Comments Add Comment

नेकपा नेता नेपाल र चिनियाँ राजदूतबीच भेटवार्ता

२२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र शक्ति संघर्ष चर्किएको बेला नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ नेकपा विदेश विभाग प्रमुख नेपाललाई भेट्न राजदूत होउ उनकै निवास कोटेश्वर पुगेकी थिइन् । नेकपा फुटको संघारमा पुगेको चर्चा चलिरहेको बेला चिनियाँ राजदूतको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले चिनियाँ राजदूत र नेता नेपालबीच भेट भएको पुष्टि गरे । तर, भेटमा भएका कुराकानीका विषय भने खुलेको छैन । यद्यपि चिनियाँ राजदूतले नेकपाको आन्तरिक विवादबारे चासो राखेको बताइएको छ ।

गत वैशाखमा पनि नेकपाभित्र आन्तरिक कलह बढ्दा राजदूत होउले सक्रियता देखाएकी थिइन् । त्यसबेला उनले राष्ट्रपतिदेखि नेकपाका शीर्ष नेताहरुसम्मलाई छुट्टाछुट्टै भेटेकी थिइन् । त्यसबेलादेखि नेकपाको विवाद मिलाउन भूमिका खेलेको भनेर राजदूत होउमाथि आरोप लाग्दै आएको छ । तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा पनि पहल गरेको भनेर चीनमाथि आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment