Comments Add Comment

टिकटक सीईओले लेखे भारतलाई पत्र, प्रयोगकर्ताका डाटा चीनलाई नदिएको दाबी

भारतले प्रतिबन्ध लगाएसँगै चिनियाँ सोसल मिडिया एप टिकटकमाथि बेइजिङसँगको दुरी बढाउन दबाब परेको छ ।

रोयटर्सका अनुसार टिकटकका सीईओ केभिन माएरले भारत सरकारलाई एक पत्र लेख्दै भारतीय प्रयोगकर्ताहरूका डाटा तथा भारतको सुरक्षा तथा सार्वभौमिकताका विषयमा आफूहरू सचेत तथा संवेदनशील रहेको जनाएका छन् ।

उनले चीन सरकारले टिकटक प्रयोगकर्ताका डाटाहरू उपलब्ध गराउन अहिलेसम्म कुनै पनि आग्रह नगरेको र यदि आग्रह गरिहालेमा पनि अस्वीकार गरिने जनाएका छन् ।

चीनसँगको सीमा विवादमा हिंस्रक झडप भएसँगै भारतले टिकटकसँगै वि-च्याट तथा युसी ब्राउजरलगायतका विभिन्न ५९ वटा चिनियाँ एपहरूमाथि प्रतिबन्ध लगाएको थियो ।

भारत सरकारलाई लेखेको पत्रमा टिकटकका सीईओले भनेका छन्, ‘मैले निश्चितरुपमा भन्न सक्छु कि चीन सरकारले भारतीय टिकटक प्रयोगकर्ताका डाटाहरू उपलब्ध गराउन अहिलेसम्म कुनै पनि अनुरोध गरेको छैन । भारतीय प्रयोगकर्ताका डाटाहरू सिंगापुरमा रहेको सर्भरमा सुरक्षित छन् । यदि भविष्यमा प्रयोगकर्ताका डाटाहरू दिनका लागि चीन सरकारले आग्रह गर्‍यो भने पनि टिकटक कम्पनीले त्यस्तो अनुरोध स्वीकार गर्नेछैन ।’

स्मरणरहोस्, चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटक चीन आफैँमा भने चलाउन पाइँदैन । विश्वमा टिकटकको बढ्दो लोकप्रियतासँगै यसलाई चीनबाट बाहिर निस्किनका लागिसमेत दबाब परिरहेको छ ।

सन् २०१७ मा सुरु भएको टिकटक सबैभन्दा तीव्र गतिमा लोकप्रियता हासिल गर्ने एपहरूमध्ये एक हो । विश्वमा सबैभन्दा धेरै टिकटक प्रयोगकर्ता रहेको देश भारत हो भने दोश्रो स्थानमा अमेरिका रहेको छ ।

भारत सरकारलाई लेखेको पत्रमा टिकटकका सीईओले यस क्षेत्रमा एक अर्ब डलर लगानी गर्ने कम्पनीको योजना रहेको भन्दै अहिले पनि ३५ सय जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको र १४ वटा भाषामा उपलब्ध रहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रा प्रयोगकर्ताको गोपनीयता तथा भारतको सुरक्षा र सार्वभौमिकता हाम्रा लागि अत्यन्तै महत्वपूर्ण छन् । हामीले भारतमा हाम्रो डाटा सेन्टर बनाउने यसअघि नै घोषणा गरिसकेका छौं ।’

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment