Comments Add Comment

रौतहटका स्वास्थ्यकर्मीले अविश्वास गरेकोप्रति जनकपुर ल्याबको आपत्ति

जनकपुर प्रयोगशालाको फाइल तस्वीर

१६ असार, वीरगञ्ज । रौतहटका स्वास्थ्यकर्मीले आफूमा कोरोना संक्रमण पुष्टि भएपछि प्रयोगशालामाथि नै अविश्वास गरेकामा जनकपुर प्रादेशिक प्रयोगशालाका अधिकारीले असन्तुष्टि जनाएका छन् ।

जनकपुर प्रयोगशालामा असार १५ गते परीक्षण गर्दा रौतहट जिल्ला स्वास्थ्य कार्यालयमा स्वाब संकलन गरिएका २३ बर्षकी महिला, २७, ५२, ५४ र ५२ वर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनीहरु ४ जना स्वास्थ्य कार्यालयका कर्मचारी र एक जना गैर सरकारी संस्थामा कार्यरत स्वास्थ्यकर्मी थिए । तर रौतहटका स्वास्थ्यकर्मीले उक्त रिपोर्टमा विश्वास नगरी रातारात पुनः स्वाब संकलन गरेर हेटौंडास्थित प्रयोगशालामा परीक्षणका लागि पठाए । असार १६ गते हेटौंडा प्रयोगशालाबाट रिपोर्ट आउँदा उनीहरुमा कोरोना संक्रमण नभएको देखियो ।

जनकपुर प्रयोगशालाका अनुसार रौतहटका स्वास्थ्यकर्मीको स्वाब असार ११ गते आइपुगेको थियो । चार दिनपछि रिपोर्ट आउँदा उनीहरुमा कोरोना संक्रमण देखियो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरका निर्देशक रामविनय साहले १४ दिन आइसोलेसन नबस्नका लागि रौतहटका स्वास्थ्यकर्मीले जनकपुर प्रयोगशालालाई अविश्वास गरेको आरोप लगाए । उनले जनकपुर प्रयोगशालाको स्वाब काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा एउटै नतिजा आएकाले ल्याबको रिपोर्टमा शंका नभएको बताए ।

‘पोजेटिभ देखिएपछि उनीहरुले आइसोलेसनमा नगएर रातारात स्वाब संकलन गरेर किन हेटौंडाको ल्याबमा पठाएको ? यहाँको ल्याबको विश्वास थिएन भने पहिल्यै किन हेटौंडा नपठाएको ?’ उनले प्रश्न गरे ।

स्वाब संकलनको मिति अघि पछि भएकाले मात्र जनकपुर र हेटौंडा ल्याबको रिपोर्ट फरक परेको उनको भनाइ छ । ‘हेल्थ वर्करले नै त्यसरी रातारात अर्को ल्याबमा परीक्षण गराउन नहुने हो । त्यसले ल्याबको बारेमा समाजमा गलत सन्देश जान्छ’ निर्देशक साहले प्रश्न गरे, ‘स्वास्थ्यकर्मीलाई पीपीई, मास्क, स्यानिटाइजर दिइएको छ । संक्रमण नहुन के के गर्नुपर्छ भन्ने जानकारी छ, आफूहरु लापरबाही गरेर संक्रमित हुने अनि प्रयोगशालामा प्रश्न उठाउने ?’

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्याय केन्द्रीय प्रयोगशालाले स्वीकृति दिएको संस्थालाई विश्वास गर्नुपर्ने बताउँछन् ।
‘एउटै स्याम्पल एकै दिन दुईवटा ल्याबमा पठाइएको हो र रिपोर्ट फरक आयो भने ल्याबमा प्रश्न उठाउन मिल्छ तर दुई दिनको मात्रै फरक छ भने पनि रिपोर्टमा फरक पर्छ’ उनले भने ।

रौतहटको केसमा राज्यको स्रोतको दुरुपयोग भएको उनको तर्क छ । ‘क्वारेन्टिनमा बसेकाहरुको परीक्षण गर्न नपाएको अवस्था छ । रौतहटका स्वास्थ्यकर्मीले दुईवटा ल्याबमा पीसीआर परीक्षण गराएर राज्यको स्रोतको दुरुपयोग गरेका छन्’ डा. उपाध्यायले भने ।

रौतहटका स्वास्थ्यकर्मीले भने संक्रमण नभएको मान्छेलाई पनि संक्रमित देखाएको आरोप लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश साहले संक्रमण भएको स्थानमा वा संक्रमितहरुको नजिक समेत नपरेका र कार्यालयमा मात्रै काम गर्ने कर्मचारीको रिपोर्ट पोजेटिभ आएपछि पुनः स्वाब संकलन गरेर हेटौंडामा परीक्षणका लागि पठाएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment