News Summary
Generated by OK AI. Editorially reviewed.- खेलको प्रतिकूल समय र सुरक्षा कडाइका कारण काठमाडौं तथा सौराहाका होटल एवं रेस्टुरेन्टमा यसपालि विश्वकप फुटबलको चहलपहल निकै कम देखिएको छ ।
- भारतीय पर्यटकको आगमन र रात्रिकालीन व्यवसाय सञ्चालन सहज हुँदा पोखराका स्पोर्ट्स बार र रेस्टुरेन्टहरूमा भने विश्वकप फुटबलको चहलपहल बढेको छ ।
- जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वस्वीकृतिविना ठूलो पर्दामा खेल प्रदर्शन गर्न रोक लगाएकाले व्यवसायीले विश्वकपलक्षित विशेष प्याकेज ल्याउन सकेनन् ।
५ असार, काठमाडौं । नेपालमा फिफा विश्वकप फुटबललाई एउटा खेलकुद प्रतियोगिताका रूपमा मात्रै नलिएर ठूलो उत्सवकै रूपमा लिने गरिन्छ ।
डेढ महिनासम्म चल्ने यो फुटबलप्रति नेपाली समर्थकहरू ‘क्रेजी’ नै देखिन्छन् । क्रेज पनि यति धेरै कि उनीहरू एक्लै टीभी अगाडि बसेरभन्दा पनि साथीभाइ, इष्टमित्र र परिवारसँगै भेला भएर होहल्ला गर्दै खेल हेर्न बढी रुचाउँछन् ।
आफ्नो मनपर्ने टिमको जर्सी लगाउने, अनुहारमा झन्डा पेन्टिङ गर्ने र खेल समर्थनमा रमाउने नेपाली फ्यानको यही सामूहिक भावना र उत्साह मध्यनजर गर्दै नेपालका तारे होटल, रेस्टुरेन्ट, बार र पबहरूले उनीहरूको सहजता र थप मनोरञ्जनका लागि विशेष माहोल तयार पार्ने गर्छन् ।
विश्वकपको समयमा आतिथ्य सत्कार (हस्पिटालिटी) क्षेत्रले आफूलाई पूरै फुटबलमय बनाउन धेरै प्रयास गर्छन् । काठमाडौंका तारे तथा सुविधासम्पन्न होटलहरूले आफ्ना लाउन्ज, गार्डेन वा पुलसाइडमा विशाल एलईडी स्क्रिन जडान गरेर मिनी रंगशालाकै झल्को दिने माहोल सिर्जना गर्छन् ।
दर्शक मनोरञ्जन दोब्बर बनाउन यस्ता होटल र ठूला रेस्टुरेन्टले खेल सुरु हुनुअघि लाइभ ब्यान्डको सांगीतिक प्रस्तुति राख्ने, चियर लिडर्स मार्फत माहोल तताउने र दर्शकको अनुहारमा उनीहरूले समर्थन गरेको देशको झन्डा पेन्टिङ गरिदिने जस्ता व्यवस्था मिलाएका हुन्छन् ।
ग्राहकको खानपान अनुभव पनि विश्वकपसँग जोड्न होटल तथा रेस्टुरेन्टहरूले निकै आकर्षक तरिका अपनाउँछन् । विश्वकपकै थिममा आधारित रहेर विशेष मेनु तयार पारिन्छ ।

बियर खरिदमा ‘बकेट अफर’ (एउटा किन्दा अर्को सित्तैँ वा समूहका लागि विशेष छुट), अनलिमिटेड स्न्याक्स सहित इन्ट्री प्याकेज र साथीभाइको ठूलो समूह लिएर आउनेका लागि विशेष भीआईपी लाउन्ज वा टेबुल रिजर्भेसन सुविधा बार तथा पबहरूले उपलब्ध गराउँछन् ।
सजावटको कुरा गर्दा, पूरै रेस्टुरेन्टलाई विभिन्न देशका झन्डाले सजाउने र त्यहाँ कार्यरत वेटर तथा कर्मचारीलाई रेफ्री वा चर्चित खेलाडीको जर्सी लगाएर सेवा दिन लगाउने चलन पनि निकै लोकप्रिय छ ।
यसपालिको विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको हुनाले नेपालमा म्याचहरू मध्यरात र बिहानपख परिरहेका छन् ।
विगतका संस्करणहरूमा विश्वकप सुरु हुनासाथ काठमाडौंका तारे होटल, रेस्टुरेन्ट, पब र स्पोर्ट्स बारहरूमा बेग्लै रौनक छाउँथ्यो ।
साथीभाइ जम्मा भएर विशाल स्क्रिनमा खेल हेर्ने, हुटिङ गर्ने र मनपर्ने टिमको जर्सी लगाएर उत्सव मनाउने चलन निकै बाक्लिँदो थियो । तर, यसपालि भने देशभरिका मुख्य सहर क्षेत्रका हस्पिटालिटी क्षेत्रमा खासै चहलपहल नभएको व्यवसायीहरूले बताएका छन् ।
बिहान सबेरै हुने म्याचहरूलाई लक्षित गर्दै काठमाडौंका कतिपय रेस्टुरेन्ट तथा क्याफेहरूले ‘मर्निङ वाच एक्सपिरियन्स’ भन्दै बिहानको कफी, बेकरी र ब्रेकफास्टसँगै विश्वकप हेर्ने विशेष प्याकेज सञ्चालन गरिरहेका छन् । तर, बिहानै हुने भएकाले त्यसमा पनि खासै ग्राहक नआएको उनीहरूको भनाइ छ ।

काठमाडौंमा खासै रौनक नहुनुमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले सूचना नै जारी गर्दै राति भिड जम्मा पारेर ठूलो पर्दामा खेल नदेखाउन भनेको छ ।
सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघसंस्था वा कम्पनीले यस कार्यालयबाट पूर्वस्वीकृति लिुपर्ने र आदेश पालना नगरे कानुन अनुसार कारबाही हुने भनेपछि खासै उत्साह नदेखाएको व्यवसायीहरूले बताएका छन् ।
बुद्धनगरस्थित बागमती करिडोरमा सञ्चालित चर्चित ‘रेल स्टेसन क्याफे’ ले पनि यसपालि विश्वकप नै लक्षित गरेर विशेष कार्यक्रम ल्याएको छैन ।
क्याफेका सञ्चालक केशव पौडेलका अनुसार खेलको समय तालिका प्रतिकूल भएकाले विश्वकपलाई नै भनेर छुट्टै स्किम ल्याउन सम्भव नभएको हो । ‘खेलहरू कि त राति अबेर छन्, कि त एकदमै बिहानपख छन्,’ पौडेलले भने, ‘यस्तो समयमा विश्वकप विशेष भनेर केही ल्याइएको छैन ।’
यद्यपि, क्याफेले आफ्ना ग्राहकका लागि नियमित चल्ने ‘कम्बो अफर’ हरू भने उपलब्ध गराएको छ ।
व्यापार मन्दीका कारण पहिलेको तुलनामा व्यवसायमा केही गिरावट आएको पौडेलको अनुभव छ । ‘व्यापार त छ, तर पहिलाको जस्तो त्यो स्तरको छैन,’ उनले भने, ‘अहिलेको परिस्थिति र आर्थिक अवस्थाले गर्दा व्यापारमा केही मन्दी देखिएको छ ।’
साथै, रातिको समयमा खेल देखाउन सुरक्षा निकायको कडाइ अर्को चुनौती बनेको उनको भनाइ छ । साढे १० बजेपछि प्रहरीले गर्ने कडाइका कारण फुटबल प्रेमीहरूलाई सेवा दिन कठिन भएको उनले बताए ।
‘राति साढे १० बजेपछि त साइरन बजाउँदै प्रहरी आएर बन्द गराउन थाल्छ, हामीसँग ठूलो पर्दा भए पनि गेम देखाएका छैनौं,’ उनले भने ।
तारे होटलमा पनि छैन रौनक
साना होटल, रेस्टुरेन्ट बाहेक ठूला तथा तारे होटलमा पनि त्यस्तो चहलपहल नभएको सञ्चालकहरूले बताएका छन् ।
नक्सालस्थित पाँचतारे होटल म्यारिअट काठमाडौंका सञ्चालक शशिकान्त अग्रवालका अनुसार विश्वकपका अधिकांश खेल राति अबेर हुने भएकाले होटलले वाह्य पर्यटक वा ग्राहकलाई लक्षित गरी विशेष प्याकेज वा प्रदर्शनीको व्यवस्था नगरिएको हो ।

‘पाँचतारे होटलमा राति अबेरसम्म बाहिरबाट ग्राहकहरू खासै आउँदैनन्,’ उनले भने, ‘त्यसैले हामीले कुनै विशेष प्रदर्शन वा कार्यक्रम राखेका छैनौं ।’
उनले होटलमा बस्ने आन्तरिक तथा वाह्य पाहुनाका लागि भने प्रत्येक कोठामा विश्वकपका खेल हेर्ने व्यवस्था मिलाइएको जानकारी दिए । पाहुनाले आफ्नै कोठामा बसेर खेलको आनन्द लिन सक्नेछन् ।
यद्यपि, विश्वकपको फाइनल खेलका लागि भने केही विशेष कार्यक्रम गर्ने सोच रहेको अग्रवालले बताए । ‘फाइनलको दिनमा भने हामी केही विशेष गर्ने योजना बनाउन सक्छौं, तर अन्य खेलका लागि हाम्रो खासै कार्यक्रम छैन,’ उनले थपे ।
सौराहाका होटलमा पनि उस्तै
होटल एसोसिएसन नेपाल (हान)–चितवन च्याप्टरका पूर्वअध्यक्ष तथा जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले यसपालि विश्वकप लक्षित गरेर सौराहाका होटलहरूले खासै अफर नल्याएको बताउँछन् ।
‘विगतमा खेलहरू बेलुकाको समयमा पर्ने भएकाले रेस्टुरेन्टहरूमा ठूलो पर्दामा खेल देखाउने र ग्राहकलाई विभिन्न अफर दिने गरिन्थ्यो,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘खेल हेर्न मिल्ने समय अलि अप्ठ्यारो छ, मध्यराति रेस्टुरेन्टहरूमा बसेर हेर्ने माहोल छैन ।’
यद्यपि, केही होटल र रेस्टुरेन्टहरूले भने आन्तरिक रूपमा आफ्ना पाहुनाहरूलाई खेल हेर्ने व्यवस्था मिलाएका छन् । तर, यो पनि सीमित रहेको घिमिरेको भनाइ छ ।
‘अहिले लबी वा सार्वजनिक स्थलमा टीभी राखेर खेल देखाउन पनि प्राविधिक रूपमा गाह्रो छ,’ उनले थपे ।
विगतमा साथीभाइसँगै रेस्टुरेन्ट वा बारमा भेला भएर खेल हेर्ने चलन भए पनि यसपालि धेरै दर्शक आफ्नै घरमा टीभी वा मोबाइलमा खेल हेरिरहेका छन् ।
‘पहिले–पहिले पब्लिक स्क्रिनिङ गरेर खेल देखाउँदा पनि कुनै समस्या थिएन,’ घिमिरे सम्झन्छन्, ‘तर, अहिले अधिकारका कुराहरूले गर्दा पनि त्यति सजिलो छैन, त्यसैले धेरै मानिसहरू घरमै बसेर वा व्यक्तिगत रूपमा खेल हेर्न रुचाएको देखिन्छ ।’
अहिले पर्यटनको अफ–सिजन चलिरहेकाले सौराहामा विदेशी पर्यटकको उपस्थिति न्यून छ । यद्यपि, आन्तरिक पर्यटक आगमनले गर्दा व्यापार सन्तोषजनक नै रहेको व्यवसायी बताउँछन् ।
पोखराका रेस्टुरेन्ट तथा बारहरूमा भने बढ्यो चहलपहल
पर्यटन राजधानी पोखरामा भने ‘इन्डियन सिजन’ का कारण यतिबेला होटल, रेस्टुरेन्ट र स्पोर्ट्स बारहरूमा चहलपहल बढेको छ । गर्मीयाममा पोखराको चिसो मौसमको आनन्द लिन भारतीय पर्यटकको राम्रो आगमन भइरहेको र विश्वकपले युवापुस्तालाई आकर्षित गर्दा रात्रिकालीन व्यवसायमा उत्साह थपिएको व्यवसायीले बताएका छन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)–पोखरा च्याप्टर अध्यक्ष विश्व पौडेलका अनुसार पोखरामा भने विश्वकप फुटबलको पनि प्रभाव परेको छ । यसले विशेषगरी स्पोर्ट्स बार, क्लब र रेस्टुरेन्टहरूलाई राम्रो टेवा दिएको छ ।

‘अहिले १०:४५, १२:४५ र ३ बजेका गेम मानिसहरूले एकदमै आरामदायी हिसाबले हेरिरहेका छन्,’ अध्यक्ष पौडेलले भने, ‘स्पोर्ट्स बारहरूमा ठूलो स्क्रिन राखेर साथीभाइ जम्मा भई गेम हेर्ने ट्रेन्ड छ, ग्राहकलाई गेम इन्जोय गर्ने वातावरण बनाइदिन रेस्टुरेन्टहरूले लेट नाइटसम्म व्यवसाय खोलिदिने गरेका छन् ।’
युवा पुस्तालक्षित यस्ता गतिविधिले व्यवसाय बढाएको भन्दै उनले भारतीय पर्यटकको फ्लो पनि राम्रो रहेको बताए । पर्यटक चाप बढेसँगै संस्थागत रूपमा सुरक्षा निकाय, प्रशासन र प्रदेशको पर्यटन मन्त्रालयसँग छलफल गरेर ट्राफिक र कोठा उपलब्धता व्यवस्थापन गरिरहेको उनले जानकारी दिए ।
पोखरा हुँदै उत्तरी हिमाली क्षेत्र, मुक्तिनाथ र अपर मुस्ताङ जाने युवाको ट्रेन्ड बढेकाले पर्यटकलाई आवश्यक जानकारी दिने र व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए ।
पहिलेजस्तो व्यापक भएन : होटल एसोसिएसन
होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाह पनि यसपालि होटल तथा रेस्टुरेन्टहरूमा विश्वकप लक्षित अफर र कार्यक्रमहरू विगतमा जस्तो व्यापक हुन नसकेको बताउँछन् ।
उनका अनुसार विश्वकपका अवसरमा केही व्यवसायीले सीमित अफरहरू ल्याए पनि ठूलो मात्रामा फैलन नसकेको उनको भनाइ छ ।

उनका अनुसार समय नमिल्दा र राति अबेरसम्म सार्वजनिक रूपमा व्यवसाय सञ्चालन गर्न गाह्रो हुँदा साना तथा मझौला रेस्टुरेन्ट र बारहरूले खुलेर विश्वकपका ठूला अफर ल्याउन सकेका छैनन् ।
साना र खुला रेस्टुरेन्टहरूमा समय र सुरक्षाका कारण अफर ल्याउन र खेल देखाउन समस्या भए पनि ठूला तारे होटलहरूले भने यसलाई आफ्नो आन्तरिक रूपमा व्यवस्थापन गरेको अध्यक्ष शाहले बताए ।
‘तारे होटलहरूमा त आफ्नो कम्पाउन्ड हुन्छ, त्यहाँभित्र आफ्नै शान्ति सुरक्षा हुन्छ,’ उनले भने, ‘भित्र देखाउँदा बाहिर डिस्टर्ब हुँदैन ।’
फिफा विश्वकपकै कारण ‘सेलिब्रेसन’ को माहोल भए पनि रात्रिकालीन समय र सुरक्षा संवेदनशीलताले गर्दा नेपालको हस्पिटालिटी क्षेत्रमा यसपालि अफर सीमित र निश्चित दायरामा मात्र खुम्चिएको व्यवसायीले बताएका छन् ।
प्रतिक्रिया 4