
१ साउन, काठमाडौं । सरकारले वायुसेवा कम्पनी र विमानस्थलमा सञ्चालित व्यवसायमा विभिन्न छुट तथा सहुलियत दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ र सञ्चार तथा सूचनाप्रविधिमन्त्री डा. युवराज खतिवडाले वायुसेवा कम्पनी र विमानस्थल परिसरमा सञ्चालित व्यवसायमा छुट र सहुलियत दिने घोषणा गरेको जानकारी दिए ।
सरकारले वायुसेवा सञ्चालन अनुमतिपत्र नवीकरण दस्तुर र उडान योग्यता प्रमाणपत्र दस्तुरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
मन्त्री डा. खतिवडाका अनुसार नेपालभरका विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुयान तथा मनोरञ्जनात्मक वायुसेवालाई १ चैत २०७६ देखि लकडाउन खुलेको मितिपछि १ महिनासम्म पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिइनेछ ।
आन्तरिक तथा बाह्य विमानस्थल परिसरमा विमान कम्पनीले भाडामा लिएका कोठा, सञ्चालित पसल÷कवल, रेष्टुराँ÷लाउन्ज, मनि एक्सचेन्ज, सवारी पार्किङलगायत सेवा दिएका फर्मलाई समेत सरकारले छुट घोषणा गरेको छ ।
यस्ता व्यवसायलाई पनि १ चैत २०७६ देखि लकडाउन खुलेको १ महिनासम्म कोठा स्थानको बहालमा ७५ प्रतिशत दरले छुट दिने निर्णयसमेत सरकारले गरेको छ । यो अवधिसम्म त्यस्ता व्यवसायलाई कुनै विलम्ब शुल्क लाग्ने छैन ।
सरकारले विमानस्थल सेवा शुल्क नियमावली अनुसार नियमित रुपमा बुझाउनुपर्ने विमानस्थल शुल्क भुक्तानी गर्ने अवधि सन् २०२० डिसेम्बर ३१ सम्म कायम गरी बुझाएमा विलम्ब शूल्क नलिने निर्णयसमेत गरेको छ ।
प्रतिक्रिया 4