Comments Add Comment

बंगलादेश : बढ्दो क्रममा कोरोना संक्रमित, तर सरकारी अस्पताल खाली

२९ असार, काठमाडौं । बंगलादेशमा अहिले कोरोना भाइरस (कोभिड–१९) का बिरामीको लागि छुट्याइएका हजारौं बेड खाली छन् । कोरोना संक्रमित नभएर खाली भएका भने होइनन् ।

बंगलादेशमा निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अहिलेसम्म एक लाख ८३ हजार ७९५ संक्रमित फेला परेका छन् । र, प्रत्येक दिन तीन हजार हाराहारीमा संक्रमित फेला परिरहेका छन् । मृत्यु हुनेको संख्या पनि २३५२ पुगिसकेको छ ।

तर मानिसहरु अस्पतालमा आउँदैनन् । अस्पतालमा आएका संक्रमितहरुले पनि अस्पताल मर्नुभन्दा बरु घरमै मर्न तयार छौं भन्ने गरेको एक स्वास्थ्य अधिकारीले बताए ।

राजधानी सहर ढाकामा कोभिड–१९ का बिरामीलाई तयार पारिएको ६ हजार ३०५ मध्ये चार हजार ७५० बेडहरु खाली छन् । कोरोना भाइरस नियन्त्रणका लागि निर्माण गरिएको दुई हजार बेड रहेको फिल्ड अस्पतालमा करिब एक सयमात्र बिरामी छन् ।

अर्को सहर चटगाउँ पनि हटस्पटको रुपमा देखिएको छ । त्यहाँ पनि क्षमताभन्दा करिब आधा बेडहरु मात्र भरिएका छन् । बंगलादेशको यी दुई सहरको जनसंख्या दुई करोड ५० लाख छ । अस्पतालको बेडहरु प्रयोग नहुनुको कारण संक्रमित मानिसहरु अहिले घरमा नै उपचार गराइरहेका बंगलादेशको स्वास्थ्य विभागले जनाएको छ ।

अस्पतालप्रतिको वितृष्णा

‘अधिकांश बिरामीमा सामान्य लक्षण मात्र देखिएको छ । पर्याप्त टेलिमेडिसिन सेवा पनि उपलब्ध छ । अस्पतालमा बेडहरु खाली हुनुको कारण यो पनि हुनसक्छ’, स्वास्थ्य विभागका सहायक प्रमुख नासिमा सुल्तानाले बताइन् । उनका अनुसार थप संक्रमित भेटिने आशंकामा अस्पतालमा बेडको संख्या बढाउने काम भने भइरहेको छ ।

तर बंगलादेशका स्वास्थ्य विशेषज्ञहरु र संक्रमितहरु भने सार्वजनिक अस्पतालको सेवाप्रति चिन्तित छन् । ‘उनीहरु अस्पतालमा भन्दा घरमा मर्छौं भन्छन्’, एम्बुलेन्स र शववाहनको सेवा प्रदान दिँदै आएको अल मनाहिल च्यारिटीका एक विरिष्ठ अधिकारीले सुनाए ।

८० हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ४४ प्रतिशत बंगलादेशी नागरिक सरकारको कोभिड–१९ हेल्पलाइनमा कल गर्न पनि डराउँछन् । उनीहरु परीक्षणमा कोरोना भाइरस पाजेटिभ देखियो भने अस्पताल लैजान्छन् भनेर डराउने गरेका छन् । श्वासप्रश्वासमा गम्भीर समस्या देखिएका मानिसहरु मात्र अस्पताल जान्छन् ।

बंगलादेशको मानव अधिकार आन्दोलनका प्रमुख रासिद ई महबुब सार्वजनिक अस्पतालहरु विरामीमैत्री नभएको बताउँछन् । मानिसको मनमा सरकारी अस्पतालहरुप्रति नराम्रो छाप छ, महंगो हुने भएकाले निजी अस्पतालमा उपचार गराउन पनि सक्दैनन् । त्यसले धेरै बिरामी घरमै बस्न चाहेको महबुबको भनाइ छ ।

आफ्ना परिवारका आठ सदस्यसहित कोरोना संक्रमित बनेकी एक महिला आफ्नो परिवारका सबै घरमा बसेको बताउँछिन् । उनकी आमालाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिँदा पनि अस्पताल लैजानुको सट्टा घरमै अक्सिजन सिलिण्डर ल्याइएको थियो ।

आफ्नो रोजगारीको प्रकृतिको कारण देखाउँदै नाम गोप्य राख्न आग्रह गरेकी उनले भनिन्, ‘हामीले सुनेअनुसार डाक्टर र नर्सहरु संक्रमित हुने डरले कहिल्यै पनि बिरामीलाई भेट्न आउँदैनन् ।’

बंगलादेशका अस्पतालहरु महामारी शुरु हुनुभन्दा पहिला नै राम्रो सेवा नदिएका कारण बदनाम थिए । पछिल्लो वर्ष मात्र उपचारका लागि पाँच लाखभन्दा धेरै मानिस भारत गएका थिए । पैसा हुनेहरु थाइल्याण्ड वा सिंगापुर जान्छन् तर अहिले कोरोना भाइरसको महामारीको कारण अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाइएको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment