Comments Add Comment

कलैयाका स्थानीयले रोपे सडकमै धान !

१२ असार, वीरगञ्ज । कलैया उपमहानगरपालिका–३ स्थित कलैया–नितनपुर सडकखण्ड हिलाम्य भएर आवतजावतमा समस्या भएपछि विरोध स्वरूप स्थानीयले सडकमै धान रोपाइँ गरेका छन् । भवानीपुरस्थित आयुर्वेद अस्पताल नजिकैको हिलाम्य सडकमा उनीहरूले धान रोपाइँ गरेर विरोध जनाएका हुन् ।

सडक हिलाम्य भएर आवागमनमा सास्ती हुँदा समेत जनप्रतिनिधि र ठेकदारले बाटो मर्मतमा ध्यान नदिएपछि सांकेतिक विरोध स्वरूप हिलाम्य बाटोमै धान रोपाइँ गरेको स्थानीयले बताएका छन् ।

‘सडक हिलाम्य भएर हिँडडुल गर्न र सवारी आवागमनमा समस्या हुँदा समेत सरोकारवाला निकायले मर्मतमा चासो दिएन,’ स्थानीय महेश गुप्ताले भने, ‘सम्बन्धित निकायको ध्यानाकर्षण गराउन पनि सडकमै धान रोपेर विरोध जनाएका हौं ।’

‘बाटोमा माटो मात्रै हालेर छोडेको छ, ग्राभेल गरिएको छैन । त्यसैले सामान्य वर्षा हुनेबितिकै बाटो हिलाम्य भएर मान्छे हिँड्न समेत नसक्ने अवस्था छ,’ उनले भने, ‘गाउँमा कोही बिरामी परेमा एम्बुलेन्स समेत आउजाउ गर्न सक्ने अवस्था छैन । सडक बनाउने जिम्मा लिएको ठेकदार कम्पनी कता छ त्यो पनि अत्तो पत्तो छैन, जनप्रतिनिधिलाई कुनै वास्तै छैन । त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाटोमै धान रोपेका हौं ।’

नेपाली कांग्रेसका स्थानीय नेता समेत रहेका गुप्ताका अनुसार सडक निर्माण गर्ने ठेकदार कम्पनी र जनप्रतिनिधिलाई समेत सडक मर्मतका लागि जानकारी गराउँदा समेत कुनै सुनुवाइ भएको छैन ।

सोही सडकखण्ड हुँदै बञ्जरीया, ब्रम्हपुरी, सुराही, मेठुरापुर मटिअरियालगायत १० गाउँका बासिन्दा सदरमुकाम कलैया ओहोरदोहोर गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सडक निर्माणको जिम्मा पाएको ओमसाई ट्रेडर्सले उक्त सडकखण्डमा माटो हालेको छ। भवानीपुरमा एउटा सानो पुल बनाएपछि उसले सडकमा माटो भर्ने काम गरेको थियो । त्यसपछि वर्षायाम सुरु भएकोले सडक हिलाम्य बन्न पुगेको उनको भनाइ छ ।

कलैया–३ का वडाध्यक्ष जलाउद्दीन मन्सुर सहरी विकास कार्यालयको ठेक्कामा भए पनि आफूले समस्याबारे कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको बताउँछन् । ‘बाटोमा माटो हालेर छोडेको छ, ट्रिपर चल्छ, पानी पर्दा सर्वसाधारणलाई आवागमनमा कठिनाइ भइरहेको छ भनेर पटक-पटक भनेको छु,’ अध्यक्ष मन्सुरले भने, ‘तर विभिन्न बहाना देखाएर ठेकदारले काम नगर्दा समस्या आएको हो ।’

चार दिनजति घाम लागेपछि मात्रै काम गर्न सकिने जानकारी ठेकदार कम्पनीका प्रतिनिधिले दिएको वडाध्यक्ष मन्सुरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment