Comments Add Comment

तीनदिनको मौसम हेरौं, सलहको जोखिम थाहा हुन्छ : मन्त्रालय

१४, असार, काठमाडौं । बालीनाली नष्ट गर्ने सलह किरा पाकिस्तान हुँदै भारतको सीमा नाघेर नेपालमा प्रवेश गर्यो । अहिले सानो संख्यामा आए पनि आगामी दिनमा ह्वारह्वार्ती आउन सक्ने चिन्ता बढेको छ । भलै सरकारी अधिकारीहरु भने ठूलो समूहमा नआउने भन्दै आश्वस्त पार्न खोजिरहेका छन् ।

मौसमसम्बन्धी विज्ञहरुका अनुसार भारतबाट नेपालतर्फ बहेको हावासँगै सलह भित्रिएको हो । नेपालतर्फ हावाको बहाव हुने भू–भागमा सलह भए/नभएकोबारे दुई देशवीच सूचना आदान–प्रदान जरुरी छ ।

सलहको सानो झुण्ड हावामा तितर–बितर भएर भारतबाट नेपाल प्रवेश गरेको मन्त्रालयको निश्कर्ष छ । यमनबाट पाकिस्तान हुँदै भारतको राजस्थानमा पुगेर पुनःवंशबृद्धि गरेको सलह राजस्थान क्षेत्रमा ठूलो संख्यामा रहेको अनुमान गरिएको छ ।

मनसुनी हावाको प्रभावले राजस्थानमा रहेको ठूलो झुण्ड अबको तीन दिनभित्र भारत हुँदै नेपाल छिरेन भने तत्कालका लागि जोखिम टर्ने मन्त्रालयका अधिकारीहरुको दाबी छ ।

भारतको उत्तरप्रदेश भएर आज हावाको चाप पश्चिमबाट बहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यदि भारतको उक्त भूभागमा सलह भएको भए नेपालमा प्रवेश गर्न सक्ने महाशाखाको आकलन छ ।

सलह नियन्त्रण टास्क फोर्सलाई जल तथा मौसम पूर्वानुमान महाशाखाले हावाको चाप र हावा बहने स्थानमा सलह छ कि छैन भन्ने निर्धारण गर्न सुझाव दिएको छ ।

यस्तै सोमबार दक्षिणपूर्वमा हावा बहने र यसको प्रभाव पनि नेपालमा पर्न सक्ने मौसमविदहरु बताउँछन् । मंगलबार पूर्वी दिशाबाट पश्चिमतिर हावा बहने र यो हावा राजस्थानबाट नेपालतर्फ हुने मौसममविद अर्चना श्रेष्ठले जानकारी दिइन् ।

सलहका विज्ञहरुले हावाको दिशाका कारण नेपालसम्म सलह आइपुगेको जानकारी नेपाललाई गराएको सहसचिव डा. केसीले जानकारी दिए ।

सलहको अवस्था ट्र्याकिङ गरिरहेको संयुक्त राष्ट्रसंघ अन्र्तगतको खाद्य तथा कृषि कार्यक्रमका वैज्ञानिकले नेपालमा हावाले ल्याएको सलह हावाले नै उडाएर लैजाने जानकारी गराएको उनले बताए ।

तीन दिनको मौसम महत्वपूर्ण

नेपालमा शनिबारदेखि भित्रिएको सलह किराको फैलावट आगामी तीन दिनको मौसमले धेरै हदसम्म निर्धारण गर्ने कृषि तथा पशुपन्छी मन्त्रालयले आकलन गरेको छ । अहिले भित्रीको झुण्डले तत्काल बालीनालीलाई ठूलो परिमाणमा क्षति गर्न नसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

सलह भित्रिएपछि देशभरका कृषकहरु चिन्तामा परे पनि बाली सखाप पार्नेगरी सलह नेपालमा आइनसकेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरिबहादुर केसीले बताए । हाल चितवन र मकवानपुरमा रहेको सलहको झुण्डले मात्रै सानो मात्रामा बाली खान थालेको सूचना मन्त्रालयमा प्राप्त भएको उनले जानकारी दिए ।

‘नेपालमा सलह नफैलनका लागि अबका तीन दिनको मौसम महत्वपूर्ण हुन्छ,’ सहसचिव केसीले भने, ‘अरेबियन शाखाबाट बहने पश्चिम/दक्षिण–पश्चिमी वायुको प्रभाव नेपालतर्फ बढ्दा भारतको राजस्थानमा ठूलो झुण्डमा रहेको सलह नेपाल प्रवेश गर्न सक्ने वा नसक्ने एकिन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment