
१७ असार, जनकपुरधाम । प्रदेश २ सरकारले २०७७ सालमा वार्षिक सार्वजनिक विदा कटौती गरेर ६ दिनमा झारेको छ ।
संघीय सरकारले दिने सार्वजनिक विदाबाहेक प्रदेश सरकारले निर्णय गरेर पनि प्रदेशभर सार्वजनिक विदा कायम गर्न सक्छ ।
यसअघि २०७६ सालमा संघीय सरकारले दिएको विदाबाहेक ११ दिन सार्वजनिक विदा दिँदा प्रदेश सरकारको आलोचना भएको थियो ।
२०७७ सालमा जनै पूर्णिमा (रक्षा बन्धन) का दिन साउन १९ गते सोमबार र कृष्ण जन्माष्टमीको दिन साउन २७ गते मंगलबार विदा दिएको छ ।
यस्तै, विवाह पञ्चमी पुस ४ गते शनिबार, मधेश आन्दोलन स्मृति पर्व माघ ५ गते सोमबार, तराई होली चैत १७ गते मंगलबार पनि प्रदेश सरकारले विदा दिएको छ ।
पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर दिन यकीन गरी १ दिन विदा दिने निर्णय पनि प्रदेश सरकारले गरेको छ ।
के–केमा गर्यो विदा कटौती ?
२०७६ मा प्रदेश सरकारले सीता जयन्ती, रामनवमीमा १/१ दिन तथा छठ र होली पर्वमा २/२ दिन सार्वजनिक विदा दिएको थियो ।
तर, गत बर्ष दुई दिन छठ पर्वको विदा दिएको प्रदेश सरकारले यसवर्ष एक दिन पनि दिएको छैन । होली पर्वमा १ दिनमात्रै विदा दिएको छ भने सीता जयन्ती गत वैशाख १९ गते नै मनाइसकेका कारण वार्षिक विदाको सूचीमा राखिएको छैन ।
२०७७ सालको रामनवमी भने मलमास परेका कारण २०७८ साल वैशाख ८ गते परेकाले यस वर्षको विदाको सूचीमा नपरेको हो ।
प्रदेश मन्त्रिपरिषदको जेठ १० गतेको बैठकले सार्वजनिक विदाबारे निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । तर निर्णय भने ढिला गरी सार्वजनिक भएको हो ।
प्रतिक्रिया 4