
२४ असार, डोटी । अछामको मंगलसैन नगरपालिका–७ घर भई भारतको पुनामा बस्दै आएकी एक किशोरीलाई श्रीमान् र ससुराले कुटपिट गरेको भिडियो केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय, अछामले पनि चासो देखाएको छ । प्राप्त विवरणअनुसार मंगलसेन नगरपालिका–३ लाछिमना घर भएका कालु भुलको परिवार भारतको पुनामै बस्दै आएको छ ।
उनका १६ वर्षे छोरा दिनेश भुल र पीडित किशोरीबीच प्रेम सम्बन्धपछि एक वर्षअघि बिहे भएको थियो । बिहेपछि दुवै जना भारत गएका थिए । तर अनेक बहानामा किशोरीलाई यातना दिन थालिएको उनका आफन्तहरू बताउँछन् ।
अहिले भाइरल भएको भिडियो भने चोरीको आरोपमा भएको कुटपिटको हो । कालु भुलले बुहारीलाई कुटपिट गरेको भिडियो पीडितका श्रीमान्ले बनाएका थिए ।
कुटपिटका क्रममा बालिकाले गुहार मागेपछि उनले मुखमा कपडा कोचेर कुट्न आग्रह गरेको सुनिन्छ । काम गर्ने घरमा मालिक्नीको लिपिस्टिक र घडी चोरेको आरोपमा उनीमाथि कुटपिट भएको हो । मालिक्नीलाई देखाउन कुटपिटको भिडियो खिचिएको ससुरा कालु बताउँछन् ।
मरणासन्न हुनेगरी कुटपिट गरेपछि बालिकालाई माइती पक्षको जिम्मा लगाइएको छ । उनी भारतमै रहेका काकासँग बस्दै आएकी छन् । साथै, माइती पक्षलाई एक लाख ५० हजार रुपैयाँ उपचार खर्च दिएको ससुरा कालु भुलले बताए ।
यो भिडियोबारे चासो देखाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक योगेन्द्रसिंह थापा भन्छन्, ‘घटना भारतमा भएको हुँदा छानबिन गर्न समस्या भएको छ ।’ तर पीडितका आफन्तहरूसँग समन्वय गरेर भारतमा घटना भएको नजिकको प्रहरी कार्यालयमा उजुरी दिन सल्लाह दिइएको बताए ।
उनले अघि भने, ‘हामीकहाँ निवेदन दिनुहुन्छ भने हामी प्रहरी विभागमा पठाउँछौं, तर प्रक्रिया लामो हुन्छ ।’ अछामकी महिला अधिकारकर्मी पशुपति कुँवरले किशोरीको उद्धार गर्न र पीडकलाई सजाय दिलाउन भारतमा रहेका प्रवासी नेपाली संगठनहरूसँग छलफल भइरहेको बताइन् ।
उनले भनिन्, ‘कस्तो कानुनी बाटो अपनाउन सकिन्छ भनेर प्रहरी, कानुन व्यवसायी र अधिकारकर्मीहरूबीच छलफल भइरहेको छ ।’
प्रतिक्रिया 4