Comments Add Comment
टिप्पणी :

प्रधानमन्त्रीज्यू, लैनचौरसँग किन थुर्थुर ?

१५ असार, काठमाडौं । आइतबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्वोधन सामान्य थिएन । एउटा सार्वभौम देशको प्रधानमन्त्रीलाई हटाउन ‘विदेशी दूताबासले सक्रियता देखाएको’ विषय सामान्य होइन, जघन्य अपराध हो । यस्तो अन्तर्राष्ट्रिय अपराध कोही पनि स्वाभिमानी नेपाली जनतालाई सैह्य हुँदैन ।

नेपाली जनताले बहुमत दिएर सरकार चलाउन पठाएका प्रधानमन्त्रीलाई हटाउन लैनचाैरस्थित भारतीय दूतावास सक्रिय भएकै हो भने आफूलाई आँटिलो राष्ट्रवादी दाबी गर्ने प्रधानमन्त्री ओलीले भाषण मात्रै ठोकेर दायित्व पूरा हुँदैन । सरकार ढाल्न सक्रिय हुने राजदूतलाई तुरुन्त सिंहदरबारमा बोलाएर स्पष्टीकरण सोध्नुपर्छ । स्पष्टीकरण सोधेर मात्र पुग्दैन । तल्कालै, २४ घण्टाभित्र नेपाल छाड्न आदेश दिनुपर्छ ।

आफूलाई सच्चा राष्ट्रवादी र सहासी राजनेता दाबी गर्ने प्रधानमन्त्री ओली भारतीय राजदूतलाई स्पष्टीकरण सोध्न किन डराइरहेका छन्, बुझ्न सकिएको छैन ।

दूतावासले सरकार ढाल्ने सक्रियता देखाएको जान्दाजान्दै ओली सरकारले भारतीय राजदूतमाथि कुनै कूटनीतिक ‘एक्सन’ नलिने हो भने नेपालको आधुनिक इतिहासमा यो राष्ट्रिय लज्जाको विषय हुनेछ ।

आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा प्रधानमन्त्री ओलीले के भनेका थिए ? एकपटक त्यो अभिव्यक्ति स्मरण गरौं –

१. तपाई हामी सबैलाई थाहा छ जस्तो लाग्छ । तपाईहरुले पनि सुन्नुभएको हुनुपर्छ, हप्ता/पन्ध्र दिनमा प्रधानमन्त्री परिवर्तन हुँदैछ भनिँदैछ । भारतका मिडियाहरु सुन्नुभएको होला । भारतका वौद्धिक बहसहरु सुन्नुभएको होला, कसरी भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ ।….

२. हामीले… हाम्रो जमीन फिर्ता ल्याउन खोज्यौं, अरुको जमीनमा दाबी गरेको होइन । अरुको जमीन अतिक्रमण, हस्तक्षेप गरेको होइन । त्यसकारण हामीले कुनै गल्ती गरेका छैनौं । तर, यहाँँ नेपालकै नेता लाग्या रछन् । बहस चल्या र छ । अहिले होइन, केपी ओलीलाई नहटाई हुँदैन ।….

३. पहिले यहाँहरुलाई सम्झना होस्, चीनतिर पनि ट्रान्सपोर्ट ट्रान्जिट एग्रिमेन्ट गरेर फर्किएपछि सरकार ढल्याथ्यो, किनभने हामीसँग बहुमत थिएन । अहिले त्यही सपना देखेर संविधान संशोधन भयो, नक्सा जारी भयो, त्यसो भएपछि यस्तो अपराध गर्ने केपी ओलीलाई अब… भित्र–भित्रको कुरा हो । बाहिर–बाहिर भन्न नसक्ने तर भित्रभित्र यस्तो अपराध गर्नेलाई चाहिँ, दिल्लीका सञ्चार माध्यमहरु सुन्नोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ केके भैराख्या छ । यहाँका होटलहरुमा भइराखेका गतिविधिहरु, त्यसले पनि बताइराखेको छ । एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ ।

४. मलाई प्रधानमन्त्रीको जिम्मेवारीमा बसिरहन मन छैन । तर, यतिबेला म हट्ने हो भने फेरिदेखि नेपालको पक्षमा बोल्ने आँट कसैले गर्नेछैन । किनभने, भोलिपल्ट बर्खास्त हुन्छ ।

व्याख्या : प्रधानमन्त्री ओलीले स्पष्टसँग अथ्र्याएका छन्, यहाँ (काठमाडौं ) का होटलहरुमा भइराखेका गतिविधिहरु र एम्बेसीको सक्रियताले पनि बताइराखेको छ कि भित्रभित्रै केपी ओलीलाई हटाउने गतिविधि भइराखेको छ ।

ओलीले स्पष्टरुपमा भनेका छन्, यसमा भारतको राज्य संयन्त्र अचम्मसँग सक्रिय छ । र, यहाँ (नेपाल) का नेताहरु पनि लागेका छन् ।

भारतीय राजदूताबास यसरी सरकार ढाल्ने खेलमा लागेको हो र नेपालकै नेताहरुले पनि होटलमा त्यस्ता गतिविधि गरिरहेका हुन् भने भारतीय दूतावासमाथि सरकारले एक्सन लिनुपर्छ कि पर्दैन ? अनि यस्तोबेलामा पनि भारतीय दूताबाससँग साँठगाँठ गर्ने नेपालका ती नेताहरुलाई नांगेझार बनाउनुपर्छ कि पर्दैन ? यदि यो काम प्रधानमन्त्री ओलीले गर्न सकेनन् भने उनलाई इतिहासले कायर, निकम्मा एवं ‘बातबहादुर’का रुपमा लिपिवद्ध गर्ने निश्चित छ ।

नेपालले भर्खरै लिम्पियाधुरा र लिपुलेकसमेतलाई समेटेर नयाँ नक्सा जारी गरेको छ । भूमिसुधार मन्त्रालयले नक्सा तयार पारिसक्दा पनि प्रधानमन्त्री ओलीले त्यसलाई तत्कालै नगरौं भन्दै रोकेरै राखेका थिए ।

पछि नेकपा सचिवालयको बैठकमा पनि ओली ‘भूमि फिर्ता ल्याउनु मुख्य कुरा हो’ भन्दै तत्काल नक्सा प्रकाशित गर्न अन्कनाएको नेकपा सचिवालयकै नेताहरु बताउँछन् । त्यहाँ विशेष गरी वामदेव गौतमले तत्कालै नक्सा प्रकाशित गर्नुपर्छ भनेर ‘प्रेसर’ गरेपछि बल्ल प्रधानमन्त्री ओली तयार भएको नेताहरु बताउँछन् ।

जे होस्, नेकपा सरकारले नक्सा प्रकाशित गर्‍यो र त्यसलाई सबैले स्वागत÷समर्थन गरे । जब ओली नेतृत्वको सरकारले संविधानमा नक्सा समेट्नका लागि संशोधन प्रस्ताव ल्यायो, त्यसमा अभूतपूर्व राष्ट्रिय सहमति जुट्यो र सर्वसम्मतरुपमा संविधान संशोधन भयो ।

अब प्रधानमन्त्री ओलीले कालापानीबाट भारतीय सेना हटाउन र भारतले हडपेको भूमि फिर्ता ल्याउन पहल गर्दा त्यसको विरोध होकी पनि नेपाली जनताले गर्नेवाला छैनन् । यसमा प्रधानमन्त्री ओलीलाई सबैको साथ र सहयोग रहने छ, रहनैपर्छ ।

अनि, यस्तो अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन भइरहेका बेला अकस्मात् प्रधानमन्त्री ओलीलाई हटाउन भारतीय दूताबास सक्रिय भएको हो भने केपी ओलीले रुञ्चे भाषण गरेर बस्न सुहाउँछ ? के यही हो हामी नेपालीहरुको राष्ट्रिय स्वाभिमान ? के यही हो हामीले खोजेको राष्ट्रिय स्वाभिमानको लडाइँको सारथी ?

प्रधानमन्त्रीले नै सार्वजनिकरुपमै भनिसकेपछि अब ‘भारतीय दूताबासको चलखेल’ बारे तत्कालै सत्तारुढ नेकपाको बैठकमा छलफल हुनुपर्‍यो । क्याबिनेट बैठक बोलाउनुपर्‍यो । सर्वदलीय बैठक बोलाउनुपर्‍यो । र, सरकारले तुरुन्तै लैनचौरमाथि कूटनीतिक एक्सन लिनुपर्‍यो । त्यसरी एक्सन लिएरको जानकारी नेपाली जनतालाई गराउनुपर्‍यो ।

आइतबारको सम्वोधनमा प्रधानमन्त्रीको भनाइको सार यो पनि थियो कि केपी ओलीलाई हटाउन नेपालकै नेताहरु पनि एम्बेसीसँग मिलेर भित्रभित्रै लागेको होटलहरुको गतिविधिले देखाएको छ ।

स्मरण रहोस् सरिता गिरीबाहेक सबै नेताहरुले नक्सा परिवर्तनसम्बन्धी संविधान संशोधनको पक्षमा मतदान गरेर सरकारलाई साथ दिएका थिए । आखिर, को निस्किएछ लैनचौरसँग मिलेर सरकार ढाल्न खोज्ने राष्ट्रघाती नेता ? प्रधानमन्त्रीले त्यस्तो राष्ट्रघातीको नाम लुकाउन मिल्छ ? त्यस्तालाई राष्ट्रघात गरेको अभियोगमा कारवाही गर्नुपर्छ कि पर्दैन ? आफ्नै पार्टीभित्रै छन् भने तत्कालै पार्टीबाट हटाउनुपर्छ कि पर्दैन ?

स्मरण रहोस्, प्रतिनिधिसभामा नेकपासँग स्पष्ट बहुमत छ । नेकपाका नेताबाहेक कांग्रेस, राप्रपा, जसपा वा अरु कुनै पनि दलले होटलमा गतिविधि गर्दैमा वा लैनचौरसँग साँठगाँठ गर्दैमा ओली सरकार ढल्नेवाला छैन । प्रधानमन्त्रीको कुर्सीमाथि कतैबाट खतरा छ भने नेकपाबाटै छ । कांग्रेस वा अरु कुनै दलबाट छैन । अझ नक्साको मामिलामा त प्रधानमन्त्रीलाई विपक्षीले पनि साथ दिएको अवस्था छ ।

यो परिस्थितिमा दिल्ली र काठमाडौंका केही अमूक नेताहरु मिलेर प्रधानमन्त्रीलाई हटाउने गतिविधि सुरु भयो भन्नुको मतलब ओलीले आफ्नै पार्टीभित्र नेताहरुलाई भन्न खोजेको देखिन्छ । यदि त्यसो हो भने राष्ट्रियताबारे सत्तारुढ नेकपाको अडानमाथि नै गम्भीर प्रश्न उठ्ने छ ।

के प्रधानमन्त्रीले आवेगमा आएर निराधार अभिव्यक्ति दिएका हुन् त ? उनले यस्सो भारतीय कार्ड खेलौं न त भनेर टुच्च दिएका मात्रै हुन् त ? यस्तो अनुमान लगाउनु भनेको प्रधानमन्त्री पदकै गरिमामाथि हिलो छ्यप्नु हो । देशको प्रधानमन्त्रीले सार्वजनिक मञ्चमा बोलेको विषयलाई ‘पानीमा अपान वायु छाडेजस्तो’ ठान्न मिल्दैन । यो इतिहासको रेकर्डमा रहने गम्भीर विषय हो ।

फेरि पनि प्रश्न प्रधानमन्त्रीतिरै तेर्सिएको छ ।

सरकार ढाल्न दूताबासले सक्रियता देखाएकै हो भने प्रधानमन्त्रीज्यू, लैनचौरसँग किन थुर्थुर काँपेको ? भारतीय राजदूतलाई २४ घण्टाभित्र देश छाडने आदेश दिन किन नसकेको ? सहसचिव स्तरको राजदूतमाथि प्रश्न सोध्न सक्नुहुन्न भने तपाईले कसरी भारतले मिचेको भूमि फिर्ता ल्याउने विश्वास नेपाली जनतालाई दिलाउनुहुन्छ ? अनि, कसरी भारतसँग वार्ता गरेर कूटनीतिक समाधान खोज्नुहुन्छ ?

आम जनताले साथ दिँदादिँदै पनि लैनचौरसँग किन थुर्थुर काँपेको प्रधानमन्त्रीज्यू ?

यो पनि पढ्नुहोस ‘मदन भण्डारी साइकलमा हिँड्नुहुन्थ्यो, श्रीमती १६ करोडको गाडीमा ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment