
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ३० लाख हङकङका नागरिकलाई बेलायतमा बसोबास र नागरिकताको लागि आवेदनको अधिकार दिइने बताएका छन् ।
चीनले हङकङका लागि ल्याएको राष्ट्रिय सुरक्षा कनुनपछि जोन्सनले यस्तो घोषणा गरेका हुन् । चीनको यो कानुनले हङकङका नागरिकको स्वतन्त्रताको उल्लंघन भएको र आफ्नो स्वतन्त्रता गुमाएका नागरिकलाई बेलायतले स्वागत गर्ने उनले बताएका हुन् ।
करिब तीन लाख ५० हजार बेलायती पासपोर्ट भएका र थप २६ लाख अन्य हङकङका नागरिक पाँच वर्षका लागि बेलायत आउन सक्ने जोन्सनले बताएका छन् । त्यसपछि उनीहरुले नागरिकताको लागि आवेदन दिन सक्नेछन् । हङकङमा बेलायती पासपोर्ट बोक्ने मानिसहरुलाई सन् १९८० को दशकदेखि विशेष अधिकार दिइँदै आएको थियो । तर, अहिले यो सुविधा खोसिएको छ । त्यस्ता पासपोर्ट भएका नागरिकलाई केवल छ महिनाको लागि विना भिसा प्रवेशको मिल्नेछ ।
बेलायतले ल्याएको नयाँ योजना अनुसार हङकङका नागरिक वा उनीहरुमा निर्भर परिवारलाई पाँच वर्षका लागि बेलायतमा बसोबास, काम र पढ्न पाउने अधिकार दिइनेछ । त्यसपछि उनीहरुले नागरिकताको लागि आवेदन दिनुपर्नेछ ।
चीनले ल्याएको नयाँ नियम सन् १९८५ मा बलायतसँग गरेको संयुक्त घोषणाको उल्लंघन रहेको जोन्सनले बताएका छन् । सन् १९९७ मा बेलायतले हङकङ चीनलाई सुम्पिएको थियो । त्यसको ५० वर्षसम्म हङकङका नागरिकलाई केही निश्चित अधिकार दिइने सम्झौता चीन र बेलायतको बीचमा भएको थियो । चीनले ल्याएको नयाँ नियमअन्तर्गत हङकङबाट केही मानिस पक्राउ परिसकेका छन् ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4