Comments Add Comment

जाजरकोटको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

खोलामा बगेका ३ जनासहित ४ जना अझै बेपत्ता

२८ असार, सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएका थप दुईजनाको शव आइतबार भेटिएको छ ।

बारेकोट गाउँपालिका-४ सार्कीगाउँका १३ वर्षीया लक्ष्मी सार्की र ११ वर्षीया कमला सार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिए ।

यससँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । उक्त पहिरोमा बेपत्ता भएकी ५१ वर्षीया पुष्पा सार्की भने अझै नभेटिएको डीएसपी श्रेष्ठको भनाइ छ ।

बिहीबार रातिको पहिरोले बारेकोट गाउँपालिका-४ सार्कीगाउँका गोपाल सार्की र कालु सार्कीको घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

उनीहरुमध्ये सोही ठाउँका ५२ वर्षीय गोपाल सार्की, उनका ११ वर्षीय छोरा अर्जुन सार्की र १४ वर्षीया छोरी तीर्खा सार्की, कालुको घरमा पाहुन आएका कुशे गाउँपालिका-९ का २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया गौरी, १६ वर्षीया कविता र १८ वर्षका वीरेन्द्र  सार्कीसहित ७ जनाको शव शुक्रबार नै भेटिएको थियो ।

३४ वर्षीया कालु सार्की र उनका ६ वर्षका छोरा सुवास सार्कीको शव शनिबार फेला परेको थियो ।

खोलामा बेपत्ता ३ जना अझै भेटिएनन् 

यसैबीच, शुक्रबार नै जाजरकोटमा खोलमा बगेर बेपत्ता भएका तीनजना पनि अझै भेटिएका छैनन् ।

बारेकोट गाउँपालिका- ६ धुमा भन्ने ठाउँकौ खहरे खोलामा बगेर बेपत्ता भएका स्थानीय २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने बेपत्ता भएका थिए ।

शुक्रबार नै खहरे खोलामा बगेका जुनिचाँदे गाउँपालिका-१ का डिल्ली चुनारा पनि भेटिएका छैनन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

३०० सय घरपरिवार विस्थापित

अविरल वर्षासँगै आएको बाढीका कारण जाजरकोटको बारेकोटमा मात्रै विस्थापित हुने घरपरिवारको संख्या ३०० पुगेको छ ।

आइतबार थप १०० घरपरिवार विस्थापित भएका हुन । सार्की गाउँमा पहिरो गएपछि आसपासका ३०० परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

बारेकोटका तोलखान, मैना, जिरी, भैलोखानका स्थानीयवासीले घर छोडेर विद्यालय र जंगलमा पाल टाँगेर बसेको डीएसपी श्रेष्ठको भनाइ छ ।

खाद्यय सामाग्रीसहित मन्त्री बस्नेत घटनास्थल

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत राहात सामग्रीसहित आइतबार घटनास्थल पुगेर फर्किएका छन ।

घटनास्थल मन्त्री बस्नेकै निर्वाचन क्षेत्र हो । उनीसहित कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्वमन्त्री सत्य पहाडी, सांसद भैरवसुन्दर श्रेष्ठ, राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मालगायको टिम घटनास्थल पुगेर फर्किएको हो ।

विस्थापित र पहिरोमा परी मृत्यु भएका परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माका अनुसार खाद्यान्न, लत्ताकपडालगायतका सामग्री उपलब्ध गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment