+
+
Shares

टुटल र पठाओले सेवा थाले, ट्राफिक प्रहरीले कारबाही थाल्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १३:५४

८ असार, काठमाडौं । लकडाउनका कारण बन्द भएका टुटल र पठाओले सेवा थालेका छन् । सार्वजनिक सवारी बन्द भएकाले राइडिङ सेयर गर्ने एपहरुमार्फत ‘राइडिङ’ हुन थालेको हो ।

यस्तो सेवा सुरु भएलगत्तै ट्राफिक प्रहरीले भने नियमविपरीतभन्दै कारबाही थालेको छ ।

नेपाली राइडिङ सेयर गर्ने कम्पनी टुटलले राइडरसँग कमिसन नलिने गरी सेवा थालेको छ । राइडरले पञ्जा, मास्क, चस्मा र सेनिटाइजर प्रयोग गर्नुपर्ने मापदण्ड तयार गरेर सेवा सुरु गरेको कम्पनीले जनाएको छ ।

पठाओले भने अत्यावश्यक अवस्थामा अस्पताल पुग्नुपर्नेहरूलाई सेवा दिन लागिएको भन्दै राइडिङ सेवा सुरु भएको जनाएको छ। पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतले ११२ जना राइडरलाई मात्रै राइडिङ सेवा दिन अनुमति प्रदान गरिएको जानकारी दिए ।

‘राइडरहरूलाई सेनिटाइजर, प्रोटेक्टिभ मास्क, सुरक्षात्मक कपडा लगाएर मात्रै सेवा दिन भनेका छौं, राइडपछि सवारी पनि स्यानिटाइज गर्छौं,’उनले भने,’अस्पताल जानुपर्नेहरूलाई मात्र सेवा लिन अनुरोध गरेका छौं ।’

सार्वजनिक सवारी नचलेकाले समस्यामा परेकाहरूलाई सघाउने सामाजिक भावनासहित सेवा सुरु गरिएको उनले बताए । ६० हजार राइडर भए पनि सय जनाबाट सेवा दिनुको कारण त्यही भएको उनको भनाइ छ।

जहाँ भेटे पनि कारबाही गर्छौं  : ट्राफिक 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने कुनै पनि हालतमा टुटल-पठाओजस्ता सेवा सञ्चालन गर्न नदिन बताएको छ। महाशाखा प्रवक्ता प्रहरी उपरीक्षक बामदेव गौतमले मोटरसाइलमा परिवारका सदस्यबाहेक अन्यले यात्रा गर्न नपाउने बताए ।झन् व्यावसायिक उद्देश्यले अपरिचित यात्रु र बिरामी ओसार्ने काम गर्दा संक्रमण फैलिने जोखिम हुने उनको भनाइ छ । ‘जहाँ भेट्छौं, त्यहीँ रोकेर कारबाही गर्छौं,’ उनले भने,’हामीलाई यसबारे सूचना आएकाले सबैतिर टुटल र पठाओको राइड सेवा दिइरहेकालाई रोक्न सर्कुलर गरेका छौं ।’

उनले कोभिड-१९को जोखिम बढिरहेको समयमा एउटै सवारीले बिरामी र अन्य यात्रु बोक्दा जोखिम झन बढ्दै जाने भएकाले सरकारी निर्णयअनुसार कारबाही हुने प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?