Comments Add Comment

भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलासिस

२५ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो ।

अस्पतालको हेमोडायलासिस युनिट पूरै खाली गराएर उनको बिहीबार उनको मात्रै करिब साढे ३ घण्टा लगाएर डायलासिस गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले जानकारी दिए ।

‘हिजो १२ बजेअघि नै नियमित डायलासिस गर्ने बिरामीको काम सकाएर पूरै युनिट निर्मलीकरण गरेर आज बिहान ९ बजेबाट उहाँको डायलासिस गर्‍यौं’ डा. गुरुङले भने, ‘अब अर्को सोमबार वा मंगलबार फेरि गर्नुपर्छ ।’

मिर्गौलाका रोगीलाई कोरोना संक्रमणपछि जोखिम उच्च रहने डा. गुरुङको भनाइ छ । उनको उपचारमा अस्पतालले विशेष ध्यान दिएको गुरुङले बताए । असार १८ गते भरतपुर अस्पताल आएका ती बिरामीको अवस्था सामान्य रहेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए ।

संक्रमितको डायलासिस गरेको कारणले आज एकदिन हेमोडायलासिस युनिट बन्द गरी पूरै निर्मलीकरण गर्ने र शुक्रबार बिहान पनि एकपटक पूर्ण निर्मलीकरण गरेपछि मात्रै थप पालोका बिरामीको डायलासिस गरिनेछ ।

अस्पतालमा १०६ जना बिरामीले नियमित डायलासिस गराउँदै आएका छन् । ‘एक जना संक्रमितको डायलासिस गराउँदा व्यवस्थापन निकै कठिन हुने देखियो, सबै प्रोटोकल फलो गर्नुपर्दा प्रक्रिया लामो हुने र अन्य पालोका बिरामी प्रभावित हुने देखियो’ मिर्गौला रोग विषेशज्ञ डा. गुरूङले भने, ‘एउटा डायलासिस मेसिनको व्यवस्था छुट्टै गरे राम्रो हुन्छ ।’

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले संक्रमित मिर्गौला रोगीका लागि अस्पतालले विशेष ध्यान दिएको बताए । उनले डायलासिसका लागि पालोमा रहेका बिरामीलाई रातिमा वा अन्य मेडिकल कलेजमा उपचारको व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गरिने बताए ।

उनले अस्पतालले सबै प्रकारका सावधानी र सचेतता अपनाएर डायलासिस गरेकोले सुरक्षित रहेको पनि जानकारी दिए । ‘अरू बिरामीलाई कुनै प्रकारको खतरा नहोस् भनेर पर्याप्त सावधानी अपनाएका छौं, डराउनुपर्ने अवस्था छैन, अस्पतालले कमी कमजोरी पटक्कै गरेको छैन’ मेसु डा. तिवारीले भने ।

दोस्रोपटक संक्रमित भएका थिए बिरामी

साउदी अरबबाट फर्किएका ती मिर्गौला रोगी युवकलाई दोस्रोपटक कोरोना संक्रमण भएको भरतपुर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरूङले जानकारी दिए । साउदी अरबमा नै कोरोना संक्रमण भएर निको भएपछि उनी नेपाल आएका थिए ।

हेटौंडामा वडाध्यक्षको निगरानीमा रहेका उनलाई गाह्रो भएपछि भरतपुर अस्पताल ल्याइएको हो । हेटौंडामा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, भरतपुर अस्पतालबाट भरतपुर कोभिड १९ ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ‘हामीले त संक्रमित भएपछि सोहीअनुसारकै व्यवहार गरेर उपचार गर्नुपर्‍यो, उहाँमा दोस्रोपटक संक्रमण भएको देखिन्छ’ डा. गुरूङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment