Comments Add Comment

छाङरुमा सडक मर्मत गर्दै सशस्त्र प्रहरी, तीन बीओपी थपियो

१८ असार, काठमाडौैं । सशस्त्र प्रहरी बलको छाङरुमा रहेको बोर्डर आउट पोष्ट (बीओपी) ले छाङरुदेखि तिङ्कर भन्ज्याङ जाने बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीका निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको टोलीले करिब ११ किलोमिटरको गोरेटो बाटो मर्मत गरेको हो ।

स्थानीयवासीसँगको सहकार्यमा सुख्खा तथा हिउँ पहिरो हटाएर गोरेटो बाटो सुचारु गराइएको सशस्त्र प्रहरीले जनाएको छ । सुख्खा पहिरोका कारण लामो समयदेखि उक्त गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो ।

सशस्त्रले बाटो सुचारु गराएपछि स्थानिय जनता खुशी भएका छन् । बाटो मर्मतपछि सदरमुकाम बसाइँ सरेर आएका तिंकरका बासिन्दालाई गाउँ फर्कन र चौपाया तथा खाद्यान्न लैजान समेत सहज भएको छ ।

यस्तै, १७.४५ किलोवाटको छाङरु जलविद्युत आयोजनाको नहर समेत सशस्त्र प्रहरीले मर्मत गरेको छ । हिउँ पहिरोका कारण ठाउँ ठाउँमा भत्किएकोे नहरको हिउँ पन्छाएर जलविद्युत सेवा सुचारु गर्न सशस्त्र प्रहरीले सहयोग गरेको हो ।

तीन बीओपी थपियो

सशस्त्र प्रहरीले दार्चुलामा तीन वटा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ ।

भारतले कालापानी, लिम्पियाधुरा र लिपुलेकको नेपाली भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि सरकारले दार्चुलाको सीमा सुरक्षामा उपस्थिति बढाइरहेको छ । त्यही क्रममा बिहीबार एकैदिन दार्चुलामा तीन वटा बीओपी स्थापना गरिएको हो ।

सशस्त्र प्रहरी बलको मुख्यालय, हल्चोकका एक अधिकृतका अनुसार दार्चुलाको मालिका अर्जुन गाउँपालिका–४, जोलजिबी, लेकम गाउँपालिका–३, लाली र ब्यास गाउँपालिका–२, दुम्लिङमा बीओपी राखिएको छ ।

यसअघि सरकारले कालापानीबाट केही वर छाङरुमा बीओपी राखिसकेको छ । तीन वटै बीओपीको सशस्त्र प्रहरी बल नम्बर ७, बैध्यनाथ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment