News Summary
Generated by OK AI. Editorially reviewed.- जाजरकोटमा बाढीपहिरोले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो क्षति पुर्याएको छ, ७७९ पशु चौपाया मरेका छन्।
- जुनीचाँदे गाउँपालिकामा ७.२९ हेक्टर बाली र ४७७ फलफूलका बोट क्षति भएका छन्, भेरी नगरपालिका–२ र ३ मा ९३.२९ मेट्रिक टन खाद्यान्न बाली नोक्सान भएको छ।
- भेरी, नलगाड र जुनीचाँदेमा ३०३ घरपरिवार विस्थापित भएका छन्, भेरीका २३७ परिवार विद्यालय, आश्रम र टेन्टमा बसिरहेका छन्।
२२ भदौ, सुर्खेत । बाढीपहिरोले जाजरकोटमा घरबस्ती र सडक संरचनासँगै कृषि तथा पशुपालन क्षेत्रमा लाखौंको क्षति भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको खाद्यान्न बाली, फलफूलका बोट तथा पशु चौपायामा क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बागवानी विकास अधिकृत विशाल खत्रीले दिएका जानकारी अनुसार जुनीचाँदे गाउँपालिकामा मकै, धान र कोदो गरी ७.२९ हेक्टर क्षेत्रफलमा लगाइएको बालीमा क्षति पुगेको छ। यस्तै, फलफूलतर्फ ४७७ वटा बोटमा क्षति भएको छ । बाढी र पहिरोले खेतबारीमा लगाएको बाली पुरिनुका साथै कतिपय स्थानमा खेतीयोग्य जमिन नै बगाएको स्थानीयले बताएका छन्।
त्यस्तै, भेरी नगरपालिका–२ र ३ मा २३.६३ हेक्टर क्षेत्रफलमा लगाइएको कृषि बालीमा क्षति भएको छ। ती दुई वडाको क्षतिको विवरणअनुसार खाद्यान्न बाली मात्रै ९३.२९ मेट्रिक टन क्षति भएको छ। धान, मकै, कोदोलगायतका बालीमा बाढी तथा पहिरोको प्रत्यक्ष असर परेको हो।
कृषि बालीसँगै पशुपालन क्षेत्रमा पनि विपद्को असर गम्भीर देखिएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार ७७९ वटा पशु चौपायाको मृत्यु भएको छ। पहिरोले गोठ पुरिंदा तथा बाढीले बगाउँदा पशु चौपायाको मृत्यु भएको हो।
ग्रामीण क्षेत्रमा कृषि र पशुपालन नै अधिकांश परिवारको जीविकोपार्जनको प्रमुख आधार भएकाले यसबाट प्रभावित परिवारको आम्दानीमा समेत दीर्घकालीन असर पर्ने देखिएको छ।
जाजरकोटमा यस वर्षको मनसुनी विपद्ले कृषि उत्पादनलाई मात्रै होइन, गाउँबस्तीको सामान्य जीवनसमेत प्रभावित बनाएको छ। पछिल्ला सातामा भेरी नगरपालिका, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकाका विभिन्न क्षेत्रमा बाढीपहिरोका घटना भएका छन्।
भेरी नगरपालिका-२ रिसाङमा गएको पहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। रिसाङमा पहिरोबाट १६८ घरधुरीका ८९७ जनालाई अस्थायी सेल्टरमा बस्दै आएका छन् । भेरी नगरपालिका-२ र ३ मा पहिरो गएपछि सडक, घर तथा अन्य संरचनामा समेत क्षति पुगेको समाचारहरूमा उल्लेख छ। प्रारम्भिक घटनाका क्रममा भेरी नगरपालिका क्षेत्रमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको र सयौँ नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
उता, जुनीचाँदे गाउँपालिका–६ डोग्रामा बाढी तथा पहिरोले थप जोखिम निम्त्याएको छ । जुनीचाँदे–६ का सिर्प, डोग्रा तथा आसपासका क्षेत्रमा बाढीपहिरोका कारण करिब ६० घरधुरी जोखिममा परेका छन् । बाढीका कारण कतिपय घर बस्नै नमिल्ने अवस्थामा पुगेको जुनिचाँदे गाउँपालिकाका अध्यक्ष वेदबहादुर शाहीले जानकारी दिए ।
यसैगरी, नलगाड नगरपालिका–१३ मा पनि अविरल वर्षापछि आएको भलबाढी र पहिरोले घरबस्ती तथा खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। त्यहाँ १९ घरपरिवार प्रभावित भएको र बर्खे बालीसमेत नोक्सान भएको थियो । यो विवरण यहाँ समावेश भएको छैन ।
तीन स्थानीय तहका सयौं परिवार विस्थापित

भेरी नगरपालिका, नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकामा गरी ३०३ घरपरिवार विस्थापित भएका थिए। भेरी नगरपालिकाका २३७ परिवार विद्यालय, आश्रम तथा टेन्टमा बसिरहेका छन् भने जुनीचाँदेका ६० परिवार आफन्तको आश्रयमा पुगेका छन् ।
यसअघि भेरी नगरपालिका–२ रिसाङमा विस्थापित परिवारलाई तीन स्थानमा अस्थायी सेल्टर निर्माण गरी राख्ने सहमति भएको थियो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेपछि सुरक्षित स्थानमा अस्थायी आवास व्यवस्थापन गर्ने निर्णय गरिएको थियो।
बाढीपहिरोका कारण सडक, खानेपानी, घर तथा खेतीयोग्य जमिनमा एकैपटक क्षति पुगेकाले प्रभावित क्षेत्रमा राहत र पुन:स्थापनाको चुनौती थपिएको छ। जुनीचाँदेका कतिपय प्रभावित बस्ती सडक अवरुद्ध हुँदा सम्पर्क तथा राहत आपूर्तिमा समेत समस्या भएको छ ।
किसानको वर्षभरिको मेहनत बग्यो
वर्षायाममा खेतबारीमा लगाइएको बाली किसानको मुख्य आम्दानी र खाद्यान्नको आधार हो। बाढीपहिरोले धान, मकै र कोदोलगायतका बालीमा क्षति पुर्याएपछि प्रभावित परिवारलाई आगामी महिनामा खाद्यान्न अभावको जोखिमसमेत बढ्न सक्छ। फलफूलका बोटमा भएको क्षतिले तत्कालको उत्पादनसँगै आगामी वर्षको आम्दानीमा समेत असर परेको भेरी २ का चन्द्र कार्कीले जानकारी दिए ।
विशेषगरी पहाडी क्षेत्रमा खेतीयोग्य जमिन सीमित हुने भएकाले खेतबारीमा बाढीपहिरोले पुर्याएको क्षति पुन:पूर्ति गर्न लामो समय लाग्न सक्छ। त्यसमाथि पशु चौपायाको ठूलो संख्यामा मृत्यु हुँदा किसानको कृषि प्रणाली नै प्रभावित हुने अवस्था छ।
स्थानीय तहबाट संकलन गरिएको प्रारम्भिक विवरणअनुसार कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको थप यकिन विवरण संकलन तथा मूल्यांकन भइरहेको छ। क्षतिको अन्तिम विवरण आएपछि किसानलाई राहत, खाद्यान्न, बीउबिजन तथा पशुधन पुन:स्थापनाका लागि विशेष कार्यक्रम आवश्यक देखिएको छ।
जाजरकोटले करिब तीन वर्षअघि भूकम्पको विपद् बेहोरेको थियो। भूकम्पबाट प्रभावित परिवारको पुन:स्थापना तथा पुनर्निर्माण पूर्ण रूपमा नसकिँदै बाढीपहिरोको अर्को विपद् थपिएपछि जिल्लाका ग्रामीण परिवार दोहोरो विपद्को चपेटामा परेका छन्। पछिल्लो बाढीपहिरोले कमजोर बनेका बस्ती र भौतिक संरचनाको जोखिम अझ बढाएको छ।
यस अवस्थामा राहत वितरणसँगै कृषि तथा पशुपालन क्षेत्रमा भएको क्षतिको यथार्थ मूल्यांकन, किसानलाई क्षतिपूर्ति, नि:शुल्क वा सहुलियतमा बीउबिजन तथा पशु पुन:स्थापना कार्यक्रम र जोखिमयुक्त बस्तीको दीर्घकालीन व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
यत्ता कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले विवरण छिटो मन्त्रालयमा पुगेमा निर्णय गर्न ढिला नहुने बताए । संकलनको काम छिटो गर्न निर्देशन दिइएको तर काम ढिला हुँदा निर्णय प्रक्रिया ढिलो भएको बताए ।
प्रतिक्रिया 4