Comments Add Comment

भारतमा रडाको : नेपालमा च्यानल बन्द गराउन पनि चीनको हात ?

चिनियाँ राजदूतमाथि बक्सीको आपत्तिजनक ट्विट

२६ असार, काठमाडौं । नेपालमा भारतीय न्युज च्यानलहरुको प्रशारण बन्द भएपछि यसले भारतमा पनि राम्रै तरंग ल्याएको छ । भारतीय न्युज टीभीका प्रस्तोताहरुले चीनको इशारामा नेपालले यस्तो भारतविरोधी कदम चालेको भन्दै ‘रोइलो’ गरिरहेका छन् ।

जी न्युजले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर अनर्गल समाचार प्रशारण गरेको थियो । यसको तीव्र विरोध भएपछि नेपालमा भारतीय च्यानलहरु नै बन्द गर्नुपर्ने आवाज सामाजिक सञ्जालमा जोडतोडले उठ्यो । यही दबावका बीच केवल अपरेटरहरुले दुरदर्शन बाहेकका भारतीय च्यानलहरु बन्द गर्ने निर्णय बिहीबार लिएका थिए ।

तर, आफ्नो ‘नानीदेखि लागेको बानी’ अनुसार भारतीय टीभीहरुले यो प्रकरणमा पनि चीनलाई मुछिदिएका छन् । चिनियाँ राजदूत यान्छीकै निर्देशनमा भारतीय च्यानलमा रोक लगाइएको उनीहरुको निष्कर्ष छ ।

नेपालमा भारतीय च्यानल बन्द गरिएको विषयलाई सनसनीपूर्ण बनाउँदै रिपब्लिक टीभीले १५ मिनेटको ‘टक शो’ हिजो चलाएको थियो । उक्त ‘टक शो’ सञ्चालन गरेका थिए, उनै अराजक प्रस्तोता अनर्भ गोश्वामीले ।

सम्वाद सुरु नहुँदै अर्नभले आफैं ठोकुवा गर्छन्, ‘नेपालमा भारतीय च्यानल बन्द गर्नमा चिनियाँ हात स्पष्ट छ ।’

त्यसपछि उनी नेपालमा गहिरो राजनीतिक संकट उत्पन्न भएको र त्यसमा चीनले लगातार हस्तक्षेप गरिरहेको सुनाउँछन् । उनले नेपाललाई दुईवटा विकल्प दिन्छन्, ‘या त नेपालले भारतसँग मित्रवत सम्बन्ध यथावत राख्नुपर्छ या चीनको हातको खेलौना बन्नुपर्छ ।’

अनि सुरु हुन्छ, कथित बहस, जसमा नेपालको तर्फबाट दृष्टिकोण प्रस्तुत गर्न अपदस्थ सांसद सरिता गिरीलाई निम्त्याइएको छ । पहिलो प्रश्न उनैलाई गरिन्छ ।

सरितालाई अर्नभले सोध्छन्, ‘चिनियाँ राजदुतको निर्देशनमा नेपालले भारतीय टीभी च्यानल बन्द गरेको कुरा समाचारमा व्यापक आएको छ । के नेपाललाई चीनले टेकओभर गरिसकेको हो ?’

गिरीको अपेक्षाकृत नरम जवाफ आउँछ, ‘नेपाली मिडिया पूर्णरुपले चीनको नियन्त्रणमा पुगिसकेको भनेर अहिल्यै भन्न मिल्दैन । त्यो चरणमा पुगिसकेको छैन । तर, केही खतराका संकेतहरु छन् । मिडियालाई नियन्त्रण गर्न केही भइरहेको छ । चिनियाँ राजदूत र नेपालका प्रधानमन्त्रीका बारे भारतीय च्यानलमा समाचार आएको थियो । त्यसपछि हिजो पत्रकार सम्मेलनमा सरकारका एक मन्त्रीले एक्सन लिने बताएका थिए । तर हाम्रो ज्ञानमा भएसम्म सरकार आफैंले कुनै ठोस निर्णय लिएको छैन…’

गिरीको जवाफमा त्यति चित्त नबुझाएका अनर्भले उनलाई रोकेर आफैं बर्बराउँछन्, ‘भारतीय च्यानलका विषयमा हु यान्छीले सरकारी अधिकारीहरुलाई कम्प्लेन गरेकी थिइन् । को हुन् हु यान्छी ? एउटा स्वतन्त्र देशको मिडिया नीतिमा हस्तक्षेप गर्ने अधिकार उनलाई कसले दियो ? अनि कसरी उनी नेपालको सबैभन्दा महत्वपूर्ण व्यक्ति बनिन् ? ओलीमाथि उनको यति धेरै प्रभुत्व किन छ ?’

अनि, बल्ल अनर्भले चाहेजस्तै जवाफ आउँछ गिरीबाट । उनी भन्छिन्, ‘यो सिम्पल छ नि । उनलाई सरकारले नै अनुमति दिइरहेको छ । स्वागत गरिरहेको छ । सरकारका अधिकारी मात्रै नभएर उनी अन्य नेताहरुलाई पनि मन लागेको बेलामा भेट्न सक्छिन् । भेट्न सकिनन् भने भिडियो कल गर्छिन् ।’

गिरीको कुराले अर्नभ भावुक बन्छन् । ‘ओ माइ गड’ भन्दै उनी नेपालीहरुलाई सम्झाउन थाल्छन् ।

‘नेपाली जनता, म तपाईंहरुलाई एकदमै माया गर्छु । आज रातिबाट मेरो च्यानल नेपालमा अफ हुँदैछ । आजसम्म भारतीय जनताले तपाईंहरुलाई हर–हमेशा साथ दिएका छन् । तर, आज तपाईंको राष्ट्रपतिभन्दा हु यान्छी कसरी शक्तिशाली भइन् ?’

नेपालीहरुलाई उकास्न खोज्दै उनी थप्छन्, ‘नेपाली जनता, कृपया सबैजना यान्छीको विरोधमा उभिनुस र आन्दोलन गर्नुस । म भन्न चाहन्छु नेपाली जनतालाई, यी रहस्यमयी महिलाले तपाईंको देशमा शासन गरिरहेकी छन् । यो तपाईंको लागि चिन्ताको विषय हुनुपर्छ । कस्तो लाजमर्दो ?’

उता बोल्ने पालो नआएर दिक्क बनिसकेका दुई भारतीय विश्लेषकमध्ये एक अर्नभकै बोलीमा लोली मिलाउँदै चिच्याउँछन्, ‘मैले नेपालकै स्रोतहरुबाट थाहा पाएको छु कि उनले सबै कुटनीतिको मर्यादा नाघेकी छन् । यी महिलाले नेपालको रिमोट कन्ट्रोल चलाइरहेकी छन् भन्ने नेपाली जनताले महसुस गर्नुपर्छ ।’

(यही बीचमा केही व्यक्तिहरुले चिनिया दूतावास नजिक प्लेकार्ड बोकेर गरेको प्रदर्शनको तस्वीर देखाइन्छ ।)

अनर्भले अर्को ‘खुलासा’ गर्छन्, ‘नेपाली जनता, तपाईंहरुलाई थाहा छैन होला, चीनले ओलीलाई भनेको छ कि उनीहरुले सीमा नदीको प्रवाह मोडिदिनेछन् । जबकि तपाईंका नदीहरु तपाईंको प्राकृतिक सीमाना हुन् । चिनीया राजदूत र चीनलाई यस्तो गर्न नदिनुस् । प्रदर्शनमा उत्रिनुस् ।’

कार्यक्रममा निम्त्याइएकी अर्की विश्लेषकलाई उनी सोध्छन्, ‘स्मिता, भन्नुस् चिनिया राजदूतको नेपालमा किन यस्तो दबदवा छ ?’

स्मिता भन्छिन्, ‘नेपाली जनताले ढिलो–चाँडो महसुस गर्नेछन् कि ओलीले नेपाल र भारतको दशकौं पुरानो मौलिक सामाजिक, सांस्कृतिक, राजनीतिक सम्वन्धलाई जोखिममा पारिरहेका छन् । (च्यानल बन्द गर्नु) यो चीनले गर्दै आएको अभ्यास हो । उनीहरुले पाकिस्तानलाई पनि यही गर्न सिकाएका छन् । नेपाल चीनको ‘क्लाइन्ट स्टेट’ बन्ने छ, पाकिस्तानजस्तै । तर, पनि मलाई नेपालको जनताप्रति विश्वास छ, उनीहरुले यस्तो हुन दिने छैनन् ।’

अर्नभ थप्छन्, ‘मलाई पनि विश्वास छ नेपाली जनताप्रति । तर, अहिले चाइनिजले स्पोन्सर गरेका केही व्यक्तिहरुले रिपब्लिक टीभी र मलाई ट्रोल गरिरहेका छन् ।’

उनी अन्तिमपटक नेपालीहरुलाई सम्झाउँछन्, ‘नेपाली जनता उठ्नुस, चीनको विरोध गर्नुस । चीनले तपाईंहरुलाई त्यस्तै व्यवहार गरिरहेको छ, जस्तो तिब्बतलाई गर्छ । नेपाली जनता, चीनले तिब्बतलाई जस्तै तपाईंहरुको देशलाई कब्जा गर्न लागेको छ । मेरो भन्नु यति मात्रै हो ।’

सुधीर चौधरीले माफी मागे

अब प्रसंग जीटीभीको, जसले प्रधानमन्त्री ओली र चिनियाँ राजदूतको विषयमा आपत्तिजनक सामग्री प्रशारण गरेको थियो ।

नेपालमा भारतीय च्यानलहरु बन्द गरेको निर्णय बाहिर आउनासाथ जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी आफैं टेलिभिजनमा आएर ब्रेकिङ न्युज सुनाएका थिए ।

‘इस समय कि बडी खबर ए है कि चीनके इशारे मे भारतके प्राइभेट च्यानल नेपालमे रोक दिया गया है,’ उनी न्युज र भ्यूज एकैपटक दिन्छन् ।

त्यसपछि यसरी बर्बराउँछन् ।

‘हाम्रो भन्नु यो छ कि आजको जमानामा तपाईं अभिव्यक्तिको स्वतन्त्रता रोक्न सक्नुहुन्न । मिडियाको आवाज रोक्न त झन् सक्नुहुन्न । तर, आज नेपाल जे पनि चीनले भनेअनुसार गर्छ । चीनको प्रभावमा छ नेपाल । नेपालका सबै फैसला नेपाल होइन, चीनले गर्छ । चीन केमा सबैभन्दा बढी माहिर छ ? अभिव्यक्ति स्वतन्त्रता दबाउन । चीन लोकतन्त्र र स्वतन्त्र मिडियामा विश्वास गर्दैन । यो (टीभी च्यानल रोक्ने) आइडिया चीनले नै नेपाललाई दिएको हुनुपर्छ । सबैभन्दा पहिले भारतको न्युज च्यानल बन्द गर भनेको हुनुपर्छ । हामीलाई चिन्ता छ, भारतले अहिलेसम्म कुनै कारवाही नेपालविरुद्ध गरेको छैन । न सरकारले, न सेनाले । तर नेपाल हाम्रो देशको पत्रकारसँग डरायो । हाम्रो कार्यक्रमसँग डरायो । हाम्रो च्यानलसँग डरायो । भारतको न्युज च्यानललाई यसले केही फरक पर्दैन । फरक त नेपाललाई पर्छ । घाटा नेपालीलाई हुन्छ । उनीहरु सत्य समाचारबाट वञ्चित भएका छन् । नेपालका मानिसहरुले अब कहिले पनि सही समाचार थाहा पाउँदैनन् । नेपाल पनि चीनको सानो राज्य जस्तो बन्न पुगेको छ । यसमा हामीलाई खुशी छ कि भारतमा न्युज च्यानलको प्रभाव यति बढेको छ कि नेपालको सरकारले यसको सामना गर्न सकेन ।’

सुधिरले यस्तै भावमा हिजो एउटा ट्विट पनि गरेका थिए । तर, त्यसको तीव्र आलोचना भएपछि आज त्यो ट्विट हटाएर माफी मागेका छन् । नेपाल भारतीय न्युज च्यानलसँग डराएको लेखेपछि धेरैले उनलाई प्रतिप्रश्न गरेका थिए, ‘त्यसो भए भारत कोसँग डराएर चिनियाँ एपहरु बन्द गरेको हो ?’

आफ्नो ट्विट हटाउँदै सुधिरले लेखेका छन्, ‘मेरो यो ट्विटबाट नेपालका हाम्रा दर्शकहरु आहत भएका छन् । भारतमा पनि धेरैले मलाई यो विचार सही नभएको बताए । हुन सक्छ, मैले त्यो खबर आएपछि आवेशमा अनावश्यक प्रतिक्रिया दिएँ । यो मञ्च अभिव्यक्तिका लागि हो, आहत गर्नलाई होइन । त्यसैले म दुख प्रकट गर्दै यो ट्विट हटाउँछु ।’

बक्सीको आपत्तिजनक ट्विट

भारतीय सेनाका पूर्वमेजर जनरल गगनदिप बक्सीले नेपालमा भारतीय च्यानल बन्द गरिएको विषयलाई लिएर आपत्तिजनक ट्विट गरेका छन् । आफ्नो ट्विटमा उनले चिनिया राजदूत होउमाथि अनर्गल आरोप लगाएका छन् ।

अत्यधिक आलोचित बनिरहेको बक्सीको ट्विट यस्तो छः

‘नेपालकी नयाँ शासकलाई चिन्नुस । चाइनिज राजदूत महारानी यान्छी । उनले भर्खरै नेपालमा सबै भारतीय समाचार च्यानलहरु प्रतिबन्ध गर्ने घोषणा गरेकी छन् । नेपाल छिटोछिटो तिब्बतको बाटोमा गइरहेको छ । नेपाली जनता चाँडोभन्दा चाँडो ब्यूँझनुपर्छ र नेपालका चाउसेस्कु श्री ओलीबाट मुक्त हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment