Comments Add Comment

कोरोना संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु

२७ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई जनाको पाटन अस्पताल र एक जनाको केएमसी अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं महानरपालिका-१० शंमखुलका ६० वर्षीय पुरुष १६ असारमा पाटन अस्पतालमा भर्ना भएका थिए । मिर्गौला रोगका विरामी उनी फोक्सोमा पानी जमेपछि अस्पताल पुगेका थिए ।

अस्पतालमा भर्ना भएको भोलिपल्ट गरिएको परीक्षणमा कोरोना पुष्टि भएको थियो । उनको उपचारका क्रममा २६ गते निधन भएको छ ।

पाटन अस्पतालमा नै सिन्धुपाल्चोक, पाँचपोखरी-६ का ४५ वर्षीय पुरुषको पनि निधन भएको छ । उनी क्षयरोगको उपचारका लागि १८ गते अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा गरिएको परीक्षणमा २२ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो र २५ गते उनको निधन भएको छ ।

यस्तै केएमसी अस्पताल, सिनामंगलमा निधन भएका गोकर्णेश्वर-४ का ५४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मिर्गौला रोगका विरामी उनलाई श्वास प्रश्वासमा समेत समस्या भएपछि १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर आईसीयूमा बेड नभएपछि केएमसी रिफर गरिएको थियो । उनको २१ गते नै स्वाब संकलन गरिएको थियो ।

तर रिपोर्ट नआउँदै २५ गते मृत्यु भयो । त्यसको भोलिपल्ट कोरोना संक्रमण रहेको रिपोर्ट आएको अस्पतालका निर्देशक मुकुन्दराज जोशीले जानकारी दिए ।

यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म १६ हजार ७१९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये ८ हजार ४४२ जना निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment