Comments Add Comment

सिर्सिया नदीबाट जलकुम्भी निकालियो

२८ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका हुँदै बग्ने सिर्सिया नदीको बहाव क्षेत्र अतिक्रमणको चपेटामा छ । त्यसमाथि नदीमा हुने जलकुम्भी झारले वर्षायाममा पानी बग्न दिँदैन । विशेषगरी पुलमा गएर जलकुम्भी अड्किने गर्छ । त्यसले गर्दा पानी बस्तीमा पस्ने गरेको छ ।

यसवर्ष वीरगञ्ज र आसपासका क्षेत्रमा खासै ठूलो पानी परिसकेको त छैन । तरपनि वीरगञ्जको घडिअर्वा मसानघाट हुँदै रामगढवा जाने बाटोको सिर्सिया नदी पुलमा जलकुभ्भीले ढाकेको थियो । पुलमा जलकुम्भी अड्किएर ताल बनेपछि पानी रामगढवातिर जाने अवस्था आयो । घडिअर्वा स्पोर्टस क्लबले वीरगञ्ज महानगरपालिका, जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, विपद् व्यवस्थापन कार्यदल प्रदेश नम्बर २ वीरगञ्जको सहयोगमा सफा गराएको छ ।

सल्लाहकार मनोहर साहले सिर्सिया पुलमा जलकुभ्भीले ढाकेर पानी बस्तीतिर जाने स्थिति भएपछि सरोकारवाला निकायलाई गुहारेको जानकारी दिए । ‘जलकुम्भी नहटाए पानी पर्ने बित्तिकै बस्ती डुबानमा पर्ने जोखिम देखियो । दुई दिनदेखि महानगरपालिकामा ताकेता गरिरहेका थियौं,’ उनले भने, ‘महानगरपालिकाले जेसीबी पठायो, सरोकारवाला सबै पक्षको सहभागितामा झार हटायौं ।’

जलकुम्भी हटाउन वीरगञ्ज महानगरपालिकाले दुईवटा जेसीबी पठाएको थियो । विपद् व्यवस्थापन गुल्मका प्रहरीले लाइफ ज्याकेट लगाएर खोलामा पसेर जलकुम्भी किनारमा ल्याउन मद्धत गरेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कमलराज पण्डितले समुदाय प्रहरी साझेदारी अन्तर्गत स्वच्छ एवं व्यवस्थित वीरगञ्ज बनाउने अभियान अन्तर्गत पुलमा थुप्रिएर बसेको जलकुम्भी हटाइएको जानकारी दिए । ‘सबै मिलेर बिहान खोलाबाट जलकुम्भी किनारमा ल्याइयो, त्यसपछि नगरपालिकाको जेसीबीले किनारबाट हटाउने काम गरेको छ,’ उनले भने ।

मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना २०७७ पारित

दुई दिनअघि मनसुन सुरु भएपछि आउन सक्ने विपद्का बारेमा जिल्ला विपद् व्यवस्थापन समितिमा छलफल भइसकेको छ । बैठकमा मनसुनले जिल्लामा पार्न सक्ने प्रभाव र गर्नुपर्ने पूर्व तयारीका बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले जानकारी दिए ।

‘बाढी आउन सक्ने जोखिम क्षेत्र पहिचान गरेका छौं, ती स्थानमा विद्यालय लगायत उच्च स्थानमा रहेका सार्वजनिक भवन खोजेर राख्ने निर्णय भएको छ,’ उनले भने, ‘त्यस बाहेक विपद्मा खट्ने सबै निकाय र पालिकालाई तयारी अवस्थामा रहन र राहत सामग्रीको प्याकेट तयारी राख्न भनेका छौं ।’

वीरगञ्ज उद्योग वाणिज्य संघको सभाहलमा शुक्रबार बसेको बैठकले मनसुन पूर्व तयारी तथा प्रति कार्य योजना २०७७ परिमार्जन सहित पारित गरेको छ । त्यस्तै बैठकले विपदमा खट्न विभिन्न निकायलाई जिम्मेवारी तोकेको, १४ वटै पालिकालाई तयारी अवस्थामा रहन आग्रह गरेको, बाढीको जोखिम क्षेत्र पहिचान गरेको, राहत सामग्री तयारी अवस्थामा राख्न पनि निर्णय गरेको छ ।

समितिको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले गत जेठ २९ गते कार्ययोजना तयार गरेर गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबार काठमाडौंमा पठाएकाे बताए ।

पर्सा जिल्लामा बाढी मुख्य प्रकोपको रुपमा रहँदै आएको छ । वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका र १० वटा गाउँपालिकाका धेरै स्थान संकटापन्न अवस्थामा छन् । २४ हजार ३ सय ६८ घरधुरीमा बसोबास गर्ने १ लाख ४८ हजार ६ सय ८६ जना बाढीबाट प्रभावित हुने गरेको प्रतिकार्य योजनामा उल्लेख छ ।

१७ हजार ५ सय ७३ हेक्टर जमिन, ६ वटा विद्यालय र एउटा स्वास्थ्य चौकी र प्रायजसो खानेपानीका कलधारा बाढीको जोखिममा पर्ने गरेका छन् । बाढी र डुबानले पार्समा वर्षेनी ठूलो धन जनको क्षति पुर्‍याउने गरेको छ ।

तिलावे, सिर्सिया नदी, गादी, भलुवाही, ४ दर्जन भन्दा सहायक नदी र अन्य स–साना नदी नालाहरुका कारण जिल्लाका विभिन्न स्थानमा बाढी आउने गरेको छ । २०६७ असारमा तिलावे, सिर्सिया लागायतका नदीमा आएको बाढीले तीन जनाको मृत्यु भएको थियो भने २५ सय भन्दा बढी घरधुरी प्रभावित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment