Comments Add Comment

निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द, शिक्षकलाई बेतलवी विदा

३१ असार, काठमाडौं । निजी विद्यालयहरुले भोलि साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् ।

प्याब्सन र एन–प्याब्सनले संयुक्त रुपमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गरेका हुन् । ‘हामीसँग कक्षा सञ्चालन गर्ने सामर्थ्य रहेन’ प्याब्सन अध्यक्ष टीकाराम पुरीले अनलाइनखबरसँग भने, ‘जुन दिन सरकारले हाम्रो माग सम्बोधन गर्छ, त्यो दिनबाट फेरि कक्षा सुरु गरौंला ।’

प्याब्सन तथा नेसनल प्याब्सनले ७ असारमा नियमित अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गर्दै यस शैक्षिक सत्रमा ११ महिनाको मासिक शुल्क क्रमशः भुक्तानी गर्दै जान अभिभावकहरुलाई आह्वान गरेको थियो ।

तर त्यसको चौतर्फी विरोध भयो । सरकारले पनि अनलाइन कक्षाका नाममा शुल्क नदिन निर्देशन दियो । तर निजी स्कुलका सञ्चालकहरुले भने आम्दानी शून्य भएका कारणले शिक्षक–कर्मचारीलाई वैशाखदेखि तलब दिन नसकेको तथा घरभाडा, बैंकको किस्ता तथा ब्याज, बिमा, टेलिफोन, बिजुली, इन्टरनेट खर्च धान्न नसक्ने अवस्था आएको बताए ।

यसबारे शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराउँदा जायज माग सम्बोधन गर्ने मौखिक आश्वासन आएको तर अहिलेसम्म ठोस निकास नआएको प्याब्सन तथा एन प्याब्सनले बताएको छ ।

यस्तो अवस्थामा विद्यालयका प्रशासनिक कार्यालयहरु खोलेर गतिविधि सञ्चालन गर्नुभन्दा बन्द गरेर बस्नु नै उचित विकल्प हो भन्ने आफूहरुलाई महशुस भएको दुबै संगठनले संयुक्त वक्तव्यमा उल्लेख छ ।

अब सरकारले भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपछि मात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः दिने निजी विद्यालयहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment