Comments Add Comment

मनसुनमा सताउने १० संक्रामक रोग

अहिले यसै पनि कोरोनाको भय छ । कोरोना भाइरसको सम्भावित संक्रमणको खतराकै कारण खुला रुपमा हिँडडुल गर्न, यात्रा गर्न सहज छैन । यस्तो अवस्थामा अस्पताल धाउनु अरू कठिन हुन्छ । तर गर्मीयाम एवं मनसुनसँगै अरू किसिमको विभिन्न संक्रामक रोग फैलिने भय रहन्छ।

अर्कोतिर यस मौसममा हाम्रो पाचनयन्त्र कमजोर हुन्छ । खानेकुरा सहजै पच्दैन । अर्कोतिर खानेकुरा चाँडै सड्ने, गल्ने हुन्छ। बासी खानेकुरा मात्र होइन, तारेको, भुटेको, मसलेदार खानेकुराले पनि पाचन प्रणालीमा समस्या निम्त्याउँछ ।

गर्मी र झरीका कारण लामखुट्टे,  झिङ्गा, साङ्ला समेत फैलन्छ। यसले रोगको संक्रमण अरू बढाउने भय रहन्छ । त्यसैले वर्षायाममा स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनुपर्ने हुन्छ । यो सिजनमा के-कस्ता स्वास्थ्य समस्या आउन सक्छ त ?

१. भाइरल ज्वरो

वर्षायाम र गर्मीको यो याममा धेरैलाई सताउन सक्छ, भाइरल ज्वरोले । खासगरी बालबच्चा, रोगी, बुढाबुढीलाई यसले थप समस्यामा पार्न सक्छ। तापमानमा हुने उतारचढावसँगै उनीहरूको शरीरमा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । यसले उनीहरूलाई रुघा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखापर्छ।

२. डेङ्गु 

गर्मीको याममा सबैभन्दा जोखिम हुन्छ, डेङ्गुको । यो एडिज वा इजिप्टी लामखुट्टेको टोकाइबाट हुने संक्रमण हो । खासगरी यसले दिउँसोको समयमा टोक्छ । डेङ्गु संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले अरूलाई टोक्दा यसको संक्रमण सहजै फैलन्छ । डेङ्गुको संक्रमण भएमा ज्वरो आउने, टाउको दुख्ने जस्ता लक्षण देखापर्छ ।

३. मलेरिया

मलेरिया पनि गर्मीयाममा धेरैलाई सताउने संक्रामक रोग हो । लामखुट्टेकै टोकाइबाट मलेरिया लाग्ने जोखिम हुन्छ । मलेरियाको लक्षण थकान, काम ज्वरो आउनु आदि हो । यदि बालबच्चामा यस्तो लक्षण देखिए सचेत हुनुपर्छ ।

४. हैजा

यस सिजनमा हैजाको जोखिम पनि उत्तिकै हुन्छ । हैजा लागेमा पखला लाग्ने र वान्ता हुन्छ । यसले गर्दा शरीरमा तरल पदार्थको गम्भीर अभाव हुन्छ । यो समस्या प्रदूषित खाना र पानीमा रहेको व्याक्टेरियाको कारण हुन्छ । सरसरफाइको कमीले यस्तो समस्या निम्त्याउन सक्छ ।

५. टाइफाइड

यो दूषित पानी र भोजनको कारण हुने समस्या हो । टाइफाइड भएमा लामो समयसम्म ज्वरो आउने गर्छ । यसैगरी पेटमा तीव्र दुखाइका साथै टाउको दुख्ने समस्या हुन्छ ।

६. चिकनगुनिया

यो लामखुट्टेकै कारण हुने समस्या हो । एक किसिमले यो डेङ्गु जस्तै हुन्छ । चिकनगुनिया भएमा जोर्नी दुख्ने, ज्वरो आउने गर्छ। लामखुट्टेको माध्यमबाट यो संक्रमण एक व्यक्तिबाट अर्कोमा फैलिन्छ । यसको कुनै ठोस उपचार छैन । त्यसैले यसबाट सुरक्षित रहनु नै राम्रो विकल्प हो । वा चिकनगुनिया भएपछि आराम गर्नु र भरपुर तरल पदार्थ लिनुपर्छ ।

७. पेटको संक्रमण

गर्मी र झरीको सिजनमा पेटको संक्रमण हुने जोखिम बढी हुन्छ । खासगरी बालबच्चामा यस्तो समस्या देखिन्छ । दूषित पानी वा खानाको माध्यमबाट पेटमा संक्रमण हुन्छ । वान्ता हुनु, पखला लाग्नु, ज्वरो आउनु, टाउको दुख्नु यसको लक्षण हुन् ।

८. जन्डिस

जन्डिस पनि प्रदूषित खाना र पानीकै कारण फैलिने संक्रमण हो । यसको लक्षण भनेको आँखा र नङ पहेँलो हुनु, खानेकुराको स्वाद नपाउनु, कमजोरी महसुस गर्नु हो । जन्डिसको लक्षण देखिएमा चिकित्सकसँग भेट्नैपर्छ । किनभने यो निकै घातक रोग हो।

९. लेप्टोस्पाइरोसिस

यो रोग पनि दूषित पानीकै कारण लाग्न सक्छ । तीव्र ज्वरो आउनु, कम्पन हुनु, टाउको दुख्नु यसका लक्षणहरू हुन् । यसले कलेजोलाई असर गर्छ। यस रोगलाई पनि नजरअन्दाज गर्नुहुँदैन ।

१०. हेपटाइटिस ए

यसले कलेजोलाई एकदमै प्रभावित बनाउँछ । दूषित भोजन र पानीको प्रयोगले यो समस्या निम्त्याउँछ । ज्वरो आउनु, वान्ता हुनु यसको सुरुवाती लक्षण हुन् ।

गर्मी र झरीयाममा संक्रामक रोगले सताउने भय हुन्छ । खासगरी दूषित खाना र पानीको कारण विभिन्न किसिमको संक्रमण हुने भय रहन्छ । यसैगरी लामखुट्टेको टोकाइबाट पनि यस्ता रोगहरूले सताउन सक्छ ।

त्यसैले यस सिजनमा ताजा र पोषिलो खानेकुरा सेवन गनुपर्छ । खानपानमा उचित सतर्कता अपाउनुपर्छ । लामखुट्टे, झिँगा आदिको संक्रमणबाट बच्नका लागि उचित सावधानी अपनाउनुपर्छ । यदि कुनै पनि रोगको लक्षण देखिएमा सोहीअनुसार उपचारको विधि अपनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment