Comments Add Comment

सुदूरपश्चिममा २७० मन्दिरलाई २४ करोड बजेट

३० असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा दुई सय ७० मन्दिरका योजना ल्याएको छ । यी योजनाहरुमा २४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिर मर्मत सम्भार, मन्दिर निर्माणलगायतका योजनालाई प्राथमिकतामा राखेको हो । मन्दिरसंग सम्बन्धित योजनामा प्रवेशद्वार बनाउने, मन्दिर परिसरमा मञ्च निर्माण गर्ने, अतिथि गृह बनाउने, पदमार्ग निर्माण आदि रहेका छन् ।

यस्तै मन्दिरमा धर्मशाला, यज्ञशाला, होमकुण्ड, भौतिक पूर्वाधार, मन्दिरको घेराबार, मूर्ति निर्माण र विवाह मण्डप निर्माण गर्ने योजना पनि परेका छन् ।

आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी कैलालीका मन्दिरका योजना परेका छन् । यस जिल्लामा ५३ वटा योजना मन्दिरसँग सम्बन्धित रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयको वेवसाइटमा राखिएको ‘बार्षिक कार्यक्रम ०७७/०७८’ मा उल्लेख छ ।

त्यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टको गृहजिल्ला रहेको बैतडीमा ४३ योजना छन् । मुख्यमन्त्री त्रिलोचन भट्टको गृहजिल्ला डोटी र आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराको गृहजिल्ला अछाममा मन्दिरका ३८/३८ योजना छन् ।

यस्तै बझाङमा ३५ योजना छन् । कञ्चनपुरमा २२, डडेल्धुरामा १७ र बाजुरामा १४ मन्दिरसम्बन्धी योजना रहेका छन् । प्रदेशकै दुर्गम मानिने दार्चुलामा भने मन्दिरका १० योजनामात्र छन् ।

मन्दिरका योजनामा प्रदेश सरकारले पाँच लाखदेखि ९० लाख रुपैयाँसम्म विनियोजन गरेको छ । दुई सय नौ योजनाका लागि प्रतियोजना पाँच लाख रुपैयाँ रकम विनियोजन भएको छ । यस्तै सात लाखका दुई, आठ लाखका तीन, १० लाखका २२, १४ लाखको एक र १५ लाखका तीन योजना तय भएका छन् ।

यसैगरी २० लाखका आठ, २५ लाखका दुई, ३० लाखको एक, ४० लाखका १७ र ५० लाखको एउटा योजना रहेको छ । प्रदेश सरकारले मन्दिरका योजनाहरुमध्ये सबैभन्दा बढी भक्केनी धाम कञ्चनपुरमा शिवधाम (यात्रा पथ) निर्माणका लागि विनियोजन गरेको छ । उक्त योजनाका लागि ९० लाख रुपैयाँ विनियोजन भएको छ ।

चर्च र गुम्बा पनि बन्ने

प्रदेश सरकारले चर्च र गुम्बाका लागि पनि ७० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कैलालीको भजनी नगरपालिका–४, मा रहेको अनमोल चर्चको भवन निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ । कैलालीकै कैलारी गाउँपालिका–५ को गुम्बा बिहारमा अतिथि गृह निर्माण गर्न १० लाख, धनगढी उपमहानगरपालिका—१४ मा रहेको दोर्जे टाँसी छेगिस गुम्बाको अधुरो भवन निर्माणका लागि पाँच लाख विनियोजन भएको छ ।

कैलालीकै गोदावरी नगरपालिकामा बौद्ध स्तुपा निर्माणका लागि १५ लाख, टीकापुर नगरपालिका–१ मा मैत्री गुम्बा निर्माणका लागि पाँच लाख विनियोजन गरिएको छ ।

कञ्चनपुरको पुनर्बास–७ मा रहेको भार्चिङ गुम्बा भौतिक पूर्वाधार निर्माणका लागि पाँच लाख, बाजुराको बुढीनन्दा नगरपालिका–२ मा गुम्बा निर्माणका लागि १० लाख, बझाङको जयपृथ्वी नगरपालिका–१० मा गुम्बा निर्माणका लागि पाँच लाख र डडेल्धुराको आलिताल गाउँपालिका–८ मा गुम्बा पूर्वाधार निर्माणका लागि पाँच लाख रुपैयाँ विनियोजन भएको छ ।

मुख्यमन्त्रीको गाउँमा ८ मन्दिर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कुनै बेला भूमिगत राजनीतिक पार्टीको जिल्ला नेतृत्वमा थिए । त्यतिबेला उनको पार्टी मन्दिर भत्काउने गथ्र्यो, टुपी काट्ने, जनै फाल्ने गथ्र्यो । तर अचेल मुख्यमन्त्री भट्टले नेतृत्व गरेको सरकारले मन्दिर निर्माणलाई प्राथमिकता दिएको छ ।

भट्ट स्वयं पनि मन्दिर मोहमा छन् भन्ने कुरा प्रदेशसरकारले उनको गाउँपालिकामा छानेका आठ मन्दिर योजनाले देखाउँछ । केआई सिंह गाउँपालिका–५ मा मष्टा देवता मन्दिर निर्माणका लागि पाँच लाख, केआई सिंह–६ को ओखलढुंगा मन्दिर निर्माणमा पाँच लाख, वडा नं. ६ कै मसानी मन्दिर निर्माणमा पाँच लाख, वडा नं. ५ को कैलेमाण्डौं मन्दिर निर्माणमा सात लाख विनियोजन गरिएको छ ।

सोही गाउँपालिकाको वडा नं. ३ मा विश्वकर्मा मन्दिर निर्माण गर्न पाँच लाख, वडा नं. १ मा भुवनेश्वरी मन्दिर निर्माणका लागि पाँच लाख, वडा नं. ५ को शिव मन्दिरका लागि पाँच लाख र वडा नं. ५ कै देबी भगवती मन्दिर निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन भएको छ ।

आफ्नै गाउँपालिकामा धेरै योजना पारेको भन्दै मुख्यमन्त्रीको आलोचना हुने गरेको छ । के आई सिंह गाउँपालिकामा मात्रै आगामी आर्थिक बर्षमा कार्यान्वयन हुने ७३ योजना परेका छन् ।

केआई सिंह गाउँपालिका नेपाल कम्युनिष्ट पार्टीका अर्का नेता एवं प्रदेश सभा सदस्य पूर्ण जोशीको पनि गाउँ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment