
२९ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न दक्षिण अफ्रिकाले नयाँ प्रतिबन्ध घोषण गरेको छ । जसमा मदिरामाथिको प्रतिबन्ध पनि सामेल छ ।
साथै सरकारले सोमबारदेखि रातको समयमा कर्फ्यु लगाउने र घरबाट बाहिर निस्किँदा मास्क लगाउन पनि अनिवार्य गर्ने निर्णय गरेको छ । रातिको लागि लगाइएको कर्फ्यु नौ बजेदेखि बिहान चार बजेसम्म लागु हुनेछ ।
दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले वर्षमा दोस्रोपटक मदिरामा लगाइएको प्रतिबन्धको कारण मुलुकको स्वास्थ्य व्यवस्थामा पर्ने दबाब पनि कम हुने उनको भनाइ छ ।
अहिलेसम्म दक्षिण अफ्रिकामा कोरोना भाइरसका दुई लाख ७६ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । साथै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार हजारभन्दा धेरै पुगिसकेको छ । सरकारको एक आकलन अनुसार वर्षको अन्तिममा यहाँ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५० हजारभन्दा धेरे हुन सक्छ ।
पछिल्लो समय दक्षिण अफ्रिकामा निकै तीव्र गतिमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । राष्ट्रपति रामाफोसाले सरकारले कोरोना भाइरस नियन्त्रणको लागि आवश्यक कदम चालेको तर केही मानिसको लापरबाहीको कारण अहिलेको अवस्था देखिएको बताएका छन् ।
राष्ट्रपतिले मुलुकमा अगष्ट १५ सम्म मुलुकमा लगाइएको आपतकाल बढाउने निर्णय गरेका छन् । दक्षिण अफ्रिकामा केही महिनाअघि घरेलु हिंसा कम गर्ने र सप्ताहान्तमा हुने मदिराको खपत घटाउन मदिराको बिक्रीमा रोक लगाइएको थियो । तीन महिनापछि मदिरामा लगाइएको प्रतिबन्ध हटाइएको थियो । अहिले पुनः मदिरामा प्रतिबन्ध लगाइएको हो ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4