Comments Add Comment

गर्मी र झरी : ख्याल राख्नुपर्ने कुरा

गर्मी बढ्दैछ, मनसुन पनि सुरु भइसकेको छ । यो मौसममा केही स्वास्थ्य समस्या देखापर्छ । जस्तो कि, अपच, एसिडिटी, पखला, वान्ता । त्यसैगरी छालामा एलर्जी आउने, शरीर बढी दुर्गन्धित हुने । यी सामान्य समस्याबाट बच्न गर्मी याममा केही कुराको ख्याल गर्नुपर्छ ।

स्वास्थ्यको ख्याल

यसबेला हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, त्यसैले खानपानदेखि जीवनशैलीसम्ममा खास सर्तकता अपनाउनुपर्छ । यस सिजनमा संक्रमित रोगहरुको भय रहन्छ । सानोतिनो रोगले पनि दुःख दिन सक्छ । त्यसैले उचित खानपान, व्यायाम, सरसफाईमा ध्यान दिनु आवश्यक हुन्छ । मैसमी फलफूलहरु खरबुजा, स्याउ जस्ता रसयुक्त फलफूलको सेवन गर्नु पर्छ । यसले शरीरमा पानीको मात्रा कम हुन दिदैन । घर बाहिर निस्कनु परे पिउने पानी पनि बोक्नुपर्छ ।

खाली पेट घरबाहिर निस्कनु हुँदैन, यसले चर्को घाममा चक्कर लाग्न सक्छ । त्यसैले बाहिर निस्कनुअघि केहि खानेकुरा सेवन गर्नुपर्छ ।

सरसफाईको ख्याल

गर्मीमा पसिना धेरै आउने, गन्हाउने हुन्छ । साथै धुलो र धुँवाको कणहरुले अनुहार, छाला, कपाललाई असर गर्छ । त्यसैले गर्मी याममा सरसफाईमा विशेष ध्यान दिनुपर्छ । संभव भएसम्म हरेक दिन नुहाउनु उचित हुन्छ ।

पहिरनको ख्याल

गर्मीमा खुला, हल्का र उज्यालो रंगको पहिरन उपयुक्त हुन्छ । हरियो, रातो, पहेंलो, निलो जस्तो रंग भएपनि उज्यालो रंग राम्रो हो । फेब्रिकको कुरा गर्दा गर्मीमा कटन नै सर्बोत्तम हुन्छ । यसले शरीरमा सितल महसुष गराउँछ । छालालाई कुनैपनि किसिमको असर गर्दैन । लिनेन, मलमल, सिफन पनि गर्मीको लागि उपयोगी हुन्छ ।

खानपानमा ख्याल

गर्मीमा खानेकुरा सजिलै खानेकुरा पच्दैन । गर्मीमा छिटै सड्ने, गल्ने भएकाले खानेकुराहरु ताजा पनि रहदैन । बासी र सडेगलेको खानाले सास्ती दिन्छ । माछामासु, मसलेदार, जंकफुड खानेकुराले पेटमा समस्या निम्त्याउँछ । सकेसम्म ताजा र सुपाच्य खानेकुरा सेवन गर्नुपर्छ । पर्याप्त मात्रामा झोलिलो खानेकुरा वा पानी सेवन गर्नुपर्छ ।

सौन्दर्यको ख्याल

चर्को घाम लागेको बखत घर बाहिर हिँड्नु परेमा पुरै शरीर ढाक्ने पहिरन उपयुक्त हुन्छ । यसले घामको सोझो असरबाट छालालाई जोगाउँछ । कपडाले नढाकिएको भागमा सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ ।

घररबाहिर निस्कनु १५ मिनेटअघि नै क्रिम लगाउनुपर्छ । दुई तीन घण्टापछि यसको प्रभाव कम हुन्छ । त्यसैले केहि घण्टाको फरकमा पुन क्रिम लगाउनुपर्छ । चर्को घाममा हिँडडुल गर्दा छाता ओड्नु राम्रो हो । यसले घामको रापलाई रोकेर सितलता मात्र प्रदान गर्दैन, छालालाई पनि जोगाउँछ । साथै यस मौसममा पानी पर्न सक्ने भएकाले त्यस्तो अवस्थामा पनि काम लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment