Comments Add Comment

प्रचण्डलाई प्रधानमन्त्रीको चुनौती : सडकको प्रदर्शन किन रोक्नु ? बहुमतले कारबाही गर्नुस्

Photo Credit : फाइल फोटो

२४ असार, काठमाडौं । आन्तरिक विवाद समाधानको प्रयासमा  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच केही दिनदेखि ‘वान अन वान’ वार्ता हुँदै आएको छ । तर बुधबार भएको वार्ता यसअघि जस्तो सकारात्मक नभएको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष प्रचण्ड अपराह्न बालुवाटार पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको समर्थनमा सडकमा भइरहेको प्रदर्शन रोक्नुपर्ने बताएका छन् ।

स्रोतका अनुसार प्रचण्डले बुधबार विहानै पार्टी महासचिव विष्णु पौडेललाई पनि सडकमा भइरहेको प्रदर्शनमा सहभागी नहुन सर्कुलर गर्न आग्रह गरेका थिए । तर प्रधानमन्त्री सहमत नभएका कारण सर्कुलर जारी भएन ।

अपराह्न भएको भेटमा प्रचण्डले सडक प्रदर्शन रोक्नुपर्नेमा जोड दिएका थिए । तर ओलीले आफ्ना नेतालाई कारबाही गर्न लागेपछि युवा र विद्यार्थीहरूले प्रदर्शन गरेको भन्दै रोक्नु नपर्ने बताएका छन् ।

१६ असारमा बसेको स्थायी कमिटी बैठकमा नेकपामा वरिष्ठ नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेपछि प्रधानमन्त्री ओलीको समर्थनमा  प्रदर्शन हुन थालेको थियो । बुधबार उपत्यकासहित देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ, जसमा युवा संघका नेताहरू समेत सहभागी थिए ।

बरू कारबाही गर्नुस् …

पार्टीको विवाद हल गर्ने विषयमा पनि दुई अध्यक्षबीच भएको सम्वादमा कुनै सहमति हुन नसकेको नेताहरूले बताएका छन् ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद नछाड्ने, अरु विषयमा थप छलफल गर्न सकिने पुरानै अडान राखेका छन् । ‘प्रचण्डले जेठ २ को सहमति (आलोपालो प्रधानमन्त्री र अध्यक्ष)मा जोड दिनु भएको छ  तर प्रधानमन्त्रीले महाधिवेशनपछि अध्यक्ष हुनु होला, अर्को चुनावपछि प्रधानमन्त्री हुनु होला भन्नुभयाे, स्रोत भन्यो ।

मंसिर ४ मा भएको सहमतिअनुसार पार्टीमा प्रचण्डको कार्यकारी भूमिका प्रष्ट पारेर अगाडि बढ्न सकिने उनको जोड छ ।

नभए पार्टीको बहुमतले आफूलाई कारबाही गर्न चुनौती दिएका छन् । प्रधानमन्त्रीले ‘पार्टी बैठक राखेर कारबाही गर्नुस्, त्यसपछि मैले के गर्छु भन्ने देखिहाल्नु हुन्छ नि’ सम्म भन्नु भएको छ, स्रोतले भन्यो ।

दुई नेता भोलि फेरि बैठक बस्ने-नबस्ने समेत तय नगरी उठेका छन् । पछिल्ला केही भेटमा ठोस सहमति नभएपनि दुरी बढ्ने गरी सम्वाद नभएको उल्लेख गर्दै नेकपा स्रोतले भन्यो, ‘आजको छलफल त्यसो हुन सकेन ।’

दुई नेताबीच सहमतिको प्रयास जारी रहेका कारण १० गतेबाट सुरू भएको  नेकपाको स्थायी कमिटी बैठक भने सर्दै आएको छ । पछिल्लो पटक बुधबारका लागि बोलाइएको बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । तर पर्सिसम्म पनि सहमति जुट्ने सम्भावना कम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment