Comments Add Comment

तराईबाट छिरेको सलह एकैदिनमा पहाड उक्लियो

Photo Credit : रासस
बुटवलमा देखिएको सलहको झुण्ड

१३ असार, काठमाडौं । शनिबार बिहान बाराको निजगढ-१३ रतनपुर क्षेत्रमा हुलका हुल फट्यांग्राहरु देखिए । स्थानीयले त्यसबारे सोधखोज गर्न थाले । स्थानीय कृषि प्राविधिकहरु आइपुग्दा धेरै फट्यांग्राहरू बोट विरुवामा बस्न थालिसकेका थिए । प्राविधिक आएर हेरेपछि भनिदिए, ‘नेपालमा पनि सलह भित्रिएछ ।’

निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विसकसेन ढकालले अनलाइनखबरसँग भने, ‘अहिले खेतीपातीको समय भएकाले हाम्रो कृषि प्राविधिकहरु फिल्डमै हुनुहुन्थ्यो । उहाँहरुले विहानै देख्नु भएपछि हामीलाई खबर गर्नुभयो ।’

लगत्तै जिल्ला कृषि ज्ञान केन्द्र, बारामा खबर पुग्यो । त्यसपछि खटिएको टोलीले नेपालमा सलह भित्रिएको पुष्टि गरेको केन्द्रका प्रमुख जितेन्द्र यादव बताउँछन् । ‘हाम्रो टोलीले हेर्दा पानी परिरहेको थियो र किराहरुको सानो झुण्ड रुखमा बसिरहेको थियो । पानी रोकिएपछि सलहले तरकारी बाली खान थाल्यो ।’

फट्यांग्राकै एक प्रजातिका रुपमा रहेको सलह अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट खाने गर्छ ।

छिमेकी पाकिस्तान र भारतमा किसानलाई दुःख दिएको सलह नेपालमा नआउने कृषि मन्त्रालयको अध्ययन टोलीले दाबी गरेको थियो । तर मनसुन सुरु भएलगतै नेपालमा प्रवेश मात्र गरेन, एकै दिनमा बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, मकवानपुर, सिन्धुली, काभ्रे र पाल्पामा सलहको झुण्ड भेटिएको छ । सलहको हुलले एक दिनमा १३०देखि १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्छ ।

सर्लाहीको तेलबाली अनुसन्धान कार्यक्रमको कार्यालय परिसरमा विहानै सलह भेटिएको थियो । सलहको विशाल झुण्ड त्यहाँका बोट विरुवामा झुम्मिएका थिए । कार्यक्रम प्रमुख वीपी यादवका अनुसार शुक्रबार साँझ ८ बजेसम्म किरा देखिएको थिएन । बिहान सवा ६ बजेतिर किरा देखिन थाल्यो ।

अहिले हजारौंको संख्यामा जम्मा भएका छन् । ‘चना, धानका बोटहरु खाँदै छन्, हामीले प्रमुख जिल्ला अधिकारीलाई र मन्त्रालयमा जानकारी गरायौं,’ उनी भन्छन् ।

उनकाअनुसार सलहले गर्ने क्षति कम गर्न स्थानीय र कृषि प्राविधिकहरुले विषादी छर्किनुका साथै थाल ठटाएका छन् । चर्को ध्वनीले सलह किरा भाग्छ ।

पर्साको पर्सागढी नगरपालिका-३ बढि्नहारस्थित चैते धानबालीमा शनिबार बिहानै सलहको बथान देखा परेको थियो । खेतमा काम गरिररहेका बेला हजारौंको संख्यामा सलहको बथान आफ्नो १९ कठ्ठाको धानबालीमा आएर बसेको किसान अर्जुन नेपालले बताए । ‘बिहान म खेतमा आली लगाउन आएको थिएँ, अचानक फट्यांग्राको झुण्ड मेरै चैते धानबालीमा आएर बस्यो,’ उनी भन्छन्, ‘धानको डाँठ पनि खान थाल्यो, त्यसपछि  बुबा, म र दाइ मिलेर धानबालीमा पसेर बोट हल्लायौं, फटयांग्राको बथान नजिकको जंगल तिर उडेर गयो ।’

सलह किरा रौतहटका विभिन्न पालिकामा देखिएको छ । चन्द्रपुर र गुजरा नगरक्षेत्रमा सलहको हुल भेटिएको स्थानीयले बताएका छन् ।

भित्री मधेस हुँदै पहाड उक्लियो

तराईबाट नेपाल प्रवेश गरेको सलह किरा शनिबार नै भित्री मधेस र पहाडी जिल्लामा समेत पुगेको छ ।

शनिबार दिउँसो रुपन्देहीको बुटवलमा देखियो । संघीय सरकारको कृषि मन्त्रालयका उपसचिव डा. गंगादत्त आचार्यकाअनुसार बुटवलका स्थानीय बजार, त्यहाँका रुख विरुवा र बालीनाली तथा आकाशमा सलहको झुण्ड देखिएको छ ।

रूपन्देहीमा देखिएको सलह

बुटवलको सुख्खानगर, रामनगर, कालिकानगर, गोलपार्क,  तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कतिक नगरपालिका लगायतका क्षेत्रमा सलह देखिएको भन्दै स्थानीयले खबर गरेका थिए । त्यस क्षेत्रमा दिउँसैबाट कृषि प्राविधिक खटिए । रुपन्देहीमा देखिएका सलह किरा पाल्पा र गुल्मीतर्फ लागेका प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै मध्याह्नपछि मकवानपुरको तीन वटा गाउँपालिकामा ठूलो संख्यामा सलह किरा देखिएको छ । बकैया, मकवानपुरगढी, वागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकामा सलह देखिएको, तर  क्षतिको जानकारी आइनसकेको बकैया गाउँपालिकाका कृषि प्रमुख शिवराज पौडेलले जानकारी दिए ।

बकैया-१ धियालका कृषक बिरबहादुर स्याङतानले बारी र आकाशमा धेरै संख्यामा सलह देखिएको जानकारी गाउँपालिकालाई दिएका थिए । बकैयाको १, २, ४ र ५ नम्बर वडामा किरा देखिएको छ । बकैयाका केही वडामा देखिएका सलह बागमती गाउँपालिकातर्फ गएको स्थानीयले जानकारी दिएका छन् । मकवानपुरगढी गाउँपालिकाको  पालुङटार र सुकौरामा पनि सलह देखिएको छ । त्यहाँका स्थानीयले सलह भगाउन सुख्खा माटोले छर्किने र आगो बालेर धुँवाउने काम गरेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले जानकारी दिए ।

सिन्धुलीको कमलामाई नगरपालिकाको भिमान माइस्थान, करकरे, मुडेखर्क, खुर्सानी डाँडा, चियाबारी, सिमबारी, लामिस्वारा क्षेत्रमा सलहको झुण्ड देखिएका छन् । धानको ब्याडदेखि मकैको बोट र जंगलका रुख विरुवामा सलह भेटिएका छन् ।

स्थानीय राजवीर विकका अनुसार मध्यान्हपछि एकाएक सलहको हुल देखिन थालेको थियो । स्थानीयले सलह भगाउन थाल र विभिन्न ठूला आवाज निस्कने भाँडाकुडा ठटाएका थिए । काभ्रेको डाँडापारी खानिखोला गाउँपालिकामा पनि सलह किरा देखा परेको छ । यसले शनिबार विहान तराईमा देखिएको सलह भित्री मधेस हुँदै पहाडी जिल्लाहरुमा पुगेको प्रष्ट भएको छ ।

सलह किरा दिनभर उड्छ र रातभर बास बस्छ । सलहको ठूलो झुण्डले बास बसेको ठाउँमा एकैरातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

के भन्छ सरकार ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै साना-साना झुण्डमा छरिएर सलह नेपाल प्रवेश गरेको बताएको छ । मनसुन सुरु भइसकेको सन्दर्भमा खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तनले सलह किरा आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको उसको अनुमान छ ।


जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी यस किराको संभावित प्रवेशको सम्बन्धमा अनुगमन भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

यसअघि सलहबारे अध्ययन गर्न बनेको कार्यदलले कार्ययोजनासहित तयार पारेको प्रतिवेदन सबै सम्बद्ध निकायसहित प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई उपलब्ध गराइएको पनि मन्त्रालयको भनाइ छ ।

संघ, प्रदेश र स्थानीय तहवीच पर्याप्त सम्वाद र सहकार्यमा काम भइरहेको र सलहको संख्या, अवस्था, फैलावट, क्षतिको आँकलन लगायतका विषयमा जानकारी लिन संघीय निकायहरू र प्रदेश अन्तर्गतका प्राविधिकहरू परिचालित भइसकेको मन्त्रालयले विज्ञप्तिमा बताएको छ ।

‘प्राविधिकहरूको सम्पर्क र समन्वयमा रही यस किराको व्यवस्थापनमा सक्रिय रहनका लागि तीनै तहका सरकारका सम्बन्धित निकायहरूलाई आग्रह गर्दछौं,’ मन्त्रालयले भनेको छ ।

यस्तै प्रदेश ५ को भूमिव्यवस्था मन्त्रालयले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ । ‘सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने निर्णय गरेका हौं,’ सचिव तेजबहादुर वली भन्छन्, ‘यस्तो रुकम वडा कार्यालयले दिन्छ ।’

यो पनि पढ्नुहोस कृषि मन्त्रालयले आउँदैन भन्दाभन्दै आयो सलह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment