Comments Add Comment

ग्राण्डस्लाम जित्ने महत्वाकांक्षा बोकेकी नेपाली टेनिस सुन्दरी

१७ असार, काठमाडौं । संघर्ष, सिकाइ, सफलता, उपलब्धि, जित, हार, यी सबै खेलाडी जीवनका अपरिहार्य चक्र हुन् । केहीलाई भाग्यले पनि साथ दिन्छ तर त्यसमा आफ्नो मेहनत मिसाएन भने त्यो अपुरो हुन्छ ।

प्रेरणा कोइरालाको खेल जीवनमा पनि यही लागु हुन्छ । नेपालमा महँगो खेलका रुपमा चिनिने टेनिसमा लागेर उनले छोटो समयमै स्मरणीय उपलब्धिहरू हासिल गरेकी छन् । यस क्रममा उनले थुप्रै चुनौतीका क्षणहरूलाई पन्छाउँदै आफ्नो लक्ष्यमा दृढ भएर अघि बढिन् ।

१७ वर्षीया प्रेरणा अहिले नेपालको नम्बर वान महिला टेनिस खेलाडी हुन् । पछिल्लो समय उनी एकपछि अर्को सफलताको भ¥याङ उक्लिरहेकी छन् । यहाँसम्म आइपुग्दा प्रेरणाले गरेको संघर्ष पनि उत्तिकै प्रेरणादायी छ । तर अझै लामो यात्रा तय गर्नुछ उनलाई ।

टेनिस खेलबाट देशको नाम विश्वमा चिनाउने र आफूले पनि ठूलो सफलता हात पार्ने सपना देखेकी छिन् प्रेरणाले ।

लकडाउनमा पनि व्यस्त

अहिले कोरोना भाइरसको महामारीले गर्दा विश्व नै त्रासमा छ । नेपालमा यसको नियन्त्रणका लागि लामो समयदेखि लकडाउन गरिएको छ । लकडाउनका कारण खेल क्षेत्र त ठप्पप्रायः छ । तर प्रेरणाले भने यो लकडाउनको अवधिलाई पनि खेर जान दिइरहेकी छैनन् ।

प्रेरणा अहिले आफ्नो परिवारसँग काठमाडौंको चाबहिलमा बस्छिन् । उनको दैनिकी बिहान ४ बजेदेखि सुरु हुन्छ । बिहानै उठेर बुबा र भाइसंँग रनिङमा निस्किन्छिन् । दैनिक ६ किलोमिटर दौडेपछि घर फर्केर आराम गर्छिन् । ब्रेकफास्ट लिन्छन् ।

लकडाउनमा प्रेरणाले सेल्फ ट्रेनिङलाई जारी राखेकी छन् । उनले केही समयदेखि मन्डिखाटारमा ट्रेनिङ गर्न थालेकी छन् । त्यहाँ बाहिरको मान्छेलाई जान नदिइने भए पनि प्रेरणाले कसरी–कसरी मौका पाइन् । उनलाई दैनिक १ घण्टा ट्रेनिङ गर्न दिइएको छ ।

उनी १० बजेतिर ट्रेनिङका लागि जान्छिन् । प्रेरणाका नियमित कोच राजकुमार लामा भक्तपुर बस्ने भएकोले उनलाई ट्रेनिङ गराउन भ्याउँदैनन् । त्यसैले उनले स्पेनी नागरिक पउल मार्टिनलाई पार्टनर बनाएर ट्रेनिङ गरिरहेकी छिन् ।

‘मेरो सबै ट्रेनिङ राजकुमार गुरुले नै हेर्ने हो । अहिले पउलसँग ट्रेनिङ पार्टनरको रुपमा मात्र खेलिरहेको छु । अरू केही चेन्ज गर्दैन उसले,’ प्रेरणाले भनिन् ।

लकडाउनले गर्दा अहिले सबै खेलाडीको दैनिकी फेरिएको छ । प्रेरणाको दैनिकीमा पनि फेरबदल आएको छ । ३ महिनासम्म लक्ड भएर बस्दा उनको नियमित रुटिन बिग्रिएको छ । तर उनी अहिले यसलाई नकारात्मकभन्दा पनि सकारात्मक रुपमा लिइरहेकी छन् ।

‘धेरैले लकडाउनलाई नकारात्मक रुपमा हेरेका छन् । तर मलाई त फाइदा पनि छ । मैले एक वर्ष पढेको थिइनँ । लकडाउनले गर्दा पढ्ने टाइम पाएँ,’ प्रेरणाले भनिन् ।

१७ वर्षीया प्रेरणा हाल तीनकुनेस्थित पेन्टागन कलेजमा कक्षा १२ मा अध्ययनरत छिन् । अरू बेला खेलले गर्दा नियमित कलेज जान नपाएकी उनी अहिले पढाइमा नै केन्द्रित हुन खोजिरहेकी छन् । लकडाउन सुरु हुनुअघि उनी १२ को परीक्षा दिने तयारीमा थिइन् । तर लकडाउनले परीक्षा समेत अनिश्चित बनेको छ । अहिले उनी त्यही परीक्षाको लागि तयारीमा छिन् । उनी आफ्नो कमजोरीहरू पत्ता लगाइ त्यसमा सुधार गर्दै छिन् ।

यसअघि प्रेरणा वर्षमा एक महिना वा केही बढी समय मात्र पढ्थिन् । अहिले हरेक दिन पढाइका लागि निश्चित समय छुट्याएकी छन् ।

‘ममा जे कमजोरी छ, त्यसमा सुधार गरिरहेको छु । कोरोना भाइरसले रुटिनलाई इफेक्ट त गरेको छ तर म्याचहरू सबै रद्द भएपछि अरू काम पनि थिएन ।‘

प्रेरणा जुनियर उमेरमा खेल्दै गरे पनि उनले निश्चित लक्ष्य राखेर तयारी गरिरहेकी छन् ।

‘मेरो त त्यही नै हो तर प्रक्रियामा हल्का संशोधन गरेको छु । फिटनेससँगै पढाइलाई पनि ध्यानमा राखेर अघि बढिरहेको छु’ । अबको ३–४ महिना म्याच नहुने सम्भावना रहेकोले पनि उनलाई पढाइमा केन्द्रित हुन मौका मिलेको छ ।

अहिले चाहिँ योजना बनाउने कमजोरी सुधार गर्ने र परिवारसंँग समय बिताउने उनको दैनिकी छ ।

कोरोनापछिको तयारी

प्रेरणाको ध्यान कोरोनापछि खेलमा फर्कँदा कसरी तयार रहने भन्नेमा पनि छ । उनले एउटा डायरी नै बनाएर कोरोनापछिको योजना बुनिरहेको बताइन् ।

‘मैले कुन–कुन पक्षमा सुधार गरेँ भने म्याचहरू जित्न सक्छु भनेर एउटा डायरीमा लेखेको छु । त्यसलाई हेर्दै अगाडि बढ्ने हो,’ उनले भनिन् ।

खेलाडीहरूले शारीरिकसँगै मानसिक रूपमा पनि आफूलाई बलियो राख्नुपर्ने प्रेरणा बताउँछिन् । ७० प्रतिशत जित मानसिक आधारमा हुने उनको विश्वास छ । आफूलाई मानसिक रूपमा बलियो बनाउन उनले विभिन्न योगाहरू गरिरहेकी छन् ।

प्रेरणाले १२ को परीक्षा दिएपछि विदेशमा खेल्ने योजनासहित तयारी पनि सुरु गरेकी थिइन् । युरोपियन राष्ट्र सर्वियामा खेल्नका लागि योजना बनिरहेको थियो । तर कोरोनाले त्यो सबै रोकिदियो ।

‘सर्वियामा खेल्न जाने योजना थियो । क्यानडाका लागि पनि प्लान गर्दै थियौँ । सबै क्यान्सिल भयो,’ उनले सुनाइन् । नेपालमा भने तत्काल कुनै प्रतियोगिताको योजना नबनेको उनको भनाइ छ ।

प्रेरणाले पछिल्लोपटक पोखरामा भएको जुनियर आइटीएफ खेलेकी थिइन् । त्यसमा उनले महिलातर्फ उपाधि जितेकी थिइन् ।

सागले सिकायो खेल्न

गत मंसिरमा नेपालमै भएको १३औं सागमा प्रेरणाले आफ्नो क्षमता जाँच्ने अवसर पाइन् । साथै, उनले पदक समेत जितिन् । उनले नेपालका लागि कास्य पदक जितेकी थिइन् ।

‘साग मेडलले एकदमै हौसला बढेको छ । कसरी खेल्नुपर्ने रैछ, भारतीयहरूलाई कसरी जित्न सकिन्छ, के–के पार्टमा सुधार गर्नुपर्छ भन्ने थाहा भयो,’ उनले भनिन् । अब आफ्ना कमी–कमजोरी सुधार गर्दै अर्को सागमा अझै राम्रो गर्ने उनको लक्ष्य छ ।

‘अर्को सागमा स्वर्ण नै आउने हिसाबले अभ्यास गर्दै छौं । दुई वर्षको लागि अहिलेदेखि नै एउटा राम्रो प्लान सेट गरेका छौं । आफैँ तयार गर्दै व्यक्तिगत रुपमा लागिरहेको छौं,’ उनले भनिन् ।

क्रिकेट छाडेर टेनिसतिर

विराटनगरमा हुर्केकी प्रेरणा सुरुमा क्रिकेट खेल्थिन् । उनको बाबा पुरुषोत्तम कोइराला भलिबल खेलाडी थिए । बाबा खेलाडी हुँदा त्यसको असर छोरीमा पनि देखियो ।

‘बाबालाई खेलकुदमा राम्रो हुन्छ भन्ने सुरुमै लागेको थियो,’ उनले भनिन् ।

प्रेरणा विराटनगर छाडेर परिवारसँगै काठमाडौं आइन् । काठमाडांैको आइडियल स्कुलमा कक्षा एकदेखि नै पढ्न सुरु गरिन् ।

६–७ कक्षामा हुँदासम्म उनको झुकाव क्रिकेटतर्फ थियो । तर बुबाको कारण उनी क्रिकेटबाट टेनिसतिर लागिन् ।

‘म क्रिकेट खेल्थेँ । टेनिसमा रुचि थिएन । तर बाबाले टेनिसबारे बुझाउनुभयो । कोचसँग पनि कुरा गर्नुभयो । मलाई टेनिस खेल्न प्रेरणा दिनुभयो । उहाँकै कारणले क्रिकेट छोडेर टेनिसमा लागेँ,’ प्रेरणाले भनिन् ।

प्रेरणा स्कुल पढ्दा टेनिस प्रशिक्षक थिए राजकुमार लामा । लामाले उनलाई कम्पाउण्डमै नेट लगाएर प्राक्टिस गराउन थाले । त्यसपछि नक्साल भाटभटेनी नजिकै रहेको हेम्स टेनिस एकेडेमीमा गएर उनले आधारभूत तालिम लिइन् । बिस्तारै सातदोबाटो कोर्ट, रंगशालामा रहेको कोर्टमा गएर खेल्न थालिन् ।

इखले अघि बढिन्

टेनिस खेल्दै गर्दा प्रेरणाले मेहनत त गर्थिन् नै कहिलेकाँही परिस्थितिसँग पनि संघर्ष गर्नुपर्ने हुन्थ्यो । उनको यात्रामा विभिन्न चुनौतीहरू नआएका होइनन् तर उनले हिम्मत नहारेकैले अहिले यो स्थानमा छिन् ।

टेनिस खेल्न सुरु गरेपछि उनले विभिन्न म्याचहरूमा भाग लिन थालिन् । सुरुमा धेरै म्याचहरू हारिन् । एक समय त हिम्मत पनि हारिन् । निराशाका कारण ८ महिना उनी खेलबाटै बाहिर रहिन् ।

प्रेरणा ती दिन सम्झिन्छिन्, ‘खेल्न छाडेपछि म कमजोर हुँदै गएँ । टेनिस मेरालागि होइन कि जस्तो सोचाइ पनि आएको थियो ।’

तर उनी फेरि हिम्मत बटुलेर खेलमा फर्किइन् । प्रशिक्षक र परिवारको साथ उनलाई थियो नै । मनमा इख पनि थियो । यही इखलाई उनले शक्तिमा बदलिन् । आफ्नो रफ्तारलाई बढाइन् ।

खेल्दै जाँदा प्रेरणाले टेनिसमै भविष्य देख्न थालिन् । टेनिसमै रमाउन थालिन् । हारभन्दा जितको संख्या बढ्दै गयो ।

‘देश चिनाउनका लागि टेनिसजस्तो प्ल्याटफर्म मैले पाउँदिन भन्ने लाग्यो । त्यसपछि ठिक समयमा ठिक निर्णय लिएँ,’ उनले भनिन् ।

प्रेरणाले एउटा चुनौतीको क्षणलाई पार लगाइन्, तर संघर्ष अझै सकिएको थिएन । खेल जित्न मात्र नभएर आर्थिकरुपमा समेत उनले संघर्ष गरेकी छिन् र त्यो क्रम अझै जारी छ ।

‘टेनिस एकदमै महँगो गेम हो, स्पोन्सर चाहिन्छ । मलाई धेरै जनाले सहयोग पनि गर्नुभको छ । तर अझै स्पोन्सरहरू पाएँ भने अगाडि खेल्न सजिलो हुन्छ ।’

आफ्नै खेलमा समेत उनलाई कहिलेकाहीँ के नपुगेको के नपुगेको जस्तो हुन्थ्यो । धेरै कुरा चित्त नबुझ्ने, खेल हार्दा मनोबल गिर्ने । अन्तर्राष्ट्रियस्तरमा खेल्दा उनी सानै थिइन् । त्यसैले पनि खेल हार्दा उनलाई नराम्रो लाग्नु स्वाभाविक थियो ।

‘त्यसबेला भर्खर नेपालमा आफ्नो उमेरको खेलाडीलाई जितिराथेँ । अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्दा गाह्रो लाग्न थाल्यो । यहाँ नहारेको मान्छे त्यहाँ गएर हार्दै जान थालेपछि तनाव हुन्थ्यो,’ प्रेरणाले भनिन्, ‘यहाँ एकदमै हौसला बढेको हुन्छ, उता हार्दै गएपछि जिरोमा पुग्छ । अनि एकदम निराशा उत्पन्न हुन्छ ।’

जब सफलता हात पर्दै जान्छ, अरूको हेर्ने नजर परिवर्तन हुन्छ । सबैले समर्थन पनि गर्न थाल्छन् । त्यसैले अहिले खेललाई हेर्ने नजर परिवर्तन भएको प्रेरणाले बुझेकी छन् । विदेशमा रहेका उनका आफन्तले पनि अहिले प्रशंसा गर्न थालेका छन् ।

महत्वाकांक्षा ठूलो

भनिन्छ नि सपना ठूलै देख्नुपर्छ । प्रेरणाले पनि ठूलै सपना देखेकी छन् । भविष्यको योजना के छ भन्ने प्रश्नमा उनले सिधै भनिन्, ‘वल्र्ड नम्बर वान बन्ने ।’

विश्वकै चर्चित खेलमा पर्ने टेनिसको नम्बर वान खेलाडी बन्ने उनको महत्वाकांक्षा चानचुने होइन । तर उनी आफ्नो अन्तिम लक्ष्य यही भएको बताउँछिन् ।

‘२१ वर्षभित्रमा ग्राण्ड्स्लामको क्वालिफाइङ ड्र मा पुग्ने लक्ष्य छ । त्यसका लागि डब्लुटीएको अंकलाई आधार मानिन्छ । त्यही अंक लिएर ग्राण्ड्लामको क्वालिफाइङ खेल्ने लक्ष्य लिएको छु,’ उनले सुनाइन् ।

२१ वर्षसम्म क्वालिफाइडमा पुग्नसके २४ वर्षभित्र ग्राण्डस्लाम जित्न सकिने प्रेरणाको विश्वास छ ।

‘एउटा न एउटा ग्रान्डस्लाम जित्न सकिन्छ होला । अनि बिस्तारै हाम्रो टिम बन्यो भने ओलम्पिकमा पनि जाने लक्ष्य छ,’ प्रेरणाले आफ्नो लक्ष्य यसरी सुनाइन् ।

अहिले उनले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा जुनियर आइटीएफ टुर्नामेन्टहरू खेलेकी छन् । गत मंसिरमा नेपालमै भएको साग खेलिन् । दुवैमा उनले सफलता पनि प्राप्त गरिन् । आफ्नो लक्ष्यसम्म पुग्नको लागि उनले साग एसियन गेम्सहरूलाइ खुड्किलाको रुपमा लिएकी छिन् ।

‘साग त भर्खर भयो, यो सानो प्रतियोगिता हो । सागपछि एसियन गेम्सको लक्ष्य छ । आफ्नो उत्कृष्ट दिइरहेको छु । १८ वर्षसम्म म जुनियर नै हो । त्यसैले अझै २ वर्ष बाँकी छ मसंग,’ उनले भनिन् ।

तत्कालका लागि साग र एसियन गेम्समा केन्द्रित हुने अनी २१ वर्ष पुगेपछि ग्राण्ड्सलाम क्वालिफाइङ ड्रमा पर्ने उनको लक्ष्य छ । प्रेरणाले खेलकुदमा निरन्तरता दिएर लामो योजना बनाएकी छिन् ।

उनका सामु चुनौतिहरू धेरै नै छन् । नेपाल जस्तो देशमा नियमित प्रतियोगिता नै छैन । खेलाडीहरू पनि थोरै छन् । सुविधाहरूको अभाव छ ।

प्रेरणा भन्छिन्, ‘पक्कै चुनौति छ । टेनिसमा खेलाडीहरू एकदमै थोरै छन् । प्रतिस्पर्धा छैन । १०–१५ जना खेल्छन्, त्यसमा पनि ५ जना राम्रा छन् । उनीहरूलाई जितेर हामी नम्बर वान हुने हो ।’

१३औं सागमा पदक जितेपछि प्रधानमन्त्रीले घोषणा गरेको पुरस्कार पाउँदा भने उनी आभारी छिन् ।

प्रेरणाले बिस्तारै–बिस्तारै अगाडि बढ्ने योजना बनाएकी छिन् । आइटीएफमा प्राप्त सफलतालाई आधार बनाउँदै थप सफलताका सिँढीहरू चढ्ने योजना उनले सुनाइन् ।

प्रेरणालाई अहिले भाटभटेनीले सहयोग गरिरहेको छ । भाटभटेनीले उनलाई मासिक भत्ता दिने गरेको छ, जसले उनको डाइटको लागि केही सहयोग पुगेको छ । यस्तै, विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) मा उनी करारमा आबद्ध छिन् । एनआरएनको सहयोग पनि उनलाई मिलेको छ ।

के भन्छन् बाबु ?

प्रेरणालाई सुरुमा खेल्न एकदमै गाह्रो भएको बुबा पुरुषोत्तम कोइराला बताउँछन् । अहिले सहयोग पनि आउन थालेकाले अलि सजिलो भएको उनको भनाइ छ ।

‘अहिले विराटनगर महानगरले पनि सहयोग गर्छु भनेको छ । भाटभटेनी, एपीएफले सहयोग गरेका छन् । अब उनलाई बाहिर खेल्न ठूला हाउसहरूले सहयोग गर्नुपर्छ,’ उनले भने ।

छोरीलाई नेपालको नम्बर वान बनाउन पुरुषोत्तमले पनि धेरै लगानी गरेका छन् । उनले प्रेरणालाई धेरै पटक विदेश लगेर ट्रेनिङ गराएका छन् । प्रेरणा हाल विश्व जुनियरतर्फको वरीयतामा एक हजार ६९औं स्थानमा छिन् । उनी एक हजार ५० सम्म पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment