Comments Add Comment

पर्सामा ग्यास लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु

१९ असार, वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–२ दशौतामा ग्यासको पाइप लिक भएर आगलागी हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । आगलागीमा परी ७५ वर्षीया शारदा देवी कुशवाहाको मृत्यु भएको हो ।

आगलागीबाट गम्भीर घाइते शारदाको उपचारको क्रममा भारतीय सीमावर्ती इनर्वा बजारमा बिहीबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

स्थानीय गणेश साह कानुको घरमा ग्यास लिक भएर आगलागी भएको थियो । आगलागीमा परी गणेशका २२ वर्षका छोरा उमेश साह र २० वर्षकी बुहारी मनिता देवी घाइते छन् । घाइतेहरुको सीमावर्ती भारतको इनर्वास्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

बुधबार राति खाना पकाउने क्रममा ग्यासको पाइप लिक भई आगलागी भएको थियो । भान्छामा पेट्रोल पनि राखिएका कारण आगोले क्षण भरमै ठूलो रुप लिएको थियो ।

प्रहरीका अनुसार आगलागीपछि घरमा रहेका अरु भाग्न सफल भएपनि वृद्धा उमेरका कारण शारदा भाग्न नसक्दा उनी गम्भीर घाइते भएकी थिइन् ।

आगलागीबाट लत्ताकपडा, फर्निचर, अन्न गरी करिब दुई लाख रुपैयाँ भन्दा बढीको धनमाल पनि जलेर नष्ट भएको अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment