Comments Add Comment

‘कोरोना संक्रमित १ करोड पुग्नलाग्दा अक्सिजन दिने मेसिन अभाव’

११ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वभर कोरोना संक्रमित व्यक्तिहरुको संख्या एक करोड पुग्नैलाग्दा अक्सिजन दिने मेसिन अभाव भएको जनाएको छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोसले पत्रकार भेटघाटमा भने, ‘धेरै देश अक्सिजन कन्सेन्ट्रेटर (मेसिन)को अभावसँग जुधिरहेका छन् । हाल यो मेसिनको माग बढी भएको छ ।’

उनले भने, अहिलेसम्म विश्वमा ९३ लाख जना कोरोना भाइरस संक्रमित भइसकेका छन् । ४.८० लाख जनाको ज्यान गइसकेको छ । हरेक हप्ता १० लाख नयाँ संक्रमण पुष्टि भइरहेको छ । यसका कारण हरेक दिन ८८ हजार ठूला अक्सिजन सिलिण्डर र ६.२० लाख क्युबिक मिटर अक्सिजनको आवश्यकता परिरहेको छ ।

संक्रमितहरु अचानक वृद्धि भएका कारण अक्सिजन कन्सेन्ट्रेटर अभाव भएको छ, जुन कोरोना संक्रमित बिरामीलाई सास लिनका लागि आवश्यक पर्दछ ।

टेड्रोसले भने, ‘डब्ल्यूएचओले हालसम्म १४ हजार अक्सिजन कन्स्नट्रेटर खरिद गरेको छ र आगामी हप्ता १२० देशमा पठाउने योजना छ । यसका साथै आगामी ६ महिनामा १.७० कन्सेन्ट्रेटर प्राप्त हुनेछ, जसको मूल्य १० करोड डलर छ ।’

डब्ल्यूएचओको आपतकालीन टिमका प्रमुख डा. माइक रियानका अनुसार धेरै ल्याटिन अमेरिकी देशमा महामारी फैलिएको छ । यस क्षेत्रमा मृत्यु हुनेको संख्या एक लाखभन्दा बढी पुगिसकेको छ । कतिपय देशहरुमा पछिल्लो हप्ता २५ देखि ५० प्रतिशतले वृद्धि भइरहेको छ ।

माइकका अनुसार अमेरिकामा अझै कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको छैन । आगामी दिनमा पनि संक्रमित हुने र मृत्यु हुने व्यक्तिको संख्या बढ्ने सम्भावना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment