्माण लगायतमा भएका कार्यहरू अरू सञ्चार माध्यमले प्रकाशन तथा प्रसारण गरिरहेकै छन् । रास्वपाले अन्य सञ्चार माध्यमले भन्दा छिटो हुने गरी समाचार प्रसारण गरेको पनि छैन । अनलाइन, टीभी र सामाजिक सञ्जालमा आइरहेकै सामग्रीहरू रास्वपाको समाचार बुलेटिनमा प्रसारण हुने गरेको छ ।
रास्वपाले समाचार प्रसारण गरेकोमा प्रश्न उठेपछि संगठन विभाग प्रमुख न्यौपानेले जवाफ दिएका छन् । रास्वपाले समाचार बुलेटिन चलाएको नभई सूचना प्रसार गरेको संगठन विभाग प्रमुख न्यौपानेको दाबी छ ।
‘सूचना प्रसार कसैको ‘ठेक्का’ होइन, सबैको दायित्व हो । रास्वपाको नेतृत्वमा रहेको सरकारको तथ्यसहित प्रतिरक्षा गर्नु वा उसले गरेका कामको जनस्तरमा प्रसार गराउनु रास्वपाको स्वाभाविक धर्म हो,’ न्यौपाने भन्छन्, ‘देश-विदेशमा रहेका आफ्ना सदस्य र शुभेच्छुक (जो रास्वपाको डिजिटल सञ्जालमा जोडिनु भएको छ) लाई सूसुचित गराउनु पनि रास्वपाको स्वाभाविक सांगठनिक दायित्व हो । चासो र चिन्ता राख्ने सबैलाई एक-एक गरी सूचना प्रसार गर्न/गराउन सम्भव थिएन/छैन ।’
विपद्को बेला आफ्नै स्रोत-साधन र जनशक्ति प्रयोग गरेर सम्भव भएको प्रयासलाई सूचनामार्फत जानकारी गराइएको न्यौपाने बताउँछन् । समाचार प्रसारकलाई ‘देखाउन’ रास्वपाले यो कदम नचालेको न्यौपानेको प्रष्टीकरण छ ।
पार्टी प्रवक्ता जगदीश खरेल तीन दिनदेखि प्रसारण भएको सामग्री न्युज बुलेटिन नभएको प्रष्टीकरण दिन्छन् । खरेल अनलाइनखबरसँग भन्छन्, ‘यो न्युज बुलेटिन होइन, सूचना प्रवाह गरिएको मात्रै हो । सरकारी कार्यहरू सूचनामार्फत प्रसारण गरेका हौं । यो कार्य धेरै समय पर जाँदैन ।’
मुखपत्र प्रकाशन विगतको अभ्यास
राणा शासनविरुद्ध हस्तलिखित प्रचार सामग्रीहरू वितरण हुन्थे । नेपाल प्रजा परिषद्ले २० जेठ १९९३ मा हातले लेखिएका पर्चा वितरण गरेको थियो । हाते प्रचार सामग्री मुखपत्र नभए पनि राणाविरोधी प्रचार सामग्री थियो ।
दुई कांग्रेसको एकता हुनुअघि नेपाली राष्ट्रिय कांग्रेसले ‘युगवाणी’ र नेपाल प्रजातान्त्रिक कांग्रेसले ‘नेपाल पुकार’ प्रकाशित गरे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले २००६ सालमा ‘फोर्टनाइट्टली’ मार्फत घोषणापत्र सार्वजनिक गरेको थियो ।
राणा शासनको अन्त्यसँगै २००७-२०१७ देखि मुखपत्र प्रकाशनको क्रम बढ्यो । तत्कालीन राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएपछि पार्टी मुखपत्रहरू बन्द हुने अवस्थामा पुगे । सरकारका लागि आधिकारिक सञ्चार माध्यम गोरखापत्र र दि राइजिङ नेपाल बने ।
कांग्रेसको पक्षधरतामा देशान्तर, नेपालीपत्र, पुनर्जागरण, तरुण, राष्ट्रपुकार लगायतका साप्ताहिक सञ्चालनमा रहे । कांग्रेसको मुखपत्रका रूपमा प्रकाशित हुँदै आएको ‘नेपाल पुकार’ २०५४ सालपछि बन्द भएको थियो । २०८० मंसिरदेखि त्रैमासिक रूपमा पुनःप्रकाशित गर्ने निर्णय भए पनि निरन्तरता पाउन सकेन ।
मुखपत्र प्रकाशनलाई बढी महत्व दिने दल एमाले हो । कम्युनिस्ट विचारधारा अँगाल्नेहरूले वर्ग सङ्घर्ष र मुक्ति मोर्चालाई भूमिगतकालमै मुखपत्र र बुलेटिनका रूपमा प्रसारित गर्थे ।
नवयुगलाई एमालेले मुखपत्रका रूपमा निरन्तर अघि बढायो । २०१६ सालबाट सुरु भएको नवयुगलाई २०४८ पछि म्यागेजिनको रूपमा प्रकाशन सुरु गरिएको थियो । नवयुग म्यागेजिनलाई विशेष ई-बुलेटिनका रूपमा अघि बढाउने भनिए पनि गत मंसिरदेखि नयाँ अंक प्रकाशित भएको छैन । एमाले पक्षधरता लिएर प्रकाशित हुने साप्ताहिकहरू दृष्टि, बुधबार, छलफल जस्ता पत्रिका एक समय एमालेजनमा चर्चित थिए ।
माओवादीले युद्धकालमा आफ्ना विचार, नीति, आक्रमण, सरकारविरुद्ध प्रतिरोध लगायतका कार्य देखाउन युद्ध पत्रकारमार्फत मुखपत्रहरू प्रकाशन गरेको थियो । युद्धकालमा जनादेश माओवादीको मुखपत्र थियो । माओवादीको पक्षमा महिमा, जन आह्वान लगायतका साप्ताहिक पनि थिए ।
आफ्नो प्रचारप्रसार बढाउन माओवादीले रेडियो जनगणतन्त्र युद्धकालमै सुरु गरेको थियो । शान्तिकालपछि माओवादीले जनदिशा, समाचार लगायतका पत्रिका निकाल्यो । संश्लेषण, लालरक्षक लगायतका म्यागेजिन पनि माओवादी निकटका नेताहरूको पहलमा प्रकाशन भएका थिए । हाल यी पत्रिकाहरू प्रकाशन हुँदैनन् । कांग्रेस, एमाले र माओवादीले विगतमा छापा माध्यमबाट प्रकाशित गर्ने मुखपत्रहरू अहिले बन्द छन् ।
मुखपत्र प्रकाशन गरेर आफ्नो पक्षमा माहोल बनाउन लागेका दलहरूले सरकारी सञ्चार माध्यमको समेत दुरुपयोग गरेका थिए । २०४७ पछि सत्तासीन भएका दलले आफू अनुकूलका सामग्री सरकारी सञ्चार माध्यममा प्रकाशत तथा प्रसारण गर्दै आए ।
सरकारमा रहेका दलले आफ्ना कार्यकर्ता भर्ती गरेर आफ्नो प्रचार गर्थे । रेडियो नेपालमा घटना र विचार कार्यक्रम दलीय कार्यकर्ता भर्ना गरेर सत्तासीन दलको कार्यको बढाइचढाइँ प्रचार गर्न प्रयोग हुँदै आएको थियो ।
प्रतिक्रिया 4