Comments Add Comment

एक हजारभन्दा बढी श्रमिकले लिए विदेश फर्किन श्रम स्वीकृति

२४ असार, काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् ।

सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति जारी भएको छ ।

वैदेशिक रोजगार विभागको ताहाचलस्थित कार्यालयका अनुसार विहीबार ५ जना र शुक्रबार दुई जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।

ती दिनहरुमा सर्भरमा समस्या भएर स्वीकृति दिन नपाएपछि शनिबार पनि विभागको तहाचलस्थित कार्यालय खोलिएको थियो । शनिबार ४७ जनाले पुनः श्रम स्वीकृति पाएका थिए ।

कार्यालयबाट आइतबार एकैदिन ३४७ जना श्रमिकले विदेश जान अनुमति पाएका थिए । सोमबार यस्तो संख्या बढेर ४१० पुगेको थियो । मंगलबार पनि ३१५ जनाले पुनः श्रम स्वीकृति पाएका छन् ।

ताहाचलबाट बुधबारबाट वैधानिकीकरण शाखाबाट सेवा प्रवाह (नयाँ बाहेक) सुरु हुने भएको छ । अनलाइनमार्फत रीत पूर्वक फारम भरी पाइने टोकन अनुसारको मितिमा कार्यालयमा सेवा लिन सकिने बताइएको छ । अहिले  नयाँ कामदारलाई भने विदेश जान श्रम स्वीकृति दिइएको छैन ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो ।

सरकारले त्यसकै आधारमा वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुनः श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउने बाटो खुला गरेको छ ।

सरकारले वैदेशिक रोजगारी खुला गरेपनि नियमित हवाई उडान भने साउन ७ गतेसम्म बन्द गरेको छ । विभागका महानिर्देशक कुमार दाहाल जानैपर्ने अवस्थाका कामदारहरु अनुमति लिएर नेपालबाट उद्धार उडान गर्ने विमानमा जानसक्ने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment