Comments Add Comment

न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सुर्खेतका होटल व्यवसायीको माग

११ असार, सुर्खेत । होटल व्यवसायी संघ सुर्खेतले कोरोना संक्रमणका कारण तीन महिनादेखि व्यवसाय बन्द रहेको भन्दै यो अवधिको बैंकको ब्याज मिनाहा र न्यून व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

बिहीबार विज्ञप्तिमार्फत संघले व्यवसायीहरुले घर भाडा र बैंकको व्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको बताएको छ ।

‘सुर्खेत जिल्लामा मात्रै १२ सय ५० भन्दा बढी होटलहरु छन् । करिब ६ हजार बढीले रोजगारी पाएका छन्,’ संघका अध्यक्ष गोरख रावतले भने, ‘बन्दाबन्दीका कारण होटल व्यवसाय बन्द हुँदा रोजगारी मात्रै गुमेको छैन्, अबौंको नोक्सानी भएको छ ।’

संघले होटल व्यवसायीहरु सबैभन्दा बढी घरभाडाको मारमा परेकाले लकडाउन अवधिभरको घरभाडा पूर्णरुपमा र संक्रमणकाल रहुन्जेलसम्मका लागि ५० प्रतिशत छुटको व्यवस्था गर्न सरोकारवालाहरुसँग आग्रह गरेको छ ।

होटल व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सञ्चालन भई सामान्य अवस्थामा आउने सम्भावना नभएकाले संक्रमण अवधिभर बिजुली पानीको महसुल कम्तिमा एक वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायतका महसुलमा विशेष सहुलियतको व्यवस्था गर्न माग गरिएको छ ।

संघले एक वर्षको व्यवसाय कर तथा अन्य सबै प्रकारका राजस्व छुट गरिदिन पनि माग गरेको छ ।

होटल व्यवसायमा संलग्न व्यवसायीहरुले बैंक र वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र किस्ता तिर्ने अरु कुनै स्रात नभएकोले जुनसुकै शीर्षकमा लिएको भए पनि उक्त ऋण तिर्ने समयावधि कम्तिमा दुई वर्ष थप गर्नु पर्ने बताए ।

अहिलेसम्म कुनै पनि किसिमको व्यवसायिक सुविधा नपाएकाले तत्कालका लागि चालु व्यवसायलाई नै धितोको रुपमा मूल्याङ्कन गरी न्यून ब्याजदरमा ऋण उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment