+
+
Shares

भेरी–२ को कथा : पहिरोले छिया-छिया रिसाङ बस्ती (तस्वीरहरू)

गाउँभरी चिरा,चिरा परेको छ । विस्थापित भएका स्थानीयबासीहरू रिसाङ स्थित विद्यालयमा अस्थायी रुपमा बसिरहेका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ १ गते १२:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी चारजनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
  • भूकम्पले चर्किएको जमिनमा अविरल वर्षाका कारण पहिरो जाँदा रिसाङका स्थानीयको घर पुरिएको छ र विस्थापितहरू विद्यालयमा आश्रय लिएर बसेका छन् ।
  • राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत असारमै जोखिमबारे सचेत गराए पनि समयमै सावधानी नअपनाउँदा यो मानवीय क्षति हुन पुगेको हो ।

१ भदौं, जाजरकोट । शनिबार बेलुका तीन बजे सामान्य पानी परेको थियो । भेरी नगरपालिका–२ बाहुनथानाका रामबहादुर सिंह छिमेकीसँग यो पटक धेरै ठूलो पानी परेको भन्दै चिन्ता गर्दै थिए । करिब आधा घण्टा अर्थात चार बज्न नपाउदै लुम्बिनी–रारा सडक खण्डको जाजरकोट सदरमुकामदेखि राङसी सम्मा पुग्ने सडक पूर्ण रुपमा अवरुद्ध भयो ।

करिब ५ बजेतिर गाउँकै दुई घर पहिरोले पुरेको जानकारी पाए ।  भेरी–२ हरेक बस्तीहरू पहिरोका कारण चिरा,चिरा परेर एक ठाउँबाट अर्को ठाउँमा जान नमिल्ने अवस्था भएपछि आफूहरू उद्धार भन्दा पनि कसरी सुरक्षित हुने भन्नेमा केन्द्रित भएको स्थानीय कालीबहादुर कार्कीले बताए । उनले भने , ‘प्रहरीलाई शनिबार बेलुकी साढे पाँच बजे खबर गरेका थियौँ तर उहाँहरू आइतबार बिहान साढे ६ बजे मात्र घटना स्थल पुग्नुभयो ।’

झण्डै ६ किलोमिटरको दूरीमा रहेको जिल्ला प्रहरी कार्यालय, नेपाली सेना र सशस्त्र प्रहरी कार्यालयबाट सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न १४ घण्टा लागेको पीडितको आरोप छ ।

भूकम्पबाट छिया,छिया भएको जमिन लामो समय सम्म पानी निरन्तर पर्दा साना,साना खोला तथा निर्माण भएका अस्थायी सडकका ट्रयाकमा पहिरो आउँदा घर पुरिएका छन् ।

गाउँभरी चिरा,चिरा परेको छ । विस्थापित भएका स्थानीयबासीहरू रिसाङ स्थित विद्यालयमा अस्थायी रुपमा बसिरहेका छन् ।

लुम्बिनी– रारा राजमार्ग अन्तरर्गत भेरी–२ भित्र अधिकांश सडक भत्किएको, पुरिएको अवस्थामा छ । यही सडक भत्किएका कारण एक घण्टामा पैदल हिँडेर जान मिल्ने ठाउँमा झण्डै १४ घण्टा समय लागेको स्थानीय सञ्चारकर्मी विनोदकुमार घर्तीले बताए ।

२०८० कात्तिक १७ गते जाजरकोटको रामीडाडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले जाजरकोटको भेरी नगरपालिका– २, रिसाङ र आसपासको भूगोल चिराचिरा पारेर जोखिम बढेको थियो ।

सो समयमा घरहरू भत्किँदा पशु चौपाया मरेका थिए । उक्त क्षेत्रमा पटक–पटक पहिरो गएर जोखिम बढिरहेको थियो ।

रिसाङ र आसपासमा पहिरोमा परी चारजनाको ज्यान गएको छ भने १० घाइते भएका छन् । भूकम्पले क्षतिग्रस्त घरसमेत पुनर्निर्माण नहुँदा अस्थायी टहरामै बस्दै आएका परिवारलाई पहिरोले थप बिल्लीबाठ पारेको छ ।

भूकम्पको दुई महिनापछि नै रिसाङमा सुक्खा पहिरो गएको थियो । स्थानीय सडक र खानेपानीमा क्षति पुर्‍याएको थियो । अर्को वर्ष २०८१ मा पनि ठाउँठाउँमा पहिरो खसेको थियो । तर, सरकारका कुनै पनि नियकाले जुनकुनै बेला जनधनमा पर्न सक्ने क्षतितर्फ चासो नै दिएनन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत २९ असारमा मात्रै यहाँको भौगर्भिक अवस्था जोखिमपूर्ण रहेको भन्दै जिल्ला प्रशासन कार्यालय र भेरी नगरपालिकालाई सचेत गराएको थियो । भेरी नगरपालिकाका केही स्थानमा गरिएको भौगर्भिक अध्ययन प्रतिवेदनका आधारमा प्राधिकरणले आवश्यक सावधानी र दीर्घकालीन रोकथामका उपायबारे पनि सुझाव दिएको थियो ।

रिसाङलगायत बस्तीमा बाटो धसिने, जमिनमा चिरा पर्ने, रुखहरू ढल्किनेजस्ता अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो अवस्थामा नयाँ बस्ती विस्तार, सडक, भवन र अन्य भौतिक पूर्वाधारण निर्माण गर्दा भौगर्भिक अध्ययनलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरूको सुझाव छ । तर, प्रतिवेदन कार्यान्वयन प्रक्रियामै गएको छैन भने रिसाङ र आसपासको क्षेत्र शोकमा डुबिसकेको छ ।

आइतबार बिहान नेपाली सेनासहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा अन्य सम्बन्धित निकायका टोली वैकल्पिक बाटो हुँदै रिसाङ पुगे ।

जिल्ला सदरमुकामबाट नजिकै रहे पनि पहिरोले बाटो अवरुद्ध भएकाले सुरक्षा निकायलाई जोखिम मोलेर प्रभावित बस्तीमा पुग्नुपरेको थियो ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले मौसमका कारण शनिबार खोज तथा उद्धारमा समस्या भएको बताए । आइतबार बिहान ५ बजेदेखि घटनास्थलमा सुरक्षाकर्मीसहित सम्पूर्ण सरोकारवाला निकाय सम्बन्धित ठाउँमा पुगेको उनको भनाइ छ ।

लगातारको वर्षाका कारण पहिरोको जोखिम अझै कायम रहेकाले प्रभावित क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले सबै तहका सरकारसँग मिलेर व्यवस्थापन गर्ने बताए ।

प्रदेश सरकारबाट प्राप्त राहत सामग्री समेत पीडित सम्मा पुग्न लागेको बताए । मुख्यमन्त्री मंगलबहादुर शाहीसँग नियमित छलफल भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?