Comments Add Comment

डिसेम्बरसम्म सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि

१९ असार, काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम सक्ने नयाँ लक्ष्य राखिएको छ । त्यसपछि संचालन पूर्वको तयारीमा करवि ३ महिना लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने उनले जानकारी दिए ।

उपकरण र जनशक्ति रोकिएपछि काम प्रभावित

पर्यटन मन्त्री भट्टराईका अनुसार यो विमानस्थलमा अहिले उपकरणहरु जडानको काम भइरहेको छ । तर, कोरोनापछि भएको लकडाउनका कारण विदेशी प्राविधिक कामदार उतै रोकिएका छन् ।

कतिपय उपकरणसमेत आयात गर्न नपाएपछि काम प्रभावित भएको उनको भनाई छ । यद्दपी यस अवधिमा विमानस्थल निर्माणमा ३ प्रतिशत भौतिक प्रगति थप भएको मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अहिले गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । नयाँ मिति अनुसारसमेत यो आयोजना राष्ट्रिय गौरवका आयोजनामध्ये पहिलोपटक सम्पन्न हुने आयोजनाका रुपमा लिने गरी निर्माणलाई तिब्रता दिने प्रतिवद्धता पर्यटन मन्त्री भट्टराईले गरे ।

के के काम जारी छ अहिले ?

गौतमबुद्ध विमानस्थलको भौतिक संरचनाको काम करीव सम्पन्न भएको छ । मन्त्रालयका अनुसार लकडाउनकै बीच धावनमार्ग र पार्किङ जोड्ने लिंक ट्याक्सी-वे को निर्माणको काम सम्पन्न भएको छ ।

रनवे लाइट जडानको काम समेत अन्तिम चरणमा रहेको छ । टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान सम्बन्धी कार्य जारी रहेको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ ।

यसबीचमा मार्वल, टायल राख्ने तथा रंगरोगनको काम समेत भइरहेको छ । मेसिनरी र यन्त्र उपकरण आउने क्रम शुरु भएको मन्त्रालयको भनाइ छ । यसबीचमा ५ करोड रुपैयाँ मुआब्जाको भुक्तानीमा समेत खर्च भएको तथ्यांक छ । विमानस्थल निर्माणमा अहिले पनि २९ चिनियाँसहित २७५ कामदार खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment