Comments Add Comment

कोरोना संकटकाबीच पर्यटन उद्योग बचाउने पाँच उपाय

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस र सोको रोकथामका निम्ति अधिकांश मुलुकमा जारी लकडाउनका कारण विगत चार महिनादेखि पर्यटकीय गतिविधि पूर्णरुपमा बन्द छन् । तर पछिल्लो दिनमा विश्व पर्यटन गन्तव्यहरू विभिन्न असहजता एवं चुनौतीका बाबजुद क्रमशः खुल्न थालेका छन् । जारी लकडाउन तथा यात्रा प्रतिबन्ध सहज बनाउने र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल अवलम्बन गरी पर्यटन क्षेत्र पुनःसञ्चालन गर्नेतर्फ विश्वभर प्रयास भइरहेका छन् ।

यस परिप्रेक्षमा नेपालले पनि पर्यटन क्षेत्रमा आबद्ध सेवाप्रदायक तथा सरोकारवालालाई प्रोत्साहित गर्न तथा पर्यटन क्षेत्र पुनःसञ्चालनका निम्ति सहज परिस्थिति सिर्जना गर्न सुरक्षा प्रोटोकल जारी गरेको छ ।

तर गन्तव्यबीचको प्रतिस्पर्धा र पर्यटकहरूसमेत गन्तव्य चयनमा अधिक सजग रहने आगामी नयाँ सामान्य परिस्थितिमा सुरक्षा प्रोटोकल वा निर्देशिका मात्र पर्याप्त हुने छैन । कुनै पनि गन्तव्यको भाग्य एवं भविष्य पर्यटन पुनः सञ्चालनका लागि गरिएको आवश्यक तत्परता, तयारी र व्यवस्थापन कार्यको कौशलता एवं प्रभावकारितामा निर्भर रहने छ ।

विश्वका अधिकांश तथा छिमेकी गन्तव्यहरूसँगको तुलनामा पर्यटन क्षेत्रका व्यवसायी तथा जनशक्तिहरूलाई उपयुक्त राहत प्रदान गराउने एवं पर्यटन पुनरुत्थानको कार्यदिशातर्फ हामी केही पछाडि परिरहेको सत्य हो । समयानुकूल सटिक निर्णय एवं मार्गनिर्देशन दिन नसकिरहेको अवस्था पनि छ । यद्यपि हामीमाझ अनेकौं चुनौती तथा समस्याका बाबजुत भविष्यमा सिर्जना हुन सक्ने अनुकूल परिस्थितिको प्रतीक्षा गर्नु आवश्यक हुन्छ । यसका लागि निम्न उल्लेखित पाँच उपाय प्रभावकारी हुनेछ ।

१) प्रोटोकल कार्यान्वयन प्रभावकारी बनाउन तालिम

नेपाल सरकारले पर्यटन सुरु गर्न ल्याएका प्रोटोकलको व्यावहारिक तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । पर्यटन क्षेत्रमा आबद्ध जनशक्तिहरूको सिप तथा क्षमता अभिवृद्धि गराउनु अहिलेको प्रमुख प्राथमिकता हो । दक्ष तथा सबल जनशक्तिले मात्र नयाँ सामान्य परिस्थितिको पर्यटन सेवा सुरु गर्न सक्ने आधार एवं सुनिश्चितता तयार गर्नेछ।

२) सुरक्षित सेवासम्बन्धी प्रमाणीकरण

अहिले धेरैजसो गन्तव्यहरूले वल्ड ट्राभल एण्ड टुरिजम काउन्सिलद्वारा जारी गरिएको विश्वव्यापी सुरक्षासम्बन्धी ‘सेफ ट्राभल्स’ नामक प्रमाणीकरण छाप आत्मसात् गरिरहेका छन्।

प्रोटोकल जारी गरेसँगै नेपाल सरकार वा आधिकारिक निकायले आवश्यक मापदण्ड निर्धारण गरी स्वच्छता एवं स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन सुनिश्चित गराउन सक्ने होटल, रेस्टुरेण्ट, एयरलाइन्स्, यातायात, इत्यादि सेवा प्रदायक संस्थाहरूलाई आधिकारिक प्रमाणीकरण गर्नुपर्छ । यसले भविष्यमा यात्रा गर्ने सेवाग्राही (पर्यटकहरू) को विश्वास बढ्ने वातावरण सिर्जना हुनेछ ।

त्यसैगरी, गन्तव्यको व्यवस्थापन तयारी र कार्य सम्पादन क्षमता मापदण्ड अनुरुप उपयुक्त ठहर गरी क्रमबद्धरुपमा देशका गन्तव्य (उदाहरणका लागि धुलिखेलबाट सुरु गरी क्रमशः नगरकोट अनि देशका अन्य गन्तव्य) चलायमान बनाउने कार्यदिशातर्फ पहल गर्न आवश्यक देखिन्छ । यस कार्यका लागि मन्त्रालय, पर्यटन बोर्ड र पर्यटक प्रहरीलगायत अन्य सम्बन्धित निकायसहित कार्यदल बनाई आवधिक अनुगमन र नियन्त्रण गर्ने संयन्त्र पनि परिचालन गर्नुपर्छ।

३) उड्डयन क्षेत्रको क्रमिक पुन:आरम्भ

सुरक्षासम्बन्धी आवश्यक प्रोटोकल तथा मापदण्ड पालना गर्दै क्रमबद्ध रुपमा आन्तरिक उडानबाट सुरु गरी नेपाली उड्डयन क्षेत्र पुनः सुरु गर्नु पर्यटन पुनःसञ्चालन तथा पुनरुत्थान अभियानको प्रवेशमार्ग खोल्नु सरह हो । लकडाउन अवधिभर गरिएका सयौं ‘रिपेट्रिएसन फ्लाइट्स’ को सफल व्यवस्थापनबाट हामीलाई यस नयाँ परिवेशमा उडान सञ्चालनको व्यावहारिक ज्ञान र आवश्यक अभ्यास भइसकेको छ ।

अब यथाशीघ्र आन्तरिक उडान सञ्चालन गरी क्रमिक रुपमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय उडानको सहजता र अपेक्षित माग हेरी यसको सञ्चालनबारे नेपाल नागरिक उड्ड्यन प्राधिकरणले आवश्यक योजना पहिल्याउनु र सोको औपचारिक सूचना प्रवाह गर्नु आवश्यक छ ।

४) यात्रासहज बनाउन योजना तर्जुमा

कोभिड १९ संक्रमण नियन्त्रण उपायहरूलाई व्यवस्थित रुपमा अवलम्बन गराउदैं यात्रा प्रतिबन्ध खुकुलो बनाउन योजना तर्जुमा गर्ने उपयुक्त समय अहिले नै हो । झन् यस नयाँ परिवेशमा पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न ई-भिसा वा आगमनसँगै भिसा प्रदान गर्ने, आगमन तथा बहिर्गमन एयरपोर्ट औपचारिकतालाई सहज र सुरक्षित बनाउन आवश्यक पूर्वाधारको निर्माण गर्नेलगायत यात्रा सम्बन्धित कार्यलाई सहज बनाउन आवश्यक पहल गर्नुपर्छ ।

५) गन्तव्यको भिजिविलिटी अभिवृद्धि

नेपालले संकटका बेलामा पनि आफ्नो स्रोत बजारहरूमा गन्तव्यको भिजिविलिटी अर्थात् समसामयिक सूचना र आकर्षणलाई प्रवाह गरिरहनुपर्छ । जसले गर्दा संकटको बेलामा पनि नेपाल भ्रमण गर्न इच्छुक पर्यटकलाई गन्तव्यप्रति प्रोत्साहित गरिरहन सहज हुन्छ । यसले पर्यटकलाई अनुकूल समयमा भ्रमणका लागि अभिप्रेरित गरिराख्छ । अहिलेको अवस्थामा नेपालले गन्तव्यको प्रभावकारी भिजिविलिटीका लागि निम्न कार्यहरूमा यथाशीघ्र जोड दिनुपर्ने आवश्यकता देखिन्छ ।

  • प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यम, सामाजिक सञ्जाल तथा डिजिटल मार्केटिङ च्यानल र पर्यटन बोर्डसँग आबद्ध अन्तर्राष्ट्रिय मिडिया, संघसंस्था एव‌ं अन्य माध्यममार्फत् नेपालको यात्रा र पर्यटनसम्बन्धी समसामयिक सूचना निरन्तर तथा आवधिक रुपमा प्रचार-प्रसार गर्ने ।
  • अबको नयाँ परिवेशमा सुरक्षा प्रोटोकललाई उच्च प्राथमिकतामा राखी स्तरीय सुविधा प्रदान गर्न तथा पर्यटन पुनःसञ्चालनका निम्ति नेपालको तत्परता, तयारी र दृढता झल्कने भिडियो सामग्रीहरूमार्फत नेपालको प्रवर्धन गर्ने ।
  • विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारमा ट्राभल ब्लगर्स, मिडियाकर्मी, सेलिब्रेटी, नेपाल प्रवर्द्धन गर्ने आउट्बाउण्ड टुर अपरेटर्स, प्रवासी नेपाली तथा नेपाली डायस्पोरालगायत नेपाललाई माया गर्ने अन्य व्यक्ति समावेश गरी एउटा “फ्रेन्ड्स अफ नेपाल” नामक सञ्जालमार्फत् ‘नेचुरल एम्बास्डर्स’ निर्माण गर्न सकिन्छ । जसले नेपाल गन्तव्यको सकारात्मक सन्देश, आकर्षण, समसामयिक सूचनालगायत पर्यटकलाई पुनः स्वागत गर्न नेपालको तत्परता, तयारी र दृढता झल्कने सामग्रीको प्रचार प्रसारगरी गन्तव्यको भिजिविलिटी बढाउन सहयोग गर्नेछन् ।

माथि उल्लेखित विषय उल्लेख गर्दागर्दै संकटको घडीलाई एउटा सर्वोतम अवसरको रुपमा लिई आवश्यक नीतिगत सुधार र उत्कृष्ट रणनीति बनाउने समय पनि यही हो भन्ने बिर्सनुहुँदैन ।

नेपाली पर्यटनको सुनौलो भविष्य निर्माण गर्ने अभियानको रुपमा यो समयलाई उपयोग गर्न सक्नुपर्छ । यस कार्यमा पर्यटनको नेतृत्व पङ्तिमा दृढ अठोट तथा आन्तरिक प्रेरणा जागृत हुनु आवश्यक छ।

पर्यटनसँग सम्बन्धित विभिन्न तहमा आबद्ध सरकारी निकाय, पर्यटन बोर्ड तथा संघसंस्था, निजी क्षेत्रका सेवा प्रदायक व्यवसायी, गन्तव्यमा आबद्ध स्थानीय समुदायलगायत सम्पूर्ण सरोकारवाला एकजुट भई आपसी सहयोग, सहकार्य र समन्वयलाई अभिवृद्धि गरी अघि बढेमा मात्र दिगो पर्यटन विकासको अवधारणा सम्भव हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment