Comments Add Comment

ठोरीमा किसानलाई दूधमा ३ रुपैयाँ अनुदान, ८४ कटेका वृद्धलाई ५ हजार

२९ असार, काठमाडौं । पर्साको ठोरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ का लागि ४६ करोड ८८ लाख २० हजार ८ सय ५० रुपैयाँको अनुमानित बजेट ल्याएको छ । सोमबार चौथो गाउँसभामा उपाध्यक्ष शान्तिमाया थिङल बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाले सोमबार नै ल्याएको नीति तथा कार्यक्रममा कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण, पर्यटन र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ ।

वडा नम्बर ४ घ्याङडाँडास्थित गाउँपालिकाको कार्यालयमा भएको गाउँ सभामा अध्यक्ष पदमलाल श्रेष्ठले आर्थिक वर्ष २०७७÷७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरे । जसमा ८४ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई बार्षिक ५ हजार रुपैयाँ निर्वाह भत्ता उपलब्ध गराउने, ३५ बर्ष नाघेका अविवाहित तथा श्रीमान नभएर एकल जीवन बिताउन बाध्य विपन्न महिलाहरूलाई मासिक १ हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने पनि उल्लेख छ ।

प्रसुति सेवा सञ्चालनमा रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउने महिलालाई एकमुष्ट सुत्केरी स्याहार खर्चबापत थप ३ हजार रुपैयाँ दिने र गाउँको स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्ने अवस्था भएर अन्यत्र उपचार गर्न लैजानुपर्ने अवस्था आएमा निशुल्क एम्बुलेन्स सेवा दिने उनले बताए ।

अध्यक्ष श्रेष्ठले दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न मान्यताप्राप्त डेरीमा दुध बिक्री गर्ने किसानलाई दुधमा प्रतिलिटर ३ रुपैयाँ थप अनुदान दिने, युवालाई कृषिमा प्रोत्साहन गर्न उन्नत जातका पाडी र बाच्छी शत प्रतिशत अनुदानमा वितरण गर्दै पशुधन सुरक्षाको लागि गाईभैंसी र बाख्रालाई लगाइने विभिन्न प्रकारको खोप तथा औषधि निशुल्क उपलब्ध गराउने, कृषि र तरकारी खेती प्रवर्द्धनका लागि औषधि छर्ने मेसिन औजार वितरण, समरसेल, मोटर, जेनेरेटर, हाते ट्याक्टर वितरण कार्यलाई निरन्तरता दिइने बताए ।

शिक्षक दरबन्दी अभाव भएका विद्यालयलाई स्वयंसेवक शिक्षकको व्यवस्था गर्ने, अंग्रेजी माध्यमको पठनपाठनलाई निरन्तरता दिइने, गापाको टोलटोलमा सिकाइ केन्द्र स्थापना गर्दै विद्यालय बाहिर समेत पठनपाठनको व्यवस्था मिलाइने, गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्राविधिक क्षेत्रको उच्च शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

यस्तै अध्यक्ष श्रेष्ठले खेलकुद विकासका लागि अध्यक्ष कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, गाउँपालिकामा भएका सडकको स्तरोन्नति गर्ने, उपयुक्त स्थानमा कम्तीमा ५०० सिट क्षमताको बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गर्ने, आरसीसी ढलान र पिच सडक निर्माण कार्यलाई निरन्तरता दिने बताएका छन् ।

त्यसैगरी उनले सञ्चालनमा रहेको होमस्टेको क्षमता वृद्धि गर्दै नयाँ होमस्टे स्थापनामा जोड दिने, हात्ती सफारीलाई निरन्तरता दिँदै जिप सफारीका लागि जिप खरीद गर्ने, ठोरीको सिङ्गे पर्वतमा पुष्पलाल स्मृति पार्क, गोलेडाँडामा मनमोहन स्मृति पार्क तथा पिकनिक क्षेत्र, राइधारामा गणेशमान स्मृति पार्क तथा पिकनिक क्षेत्र, बाघमोर्चामाई मन्दिर निर्माण तथा पिकनिक क्षेत्र, घ्याङडाँडामा गुम्बा निर्माणलाई निरन्तरता दिने बताएका छन् ।

त्यसैगरी सर्पदंश उपचार केन्द्रको क्षमता विस्तार गर्दै बाँदर र कुकरले टोकेको अवस्थामा पनि निशुल्क उपचार दिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँ सभामा वडा २ का अध्यक्ष किशोर तामाङले प्रस्तुत गरेको गाउँपालिका नगर प्रहरी गठन तथा व्यवस्थापन विधेयक २०७७ सर्वसम्मत पारित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment