Comments Add Comment

एक दर्जनभन्दा बढी पेट्रोलियम पूर्वाधार तयार गर्दै आयल निगम

३१, असार,काठमाडौं । देशैभर भण्डारण क्षमता विस्तारको योजनामा नेपाल आयल निगमले काम अघि बढाएको छ । झापा र धनुषामा निगमको आफ्नै एलपीजी बोटलिङ प्लान्ट, अमलेखगन्जदेखि लोथर तथा सिलुगडी झापा पेट्रोलियम पाइपलाइन लगायतको दर्जनौ पूर्वाधार आयोजना अघि बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

दुई वटा पाइपलाइन विस्तार, दुई वटा एलपीजी स्टोरेजसहितको बोटलिङ प्लान्ट तथा विमानस्थलहरुमा हवाई इन्धनको डिपोको क्षमता विस्तारको कार्य अगाडि बढाइएको प्रवक्ता उपाध्यायले जानकारी दिए ।

पोखरा डिपोको क्षमता विस्तार तथा अमलेखगन्ज डिपो विस्तारको दोस्रो चरणको काम पनि अघि बढाएको उनले बताए ।

इन्धनको भण्डार विस्तार

गण्डकी प्रदेश वितरण केन्द्र पोखरा डिपोको डिजेल भण्डारण क्षमता विस्तारमा निगमले काम अघि बढाएको छ । हालको क्षमतामा थप १० हजार किलोलिटर डिजेल अट्ने पूर्वाधार बनाउन ठेक्का सम्झौता सकिएको प्रवक्ता उपाध्यायले बताए । ठेक्का सम्झौता भएको र लकडाउन खुकुलो भएसँगै अब निर्माण प्रक्रिया अघि बढ्ने उनको विश्वास छ ।

निगमले पोखराकै क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ३६ सय किलोलिटर क्षमताको हवाइ इन्धन भण्डारण पूर्वाधार बनाउन तयारी थालेको जनाएको छ ।

विमानस्थल सञ्चालनमा आउने बेलासम्म निर्माण सम्पन्न हुनेगरी परियोजनाको डिपीआर बन्दै गरेको निगमले जनाएको छ ।

लोथरमा ९० हजार किलोलिटरको भण्डारण

हालको पाइपलाईनलाई बढाएर चितवनको लोथर ल्याई पुर्‍याउँदा त्यहाँ ९० हजार किलोलिटर क्षमताको भण्डारण निर्माण गर्न सकिने देखिएको निगमले जनाएको छ ।

अमलेखगन्जदेखि लोथरसम्म ६२ किलो पाइपलाईन हुने र लोथरमा ९० हजार किलोलिटरको भण्डारण बनाउन सकिने आईओसीले गरेको सर्भेमा देखिएको निगमले जनाएको छ ।

यस्तै झापाको चारआलीसम्म सिलुगढीबाट पेट्रोलियम पाइपलाइन बनाउन सर्भेको टेण्डर आहृवान गरिएको छ । यो योजना सकियो भने झापामै ५० देखि ६० हजार किलोलिटरको इन्धर भण्डारण गर्न सकिने निगमको विश्वास छ ।

अमलेखगन्ज डिपोमा दोस्रो चरणको काम सुरु        

पहिलो पेट्रोलियम पाइपलाईनबाट इन्धन प्राप्त हुने अमलेखगन्ज डिपोको क्षमता विस्तारको दोस्रो चरणको काम पनि अघि बढाइएको निगमले जनाएको छ । अमलेखगन्जमा ८ हजार २ सय केलको दुई वटा पेट्रोल ट्यांकी, अन्तर्राष्ट्रिय स्तरको ल्याब र ६० वटा इन्धन भर्ने गेट-वे बनाउने काम जीटूजी मोडलमा अघि बढेको निगमले जनाएको छ ।

पाइपलाइनकै दोस्रो चरणको उक्त आयोजनामा एक अर्ब भारु खर्च लाग्ने र पुरानो सहमति अनुसार नेपाल र भारत सरकारको जीटूजी सहमति अनुसार नै निर्माण प्रक्रिया अघि बढ्ने निगमले जनाएको छ ।

भैरहवा विमानस्थलमा नयाँ संरचना

निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ इन्धनको १० हजार किलोलिटर क्षमताको भण्डारण सहितको संरचना बनाउन निगमले काम अघि बढाएको छ ।

हालकै संरचनालाई  तत्कालमा ३५० किलोलिटर क्षमतामा विस्तार गर्ने र नयाँ १० हजार किलोलिटर क्षमताको भूमीगत भण्डारण संरचनाको डिपिआर बनाउनेको प्रवक्ता उपाध्यायले बताए ।

छिट्टै ठेक्कामा जानेगरी काम भईरहेको निगमले जनाएको छ । भैरहवाको दुवै संरचना निर्माण गर्न करिब एक अर्ब ५५ करोड ?mपैयाँ लागत लाग्ने निगमको अनुमान छ ।

हवाई इन्धन डिपोको क्षमता विस्तार       

निगमले भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्राष्ट्रिय विमानस्थल, पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसहितका विमानस्थलमा हवाई इन्धनको डिपोको क्षमता थप्दैछ ।

भैरहवामा हवाई इन्धनको एटीएफ १० हजार किलोलिटर क्षमताको डिपो बनाउँदैछ भने हालकै संरचनामा ३ सय ५० किलोलिटर क्षमताको भूमिगत ट्यांकी निर्माण गरिरहरको निगमले जनाएको छ । दुवै कामका लागि मेटामोटी एक अर्ब ५५ करोड ?mपैयाँ लागत लागने निगमको अनुमान छ ।

साना हवाई डिपोको भण्डारण क्षमता बढाउन तथा रिफ्युलिङ गर्न बोण्डेड ट्याकंर खरिद गरिएको पनि निगमले जनाएको छ ।

एकसय ५० किलोलिटर क्षमताको ती ट्यांकर नौ करोड लागतमा किनिएको र धनुषा, भद्रपुर र मन्थली विमानस्थलमा प्रयोग गरिने निगमले बताएको छ ।

एउटा बोण्डेड ट्यांकी ३० किलोलिटरको छ भने अर्को दुई वटा ट्यांकी ६०/६०  किलोलिटर क्षमताका रहेको प्रवक्ता उपाध्यायले बताए ।

आफ्नै बोटलिङ प्लान्ट

झापाको चारआली र धनुषाको महेन्द्रनगरमा आफ्नै भण्डारणसहित ग्यास बोटलिङ प्लान्ट निर्माण गर्न ठेक्काको प्रक्रिया अघि बढेको निगमको भनाइ छ । उक्त पूर्वाधार निर्माणका लागि डीपीआर बनाउन परामर्शदाता छनोट अन्तिम चरणमा पुगेको छ ।

डीपीआर पाएपछि ३० महिनामा पूर्वाधार निर्माण सकिसक्ने निगमको योजना छ । आयोजनाको लागत परामर्शदाताले निश्चित गरेपछि काम अघि बढाउने निगमको योजना छ ।

बोटलिङ प्लान्ट बन्ने धनुषाको जमिन नेपाली सेनाले प्रयोग गरेकाले केही समस्या देखिएको निगमले जनाएको छ । यो आयोजना निमार्णपछि खाना पकाउने ग्यासमा निजी क्षेत्रको एकाधिकार तोडिने छ भने निगमको आफ्नै नामको ग्यास सिलिण्डर प्रयोगमा आउने छ । दुवै आयोजना ३/३ हजार टन क्षमताको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment