Comments Add Comment

प्रोत्साहन भत्ता नपाएपछि सुर्खेतमा डाक्टर आन्दोलित

११ असार, सुर्खेत । प्रोत्साहन भत्ता नपाएको भन्दै कर्णालीमा चिकित्सकहरु आन्दोलनमा  उत्रिएका छन् ।

कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औं तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् ।

उनीहरुले बिहीबार अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागु हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । तर चालु आर्थिक वर्ष सकिन लाग्दा पनि नपाएपछि आन्दोलन गर्न बाध्य भएको प्रदेश अस्पतालका आन्दोलित डा. प्रकाश वलीले बताए ।

‘हामीले योभन्दा अगाडि पटक–पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलव्ध गराउन माग गर्‍यौं तर सरकारले सुनेन,’ उनले भने, ‘यो आर्थिक वर्ष पनि सकिन लागिसक्यो । सरकारले दिन्छु त भन्छ तर ७ महिना बित्दा पनि दिन सकेको छैन । अरु स्थायी चिकित्सकहरुले भने पाइरहेका छन् । हामी बाध्य भएर आन्दोनमा उत्रिएका हौं ।’

डा. वलीका अनुसार प्रदेश अस्पतालमा ८ औं तहका २५ जना डाक्टर कार्यरत छन् । यीमध्ये एकजना मात्रै स्थायी छन् ।

यस्तो थियो प्रदेश सरकारको निर्णय

कर्णालीमा दरबन्दी बमोजिमका विशेषज्ञ डाक्टर नआएपछि प्रदेश सरकारले विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चिकित्सकहरुलाई उनीहरुको तह र जिल्ला अनुसारको प्रोत्साहन भत्ता प्रदेश सरकारले दिने व्यवस्था गरेको हो ।

एघारौं तहका विशेष चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत प्रोत्साहन भत्ता पाउँछन् । दैलेख, जाजरकोट, पश्चिम रुकुम र सल्यानमा ९० प्रतिशत, कालीकोट र जुम्लामा १०० प्रतिशत, हुम्ला, डोल्पा र मुगुमा १३५ प्रतिशत प्रोत्साहनवापतको रकम दिने निर्णय भएको छ ।

सरकारको निर्णयअनुसार नवौं र दशौं तहका चिकित्सकले सुर्खेतमा तलबको ७५ प्रतिशत, जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यानमा ८० प्रतिशत, कालीकोट र जुम्लामा ९० प्रतिशत, हुम्ला, डोल्पा र मुगुमा १२५ प्रतिशत प्रोत्साहन भत्ता पाउँछन् ।

यसैगरी आठौं तहका चिकित्सकलाई तलबको सुर्खेतमा ५० प्रतिशत, दैलेख, जाजरकोट, रुकुम पश्चिम र सल्यानमा ६० प्रतिशत, कालीकोट र जुम्लामा ७५ प्रतिशत, मुगु, डोल्पा र हुम्लामा १०० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment