
२४ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता र कार्यकर्ताले पार्टी नेतृत्वलाई मिल्न दबाब दिँदै बुधबार पनि धर्ना बसेका छन् ।
केन्द्रीय सदस्यहरुको अगुवाईमा नेता र कार्यकर्ताले पार्टी कार्यालयमा धर्ना दिएर नेतृत्वलाई मिल्न दबाब दिएका हुन् ।
पार्टी कार्यालय धुम्बाराहीको हलमा भेला भएका नेताहरुले ‘कम्युनिस्ट पार्टी नीतिप्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलालको भनाइलाई ब्यानरमा राखेर धर्ना दिएका छन् ।
उनीहरुले ‘हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर’ भन्ने नारा लेखेको प्लेकार्ड पनि बोकेका छन् । केन्द्रीय सदस्य ठाकुर गैरेले नेताहरुलाई मिल्न दबाब दिँदै केन्द्रीय नेताहरुको अगुवाईमा धर्ना दिएको बताए ।
स्थायी कमिटी बैठकमा केपी शर्मा ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र विवाद बढेको छ ।
त्यसपछि बैठक स्थगित गरेर सहमति खोज्न पार्टीका अध्यक्षद्वय केपी शर्मा आली र पुष्पकमल दाहाल प्रचण्डबीच पटक पटक बैठक बसे पनि सहमति हुन सकेको छैन ।
यसअघि ५ दिनअघि पनि केन्द्रीय नेताको अगुवाईमा पार्टी कार्यालयमा धर्ना दिएका थिए । आजको धर्ना पनि त्यसकै निरन्तरता भएको नेता गैरेले बताए ।
प्रतिक्रिया 4