Comments Add Comment

पाकिस्तानको स्टक एक्सचेन्जमा गोली चल्यो, दुईको मृत्यु

१५ असार, काठमाडौं । पाकिस्तानको कराँची सहरमा रहेको पाकिस्तान स्टक एक्सचेन्जको भवननजिकै गोली चलेको छ । यो घटनामा कम्तीमा दुईजनाको मृत्यु भएको छ ।

स्थानीय च्यानल र सामाजिक सञ्जालमा शेयर गरिएको तस्वीरमा स्टक एक्सचेन्जको भवनबाहिर प्रहरी र एम्बुलेन्सहरु देखिएका छन् ।

बीबीसीका अनुसार भवनको सिँढीमा रगत लतपतिएको पाइएको छ । स्थानीय टेलिभिजन च्यानलले प्रहरीलाई उद्धृत गर्दै कम्तीमा दुई जनाको मृत्यु भएको र प्रहरीले भवनलाई घेरेको उल्लेख गरेका छन् ।

पाकिस्तानको समाचार संस्था ‘डन’का अनुसार यो आक्रमणमा चारजना आक्रमणकारी सहभागी थिए । प्रहरीको जवाफी कारबाहीमा चारैजना मारिएका छन् । आक्रमणकारीहरुबाट हतियार र हेण्ड गि्रनेड बरामद गरिएको बताइएको छ ।

सिन्ध प्रान्तका मुख्यमन्त्री मुराद अली शाहले यो घटनाको भत्र्सना गरेका छन् । सिन्धका गभर्नर इमरान इस्माइलले सामाजिक सञ्जाल ट्वीटरमार्फत् यो आक्रमणको निन्दा गरेका छन् ।

उनले आतंकवादविरुद्धको आफूहरुको लडाइँ कमजोर साबित गर्ने प्रयासस्वरुप यो आक्रमण भएको बताएका छन् ।

स्टक एक्सचेन्जका निर्देशक अदिब अली हबीबले स्थानीय टेलिभिजनसँग कुराकानीमा आक्रमणकारी भवनको ट्रेडिङहलमा पनि छिरेको र गोली हान्न शुरु गरेको बताएका छन् । यसबाट भागदौड मच्चिएको थियो । मृत्यु हुनेमा एक स्टक एक्सचेन्जमा काम गर्ने गार्ड पनि रहेका छन् ।

यो स्टक एक्सचेन्ज पाकिस्तानको सबैभन्दा ठूलो स्टक बजार हो । यो कराँचीको सबैभन्दा व्यस्त हाइवेको एक कुनामा छ ।

प्रत्येक दिन यहाँ सयौं मानिसहरु कारोबार र रोजगारीको सिलसिलामा आउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment