Comments Add Comment

पाँच लाख निजी आवासको पुनर्निर्माण सकियो

२५ असार, काठमाडौं । १२ वैशाख २०७२ सालको भूकम्पबाट भत्किएका घरको पुनर्निर्माण अन्तर्गत ५ लाख घर निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट क्षति भएका मध्ये ५ लाख भन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीका अनुसार घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ५ लाख ७ हजार ६ सय २३ घरको पुनर्निर्माण सम्पन्न भएको छ ।

२ लाख २ हजार ६ सय ४३ घर पुनर्निर्माण भइरहेको छ । सीइओ ज्ञवालीका अनुसार निजी आवासमा ६५ प्रतिशत घर पुनर्निर्माण सम्पन्न भइसकेको छ । २५ प्रतिशत घर पुनर्निर्माणको क्रममा रहेका छन् । भूकम्पबाट सबैभन्दा धेरै मानवीय क्षति पुगेको सिन्धुपाल्चोकमा सबैभन्दा धेरै ७० हजार ९७ घर पुनर्निर्माण सम्पन्न भएका छन् । नुवाकोटमा ६४ हजार १ सय २४ र भूकम्पको केन्ऽबिन्दु रहेको गोरखा जिल्लामा ५६ हजार घर पुनर्निर्माण सम्पन्न भएको छ ।

बिहीबार प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा आयोजित छलफलमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणबाट ६ लाख भन्दा बढी गुनासो सम्बोधन भएको जानकारी दिए । प्राधिकरणको निर्णयमा चित्त नबुझे पुनरावेदन समितिमा उजुरी दिन सकिने उनको भनाइ छ ।

उनले भूमिहीन र सुकुम्बासी लाभग्राहीका बारेमा सबै टुङ्गो लागिसकेको र जोखिमयुक्त बस्ती स्थानान्तरणका लाभग्राहीलाई सुरक्षित ठाउँमा जग्गा खरिद तथा व्यवस्थापन गरिएको समेत जानकारी दिए ।

एकीकृत बस्ती पुनर्निर्माणका लागि ८६ वटा प्रस्ताव प्राप्त भएको छ । भूकम्प प्रभावित क्षेत्रका विभिन्न ठाउँमा आकर्षक एकीकृत बस्ती निर्माण भइरहेको उनको भनाइ छ ।

समिति सभापति कल्याणीकुमारी खड्काले निजी आवास, विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै सम्पदा पुनर्निर्माणलाई अझ छिटो अघि बढाउन निर्देशन दिएकी छिन् । उनले प्राधिकरणको सयमावधिबारे छिट्टै टुङ्गो लगाउनु पर्ने समेत उल्लेख गरिन् ।

प्राधिकरणको म्याद आगामी पुसमा सकिंदैछ । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा नेपाल सरकारले आवश्यक ठानेमा एक वर्ष थप्न सक्ने प्रावधान छ । बैठकमा सांसदहरुले गुम्बा पुनर्निर्माणमा विशेष ध्यान प्राधिकरणलाई आग्रह गरेका थिए ।

प्राधिकरणले ४ सय २ वटा गुम्बाको मर्मत सम्भारको काम भएको र पुनर्निर्माण गर्नुपर्ने १ सय १७ वटा गुम्बा पुनर्निर्माणका लागि आगामी आर्थिक वर्षमा कार्यक्रम परेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment