Comments Add Comment

मेलम्ची सुरुङको परीक्षण सुरू, डाइभर्सनमार्फत हालियो पानी

२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षण थालिएको छ । यसका लागि सुन्दरीजलसम्मको २७ किलोमिटर लामो सुरुङमा पानी हाल्न थालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

यसबारे जानकारी दिन खानेपानी मन्त्री विना मगरले ३ बजे मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेकी छन् । निकै लामो समय अन्योलमा परेको मेलम्ची आयोजनामा अहिलेसम्म हेडवर्क्स तयार भएको छैन । तर डाइभर्सन सुरुङमार्फत मेलम्ची खोलको पानी कफर ड्याम बनाएर भित्र हालिएको हो ।

अब योसँगै आयोजनाको सुरुङको परीक्षण प्रक्रिया थालनी भएको  छ । यसपछि एकपटक पानी खाली गरेर सुरुङको अवस्था जाँच गरिनेछ । त्यसपछि मात्रै व्यवसायिक रुपमा पानी ल्याउने गरी फेरि सुरुङमा पानी भर्न सुरु गरिने बताइएको छ ।

इटालियन कम्पनी सीएमसी गएपछि आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रोले काम गरिरहेको छ ।

तत्कालै खस्दैन धारामा पानी

सरकारले भनेअनुसार असारमै सुन्दरीजल आइहाले पनि उपभोक्ताले तत्कालै मलेम्चीको पानी पाउने अवस्था हुँदैन । मेलम्चीको पानी वितरण गर्न सहरका धेरै भागमा नयाँ लाइन जोडिएका छन् । आठवटा नयाँ ट्यांकीमा पानी पुर्‍याउन ठूला पाइपहरू जोडिएका छन् ।

ट्याङ्की र वितरण पाइपलाइनको सफाइ एवं परीक्षण गर्न नै तीन महिनाभन्दा बढी लाग्ने अनुमान छ । चक्रपथ आसपासका एक तिहाइ क्षेत्रमा पुरानै पाइपबाट मेलम्चीको पानी वितरण हुनेछ । महाराजगञ्ज, धुम्बाराही, सामाखुसी, कलंकी क्षेत्रमा नयाँ पाइप राख्न बाँकी छ । पुरानो पाइपलाइन निकै पुरानो भएकाले ‘लिकेज’को समस्या पनि ठूलो छ ।

सुन्दरीजलमा पानी खसाल्नासाथ उपभोक्ताको घरमा पानी आइहाल्ने अवस्था भने छैन । सरकारले आयोजनाको दोस्रो चरणको निर्माण कार्य सुरु गर्न आगामी वर्ष ५ अर्ब ४६ करोड विनियोजन पनि भएको छ । काठमाडौं उपत्यका खानेपानी र ढल निकास व्यवस्थापनका लागि ५ अर्ब ८९ करोड पनि छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment