Comments Add Comment

फेसबुकले भन्यो : विश्वासको संकट भयो

एक पछि अर्को गर्दै विश्वस्तरीय चर्चित ब्राण्डहरुले फेसबुकको प्लाटफर्ममा विज्ञापन बन्द गर्ने घोषणा गर्दै फेसबुक विरुद्ध अभियान नै सुरु गरेसँगै फेसबुक झस्किएको छ ।

फेसबुकले पछिल्ला घटनाक्रमहरुबाट विश्वासको संकट उत्पन्न भएको स्विकार गरेको छ ।

आफ्नो प्लाटफर्ममा गलत सूचना तथा घृणाजन्य सामाग्रीहरुलाई बढावा दिइरहेको आरोप लगाउँदै नर्थफेस, टिम्बरल्याण्ड लगायतका विश्वका चर्चित ब्राण्डहरुले फेसबुक बहिस्कारको घोषणा गरेको पृष्ठभूमिमा फेसबुकका एकजना वरिष्ठ अधिकारीको यस्तो भनाई बाहिर आएको हो ।

मंगलबार झण्डै २ सय विज्ञापनदाताहरुसँग भएको भेटघाटका क्रममा फेसबुकको ट्रष्ट एण्ड सेफ्टी विभागका प्रमुख नेल पट्सले यस्तो बताएका छन् ।

छलफलका क्रममा कम्पनीका प्रतिनिधिहरुले फेसबुकको प्लाटफर्ममा उपस्थिति जनाएर किन आफ्नो ब्राण्डको बदनाम गराउनु ? भनेर प्रश्न गरेका थिए ।

क्यानडाको अन्तरक्रियात्मक विज्ञापन ब्युरोले आयोजना गरेको सो छलफलमा पोट्सले अहिले विश्वासको संकट उत्पन्न भएको भन्दै कसैले कुनै निर्णय गर्न खोज्ने र त्यस्तो निर्णयबाट आम जनता असहमत भएमा त्यसले यस्तो विश्वासको संकटलाई झनै गहिरो पार्ने बताए ।

उक्त अन्तरक्रियाका विषयमा सिएनएनसँग बोल्दै फेसबुकका प्रवक्ता एन्डी स्टोनले विज्ञापनदाताहरुसँग नीतिगत लगायतका विषयमा छलफल हुनु सामान्य प्रक्रिया रहेको भन्दै आफुहरुले यस्तो काम नियमित रुपमा गर्दै आएको बताए ।

तथापि भिडियो कन्फ्रेन्सिङ मार्फत भएको उक्त अन्तरक्रियामा फेसबुकका वरिष्ठ अधिकारी पट्सले व्यक्त गरेको विचारका आधारमा पछिल्लो समय फेसबुकको उच्च नेतृत्व विज्ञापनदाताहरुको अभियानबाट ठूलो दबाबमा रहेको प्रष्ट भएको छ ।

स्मरण रहोस् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका रंगभेदी तथा जातीवादी फेसबुक पोष्टमा कुनै कारवाही नगरेको भन्दै फेसबुकमाथि आलोचना सुरु भएको थियो । जुन महिनाको सुरुवात देखि नै विभिन्न मानव अधिकारवादी संस्थाहरुले फेसबुक बहिष्कार अभियान सुरु गरेका थिए ।

हालैमात्र बेन एण्ड जेरी, प्याटागोनिया, म्याग्नोलिया, टिम्बरल्याण्ड तथा नर्थफेस लगायतका कम्पनीले फेसबुक र इन्स्टाग्राममा विज्ञापन बन्द गर्ने घोषणा गर्दै नाफाका लागि घृणा नफैलाउ भन्ने अभियान सुरु गरेका छन् ।

ट्रम्पका पोष्टमाथि कुनै कदम नचालेको भनेर अमेरिकी नेता तथा आफ्नै कर्मचारीले उठाएको आवाजलाई नजरअन्दाज गरेको फेसबुक विज्ञापनदाताको बहिष्कार पछि चाहीँ ठूलो दबाबमा परेको छ । फेसबुकको वार्षिक ७० अर्ब डलर राजश्व मध्ये अधिकांस राजश्व विज्ञापनबाटै प्राप्त हुने गरेको छ ।

विज्ञापनदाताहरुसँगको अन्तरक्रियामा फेसबुकका ट्रस्ट एण्ड सेफ्टी विभागका प्रमुख पट्सले पछिल्लो समयमा उत्पन्न भएको विश्वासको खाडललाई पुर्नका लागि आफुहरुले प्रयास गरिरहेको पनि बताए । सिएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment